भारतको सान्त्वना जित

सिड्नीं । सुरुवाती दुई खेल हार्दै सिरिज गुमाइसकेको भारतले अस्ट्रेलियाविरुद्ध तेस्रो ओडीआई खेलमा सान्त्वना जित हात पारेको छ । बुधबार भएको तेस्रो तथा अन्तिम ओडीआई खेलमा भारतले अस्ट्रेलियालाई १३ रनले पराजित गरेको हो । यसअघि सिड्नीमा भएको पहिलो र दोस्रो ओडीआई जितेको अस्ट्रेलियाले सिरिज २(१ ले जितेको छ । क्यानबेरामा भएको खेलमा भारतले दिएको ३०३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४९.३ ओभरमा २८९ रनमा अलआउट भएको हो ।

घरेलु टोली अस्ट्रेलियाका लागि कप्तान आरोन फिन्च र ग्लेन म्याक्सवेलले अर्धशतक प्रहार गरेपनि जितका लागि पर्याप्त भएन । नियमित ओपनर डेविड वार्नरको अनुपस्थितिमा मार्नुस लाबुसेनले फिन्चसँग ओपनिङ गरेका थिए । तर लाबुसचेन ७ रनमै आउट भए । त्यसपछि यसअघि दुई खेलमा लगातार शतक प्रहार गरेका स्टिम स्मिथ पनि ७ रनमै आउट भएपछि अस्ट्रेलियालाई सुरुमै झड्का लागेको थियो ।

फिन्चले८२ बल खेल्दै ७ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ७५ रन बनाए । यस्तै सातौं नम्बरमा ब्याटिङ गरेका म्याक्सवेलले ३८ बल खेल्दै ३ चौका र ४ छक्काको मद्दतमा ५९ रन बनाए । विकेट किपर एलेक्स केरीले ३८, एस्टन एगरले २८ र मोएसिस अनरिकेजले २२ रन बनाए ।

भारतका लागि बलिङमा शार्दुल ठाकुरले १० ओभरमा १ मेडन राख्दै ५१ रन खर्चेर ३ विकेट लिए । उनले सिरिजमा पहिलो खेल खेलेका हुन् । यस्तै जसप्रित बुमराह र टी नटराजनले २(२ विकेट लिए । बुमराहले ९.३ ओभरमा ४३ रन खर्चिए । यस्तै यसै खेलमार्फत ओडीआईमा डेब्यु गरेका नटराजनले १० ओभमा १ मेडन राख्दै ७० रन खर्चिए ।
स्पिनरद्वय कुलदिप यादव र रविन्द्र जडेजाले समान १ विकेट लिए ।

क्यानबेरास्थित मानुका ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३०२ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहली, हार्दिक पाण्ड्या र रविन्द्र जडेजाले अर्धशतक प्रहार गरे । हार्दिकले अविजित रहँदै सर्वाधिक ९२ रन बनाए । उनले ७६ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । यस्तै जडेजाले ५० बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा अविजित ६६ रन बनाए ।

१५२ रन हँदा ५ विकेट गुमाएको अवस्थामा हार्दिक र जडेजाले छैटौं विकेटका लागि अविजित १५० रनको साझेदारी गर्दै भारतको स्कोर तीन सय कटाएका थिए । यस्तै कप्तान विराट कोहलीले ७८ बल खेल्दै ५ चौकाको मद्दतमा ६३ रन बनाए । कोहीले यस खेलमार्फत ओडीआईमा १२ हजार रन पूरा गर्दै सचिन तेन्दुलकरको कीर्तिमान तोडे । कोहलीले २४२ इनिङ्समा १२ हजार रन पूरा गर्दै सबैभन्दा कम इनिङ्समा उक्त उपलब्धी हात पार्ने कीर्तिमान बनाएका हुन् । बलिङमा अस्ट्रेलियाका एस्टन एगरले २ तथा जोस हाजलउड, सिन एबोट र एडम जाम्पाले १(१ विकेट लिए । अस्ट्रेलिया र भारतबीत टी२० सिरिज आगामी शुक्रबारदेखि क्यानबेरामा सुरु हुनेछ ।

प्रतिक्रिया