निगमको जहाजलाई फेरी प्रतिबन्ध

काठमाडौं । नेपाल वायुसेवा निगमको जहाजले कोभिड–१९ का पोजिटिभ यात्रु बोकेर गएको भन्दै हङकङले निगमको उडानमा चौथोपटक प्रतिबन्ध लगाएको छ । नेपालमा कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएका यात्रु हङकङ पुग्ने बित्तिकै परीक्षण गर्दा पोजिटिभ आएका कारण तीनपटकसम्म प्रतिबन्ध लागेको निगमको उडान १५ मंसिरदेखि खुलेको थियो । उडान खुलेकै दिन निगमको जहाज २ सय ५१ जना यात्रु बोकेर हङकङ गएको थियो । ती यात्रुमध्ये पाँच जनामा कोरोना पोजिटिभ देखियो भने एक जना शंकामा परे । त्यसपछि हङकङले पुनः चौथोपटक १५ दिनका लागि उडानमा प्रतिबन्ध लगाएको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए ।

हङकङ सिभिल एभिएसनको नियम बमोजिम पोजिटिभ यात्रु ल्याउने वायुसेवालाई १५ दिन उडानमा प्रतिबन्ध लगाइएको हो । यो कारबाहीअनुसार निगमले आगामी २ पुससम्म हङकङमा उडान गर्न पाउने छैन । निजी प्रयोगशालाबाट गरिएको कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट पोजिटिभ देखिँदा तीनपटकको उडान प्रतिबन्ध लागेपछि निगमले सरकारी प्रयोगशालाको रिपोर्टलाई मात्रै मान्यता दिएर हङकङ उडान गरेको थियो । तर, सरकारी प्रयोगशालाको नेगेटिभ रिपोर्ट समेत हङकङमा पोजिटिभ देखिएको छ । हवाई उडानमा ७२ घण्टाको पिसिआर परीक्षणको नेगेटिभ रिपोर्टलाई मान्यता दिने गरिएको छ ।

पिसिआर परीक्षण गरेपछि यात्रुले सचेत हुने र संयमता अपनाउनुपर्नेमा सो नगरेको पनि हुनसक्ने निगमको भनाइ छ । पटकपटकको उडान प्रतिबन्धपछि निगम हैरान भएकोले अब के गर्ने फेरि निगम सञ्चालक समितिमा छलफल सुरु भएको छ । निगमका अन्य गन्तव्यमा भने उडानमै प्रतिबन्ध लगाउने गरी समस्या नआएको निगमका सहप्रवक्ता मिश्रले बताए । उनका अनुसार, काठमाडौंबाट युएईको दुबई र जापानको नारिता जाने यात्रुमा पोजिटिभ रिपोर्ट आउँदा सम्बन्धित देशले थप सचेतना अपनाउन आग्रह गर्ने गरेका छन् ।

हङकङले कोरोना पोजिटिभ यात्रु बोकेर ल्याएको भन्दै निगमबाहेक अन्य विदेशी वायुसेवाको उडानमा पनि प्रतिबन्ध लगाउँदै आएको छ । भारतीय वायुसेवा इन्डियन एअरलाइन्स र विस्तारा, क्याथे ड्रागन, मलेसियन एअर, सिंगापुर एअरसहितका ११ वटा वायुसेवालाई हङकङले पोजिटिभ यात्रु ल्याएको भन्दै प्रतिबन्ध लगाइसकेको छ ।

प्रतिक्रिया