कोरोनाका सक्रिय संक्रमित घटे

काठमाडौं । देशभरमा कोरोना भाइरसका संक्रमितको संख्या घट्न थालेको छ । बुधबार मात्रै ७७ जना सक्रिय संक्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ४९० जना संक्रमित हुँदा एक हजार ५६७ जना संक्रमणमुक्त भएका थिए ।
बुधबार थपिएका संक्रमितमध्ये पुरुष ९२५ र महिला ५६५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । दुई लाख १८ हजार १६१ संक्रमणमुक्त भएको र निको हुने दर ९२ दशमलव तीन प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या १६ हजार ५४७ पुगेको मन्त्रालयले जनाएको छ । पिसिआर परीक्षणमध्ये संक्रमण दर १३ दशमलव पाँच प्रतिशत छ । योसँगै जम्मा संक्रमितको संख्या दुई लाख ३६ हजार २४६ पुगेको छ ।

काठमाडौँ उपत्यकामा ७२३ संक्रमित थप भएका छन् । काठमाडौँ जिल्लामा ५३१, ललितपुर ६१ र भक्तपुर ५८ नयाँ थपिएका हुन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी आठ हजार ३०० नमूना परीक्षण भएको थियो । हालसम्म १७ लाख ५४ हजार ६३० नमूना परीक्षण भइसकेको छ । प्रति दश लाख जनसंख्यामा ६० हजार १२९ परीक्षण भएको बताइएको छ । सक्रिय संक्रमितमध्ये हाल १० हजार ७४१ होम आइसोलेसन र पाँच हजार ८०६ संस्थागत आइसोलेसनमा रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा गौतमले बढी भीड हुने किसिमका सेवा तथा कार्य अझै १५ दिनका लागि रोकिने बताए । उनका अनुसार, सिनेमा घर, रात्री व्यवसाय, अरू भीडभाड हुने स्थान, सभा, सम्मेलन, जुलुस लगायतलाई रोकिँदै आएकामा निरन्तरता दिन लागिएको हो । पछिल्लो २४ घण्टामा कोभिडका कारण थप नौ जनाको मृत्यु भएसँगै देशभरमा मृत्यु हुनेको संख्या एक हजार ५३८ पुगेको छ ।

प्रतिक्रिया