अर्थबजार

बोटबाटै झर्न थाले सुन्तला

सौर्य अनलाइन २०७७ मंसिर १८ गते १२:३८ मा प्रकाशित

बेनी । सुन्तला बिक्री गर्ने समयमा पाक्ने बेलाका फलहरु झर्न थालेपछि म्याग्दीका किसान निराश बनेका छन् । कीराको प्रकोपले सुन्तला पाक्ने समयमा पहेँला भएका सुन्तला झर्ने समस्या बढेको बेनी नगरपालिका–४ बाँस्कुनाका किसान तिलक गुरुङले जानकारी दिए ।

बोटबाट बिक्री नगर्दै सुन्तला झर्न थालेपछि यस वर्ष जिल्लामा सुन्तला उत्पादनमा गिरावट आउने भएको छ । गत वर्षको तुलनामा यस वर्ष ३० देखि ४० प्रतिशत फल झरेर खेर गएको छ । गत वर्ष ४० लाखको सुन्तला निर्यात भएको बाँस्कुना क्षेत्रबाट यस वर्ष न्यून मात्रामा सुन्तला निर्यात हुने देखिएको किसान गुरुङको भनाइ छ ।

बाँस्कुना, धामडाँडा, सुर्केमेला, भकिम्ली राखु, मरेक गाउँमासमेत सुन्तलामा कीराको प्रकोप देखिएको छ । जिल्लाको अन्नपूर्ण, रघुगङ्गा, मङ्गला र मालिका गाउँपालिकाका सुन्तला बगैँचामासमेत कीराको प्रकोप देखिन थालेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रहेको सुन्तला जोन सञ्चालक समन्वय समितिका संयोजक खिमबहादुर पुनले जानकारी दिए ।

सुन्तलाको व्यवसायीकरणमा सघाउन जोन परियोजना कार्यान्वयनमा ल्याइएको भए पनि रोक र सङ्क्रमण व्यवस्थापनमा परियोजनाले ध्यान नदिएको किसानको गुनासो छ । बोटबाट रोग सङ्क्रमित भएर झरेका फलमा हुने कीराका लार्भा माटोभित्र जाने खतरा हुने र यसको प्रकोप नियन्त्रण बाहिर जान सक्ने खतरा रहेकाले झरेका फलको व्यवस्थित व्यवस्थापन र नष्ट गर्न कृषि विज्ञको सुझाब छ । अहिले झरेका फलहरुको कीरा व्यवस्थापन नगरे केही वर्षमै यस क्षेत्रबाट सुन्तलाखेती लोप हुने खतरा रहेको जानकार बताउँछन् ।

कृषि ज्ञान केन्द्र म्याग्दीले जिल्लामा सुन्तला बगैँचामा कीराको प्रकोप बढेको भन्दै किसानलाई झरेका फललाई व्यवस्थित व्यवस्थापन गर्न आग्रह गरेको छ । झरेका फलबाट थप अन्य बोटमा समेत कीरा फैलने भएकाले कार्यालयले झरेका फललाई व्यवस्थापन गर्न अनुरोध गरेको हो । जमिनको सतहबाट एक फुट गहिरो खाडल खनेर प्लाष्टिकको झोलामा राखेर माटोले पुर्नुपर्ने भएकाले किसानलाई निःशुल्क प्लाष्टिकको झोला उपलब्ध गराइएको कृषि ज्ञान केन्द्रका कृषिप्रसार अधिकृत गोविन्द पाण्डेले जानकारी दिए।

उनका अनुसार, म्याग्दीमा यस वर्ष सुन्तलाको फल ठूला लागे पनि कीराको प्रकोपले २५ प्रतिशतसम्म उत्पादन घट्ने अनुमान गरिएको छ । कार्यालयले स्थलगत रुपमा किसानका बगैँचामा पुगेर प्रकोपको अध्ययन र निरीक्षण गरेको र फल टिपिसकेपछि रोकथामका लागि आवश्यक कदम चाल्ने योजना बनाएको जनाइएको छ । जिल्लाको ६ वटै स्थानीय तहको ७०६ हेक्टर जमिनमा सुन्तलाखेती विस्तार भएको छ । गत वर्ष दुई हजार ४१२ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । – रासस

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय