तनहुँको बुल्दी पुल किन विवाद ?

तनहुँ । व्यास नगरपालिका १, १० र ११ जोड्ने बुल्दी खोलामाथि निर्मित पुलको उद्घाटन बुधबार तय भएको थियो । उद्घाटन कसले गर्ने भन्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका नेता कार्यकर्ताबीच विवाद रहदै आईरहेको थियो । दुई दिनदेखी गृहजिल्लामा रहेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गर्ने निर्णय उपभोक्ता समितिले गरेपछि विवाद बढेको हो ।  पौडेलले उद्घाटन गर्न नपाउने भन्दै नेकपाको युवा मोर्चाले विहानैबाट दमौलीका प्रर्दशन गरिरहेको थियो । कांग्रेस जसरी भएपनि उद्घाटन गरिछाड्ने अडानमा भएपछि स्थानीय प्रशासनले बुधबार मध्यान्ह १२ बजेदेखी ६ बजेसम्म निषेधाज्ञा जारी गर्यो । पुल क्षेत्रलाई मुख्य केन्द्र तोकेर आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेपछि पौडेल जुलुस लिएर उद्घाटन गर्न पुगेका थिए ।

जुलुस निकाल्नु अघि उनले सम्बोधन गर्दै नेता कार्यकर्तालाई निषेधाज्ञा फिर्ता गर भ्रष्ट सरकार मुर्दावाद भन्नुस् भनेर नारा लगाउन निर्देशन दिएका थिए । उपभोक्ता समितिले सर्वसम्मतिले निर्णय गरेर आफूलाई पुलको उदटन गर्न बोलाएको र, त्यसअनुसार आफू आएको उनले बताए । ‘यो पुल बनाउँदा हाम्रै रगत पसिना गएको छ । हामीले आफ्नो मेहनतले बनाएका पुलहरु हुन्’ उनले भने, ‘मैले उनीहरुलाई चुनौती दिएको छु, उ त्यहाँमाथि पुल बनाओस् उद्घाटन गरोस् ।’ पौडेलले पुल उद्घाटनको कार्यक्रम रोक्न निषेधाज्ञा जारी गरेको भन्दै स्थानीय प्रशासनको चर्को आलोचना गर्दै भने, ‘यो सीडीओ कुन हो ? त्यसलाई समातेर छाड्छौं ।’

निषेधाज्ञा तोडेर पुल उद्घाटन गर्न पुगेपछि प्रहरीले उनलाई तालघरेबाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका पौडेललाई झण्डै तीन घण्टापछि रिहा गरेको थियो । आफ्नो पालामा निर्माण भएको पुल उद्घाटन गर्न स्थानीय सरकार र पुल निर्माण समितिले आफूलाई बोलाएकाले गएको तर सरकारले सुरक्षा दिनुको सट्टा उल्टो अधिनायकवादी चरित्र देखाउँदै आफूलाई पक्राउ गरिएको पौडेलले बताएका छन् ।

तत्कालीन जिविसको एसएनआरटिपी परियोजनाअन्र्तगत निर्मित पुल २०७३ वैशाखबाट निर्माण सुरु भएर २०७५ कार्तिकमा सकिएको थियो । पुल बने पनि पक्की बाटो लगायतका संरचना बनिनसकेकाले उद्घाटन नभएको उपभोक्ता समितिका अध्यक्ष खड्गबहादुर अधिकारीले बताए । दुई करोड ५४ लाख रुपैयाँमा निर्मित पुलको निर्माण पोहोर साल नै सकिएको थियो । कांग्रेस कार्यकर्ताको बाहुल्यता रहेको निर्माण उपभोक्ता समितिले आफ्ना नेता गृहजिल्ला आएका बेला उनीबाटै पुल उद्घाटन गराउन चाहेको थियो ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यले प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयबाट पत्र आएकाले हाल कार्यक्रम नगर्नु भनेको तर झडप नै हुने अवस्था आएपछि निषेधाज्ञा जारी गर्नु परेको बताए । हाल पौडेललाई जितेर निर्वाचित प्रतिनिधिसभा सदस्य नेकपा नेता कृष्णकुमार श्रेष्ठ र वरिष्ठ नेता पौडेल दुवै गृहजिल्ला छन् । नेकपा श्रेष्ठबाट पुलको उद्घाटन गराउन चाहन्थ्यो भने कांग्रेस पौडेलबाट ।

यता, कांग्रेसका सभापति शेरबहादुर देउवाले पौडेलको गिरफ्तारप्रति आपत्ति जनाउदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेका थिए । उनले तत्काल पौडेललाई छाड्न माग गर्दै अन्यथा सशक्त प्रतिकार गर्ने चेतावनी दिएका थिए । कांग्रेसका कतिपय नेताले पनि उनको पक्राउको विरोध गरेका थिए ।

प्रतिक्रिया