रंग‍-विविध

केदारको नेपाल विद्या सार्वजनिक

सौर्य अनलाइन २०७७ मंसिर १९ गते ७:५२ मा प्रकाशित

काठमाडौं । लुम्बिनी कपिलवस्तु दिवसको अवसर पारेर केदार वाशिष्ठद्वारा लिखित अनुसन्धानमूलक कृति ‘नेपाल विद्याः सिद्धान्त र प्रयोग’ सार्वजनिक भएको छ । अनुसन्धानकर्ताकी आमा केदारकुमारी भट्टराई र शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले उक्त कृतिको विमोचन गरे । नेपाल अर्पण संक्षिप्त समारोहमा शताब्दी वाङ्मय पुरुष जोशीले नेपाल विद्याले नेपालबारे विश्वकोशको ज्ञान दिने सम्भावना रहेको विचार व्यक्त गरे ।

सन् १८९६ डिसेम्बर १ मा तत्कालीन ब्रिटिस इन्डिया सरकारका कर्मचारी जर्मन नागरिक डा. एलोइस एन्टोन फुहरर र नेपालका बडाहाकिम खड्ग शमशेरले लुम्बिनीको अशोक स्तम्भ पुनः पत्ता लगाएको दिनलाई स्मरण गर्दै सन् २००९ देखि डिसेम्बर १ लाई लुम्बिनी कपिलवस्तु दिवसका रुपमा मनाइँदै आएको छ । अनुसन्धानकर्ता वाशिष्ठले गरेको अनुसन्धानमा नेपाल विद्यालाई अध्ययन, अध्यापन र अनुसन्धानको बेग्लै विधाका रूपमा सैद्धान्तिक आधार स्थापना गर्दै त्यसका दुई प्रयोग (१) लुम्बिनी र कपिलवस्तुको राजनीतिक उत्खनन र (२) सिला खोजेको भाषासमेत देखाइएको छ । ४४४ पृष्ठको कृतिलाई विद्यार्थी पुस्तक भण्डारले प्रकाशन र वितरण गरेको छ । नेपाल विद्या विधा अध्ययन, अध्यापन र अनुसन्धानको नयाँ विधा रहेका कारण त्यसलाई पठनपाठन तथा अनुसन्धानको विषय बनाउन सहयोग होस् भनेर नेपालका सबै विश्व विद्यालयमा अनुसन्धानकर्ता र प्रकाशकको हस्ताक्षरसहितका प्रति प्रदान गरिने बताइएको छ ।

नेपाल विद्याको सैद्धान्तिक खण्डमा भारत विद्या, चीन विद्या, तिब्बत विद्या, इजिप्ट विद्या, आर्मेनियाली विद्या र विकासका लागि जापान विद्या लगायतका देशीय विद्याको सन्दर्भ खोज्दै नेपाल विद्याको जग हालिएको छ । त्यसका साथै अन्य विषयगत अध्ययनको क्षेत्रका सम्भावनामा बुद्ध विद्या र किरात विद्याको चर्चा गरिएको छ । देशीय विद्याका सैद्धान्तिक आधारसहित नेपाल विद्याको खोजी, प्रयोजन र सम्भावना यसमा पाइन्छ ।

देशीय विद्या अध्ययनको सन्दर्भमा नेपाल विद्याको पहिलो प्रयोग लुम्बिनी र कपिलवस्तुको राजनीतिक उत्खनन रहेको छ । बुद्ध र बुद्धको जीवनसँग सम्बन्धित सम्पदाहरुबारे भारतले बारम्बार दावी गर्ने गरेका कारणको खोजी यसमा गरिएको छ । यस केन्द्रमा लामो समयसम्म हालको भारतमा उपनिवेश जमाएको बेलायतको संलग्नता पहिले र अहिले पनि रहेको तथ्य यस प्रयोगबाट उजागर भएको छ । त्यसको असर समग्र दक्षिण एसिया र अन्य मुलुकमा पनि पाइने गरेको छ ।

नेपाल विद्याको अर्को प्रयोग सिला खोजेको भाषा नेपालको भूक्षेत्र र नेपालका भाषाको खोजीसँग सम्बन्धित छ । खासगरी बेलायती अध्ययन परम्परामा नेपालको इतिहास लेखन र खोजी हुँदा नेपाली भाषामाथि भएको अन्यायलाई बेलायती अध्ययन परम्पराभन्दा अघिका ल्याटिन, आर्मेनियाली, अरबी र ग्रिसेली अध्ययन परम्पराले न्याय दिने गरी यसमा खोजी भएको छ ।

त्यसक्रममा सन् १७१७ मा नै नेपाली नामबाटै नेपाली भाषाको अध्ययन भएको सन् १७५९ मा देवनागरी लिपिमा नै नेपाली भाषा युरोपमा छपाइको युगमा पुगेको र १७७१ मा व्याकरण परम्परामा प्रवेश गरेको पाइएको छ । यसले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि खस वा गोर्खा भाषालाई नेपाली भाषाका रूपमा लादेको भन्ने गलत अध्ययन परम्परालाई सच्याएको छ । यस क्रममा किरात, लिच्छवि, मल्ल कालदेखिका भाषा तथा लेख्य चिह्नका नमुनालाई रोममा छपाइ भएको नेपाली भाषाका नमुनासँग तुलना गरेर निष्कर्ष निकालिएको वाशिष्ठले जानकारी दिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय