छोरीको हत्या गरेपछि बुबाआमाको इज्जत जोगियो त ?

चमिना भट्टराई

अघिल्लो महिना रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहाबाट छोरीको हत्या गरेको आरोपमा बाबुआमा नै पक्राउ परेको घटनाले मान्छे खोक्रो सामाजिक इज्जतको नाममा कति तल्लोस्तरकोे हर्कत गर्न सक्छ भन्ने देखाएको छ । गएको कात्तिक २६ गते १७ वर्षीया अमृताकुमारी साहको हत्या आरोपमा उनकै आमाबाबु पक्राउ परे । पत्याउन नै मुस्किल सो घटनाले आफ्नो जन्मदिने बाबुआमा कतिसम्म निर्मम हुँदा रहेछन् भन्ने देखाएको छ । बाबुआमाले सन्तानको रक्षाका लागि आफूलाई समेत जोखिममा पार्छन् । तर, अमृताका आमाबुवाले त समाजमा खोक्रो इज्जत जोगाउने नाममा आफ्नै सन्तानको हत्या गरे ।

विश्वभर महिला हिंसाको विरुद्धको १६ दिने अभियान चलिरहेको बेला रौतहटकी १७ वर्षीया अमृताको हत्या अभियोगमा बुबा राम अयोध्या साह तेली र आमा सीतासहितलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । घटना हेर्दा लामो सुझबुझका आधारमा हत्या गरिएको देखिन्छ । यो कुनै आवेगमा भएको घटना होइन । छोरीलाई प्रेमसम्बन्ध छुटाउन अनेक प्रयास गर्दा पनि नसकेपछि उनको हत्याको लामो प्रयास भएको समाचारमा आएको छ । यसले उनको बाबुआमाका लागि छोरी मात्रै इज्जत जोगाइदिने सन्तानजस्तो देखिएको छ ।

कोरोना भाइरसको त्रास नभएको भए यति बेला सहरका ठूलो होटलदेखि गाउँका कुनाकुनासम्म महिला हिंसा विरुद्धको १६ दिने अभियानका दैनिक सयौँ कार्यक्रम हुन्थे । यस्तै यस्तै अपराधका बारेमा प्रवचन सुन्न पाइन्थो । कोरोना भाइरसले गोष्ठी, ¥याली र सभाहरू गर्न खुम्चाएको छ । तर, महिलामाथि हुने हत्या र हिंसा भने रोकिएको छैन । किन रोकिँदैन यस्ता प्रकृतिका अधराधजन्य कार्य ? त्यो पनि आफन्तबाटै आफ्ना नजिकका मान्छेको जीवन नै समाप्त पार्ने कार्य ?

रौतहटको उक्त घटनाले अपराध घर भित्रैबाट सुरु हुन्छ भन्ने कुरालाई अझै बल पु¥याएको छ । प्रायःजसो हिंसाको घटना घरभित्रै भए पनि हत्या, अपराध र बलात्कारका घटना घरभित्रभन्दा घर बाहिरबाट धेरै हुन्थे । तर, रौतहटमा मान्छेलाई पैसा खर्चिएर बाबुआमाले आमासँगै सुतेको आफ्नै सन्तानको हत्या गरेका छन् । अब उनीहरू छोरीको हत्या अभियोगमा कानुनी सजाय भोग्नेछन् । छोरीको हत्या गरी जेलको सजाय भोगिरहँदा अमृताका आमाबुबाको इज्जत त्यही समाजमा कति बच्यो होला ? जसलाई बचाउन उनीहरूले छोरीको हत्या गरेका छन् । हिजो विवाहित छोरीले परपुरुषसँग प्रेम गरी भनेर कुरा काट्ने समाजले छोरीको हत्यारा बाबुआमालाई के के भनेर सम्बोधन गर्दा हुन् ? उनीहरूको नजरमा इज्जत जीवित रहेको होला ?

हत्याको कारण ठूलो छैन, बाबुआमाले मन नपराएको व्यक्तिसँग प्रेम गरेको आरोपमा अमृताले ज्यान गुमाउनु प¥यो । आफूले जबर्जस्ती बिहे गरिदिएको ज्वाइँसँग घर गर्न नसक्नुलाई उनको अपराध ठानियो । बिहे गर्न र घर चलाउन मन र भावना पनि मिल्नुपर्छ, यस्तो सम्बन्ध दुई÷चार दिन वा वर्षका लागि होइन भनेर यस्ता अभिभावकले कहिले सोच्लान् ? यसले के देखाउँछ भने, नेपाली महिला अझै पनि आफूले जीवन बिताउने साथी रोज्न पाउने अवस्थामा छैनन् । आखिर कहिलेसम्म मन पराएको मान्छेसँग प्रेम गरेको आधारमा महिलाले अकालमा ज्यान गुमाउने ? अनि यस्ता गोष्ठी र अभियानले कहिले ती संकुचित मानसिकता भएका अभिभावकको मन मस्तिष्क सफा गर्ने ?

प्रेम गर्नु अपराध मानिने हाम्रो समाजमा मन नपरेको व्यक्तिसँग जबर्जस्ती बिहे गराउनुलाई किन अपराध नमानेर छुट दिइन्छ ? जसले जीवन बिताउने हो उसलाई मनै नपरेको मान्छेसँग जबजस्ती बिहे गराउनु पनि अपराध होइन र ? कसैको मन र भावना विपरीत सम्बन्ध गाँस्नु पर्छ भन्ने कुन मान्यता हो ? त्यसैले हत्या अभियोग मात्रै होइन, अमृताका बाबुआमालाई जबर्जस्ती बिहे गराएको समेत अभियोग लगाउनुपर्छ । अर्को कुरा अमृताले बिहे गरेको पतीसँग गत असारमा नै सम्बन्धविच्छेद गरेकी रहिछन् । सम्वन्धविच्छेद गरेको पुरुष वा महिलाले अर्को व्यक्तिसँग प्रेम वा बिहे गर्नुलाई कानुनले समेत मान्यता दिएको छ भने के यो अपराध हो ?

हरेक वर्ष नेपालमा मात्रै होइन दक्षिण एसियाली मुलुकमा १६ दिने अभियानका बेला महिला हत्या र हिंसाका घटना अझै धेरै हुने गरेका छन् । एकातिर यस्ता अभियान चलिरहने अर्कोतर्फ हत्या र हिंसाका घटना भइरहने अवस्था छ । यस्ता कार्यमा स्थानीय निकाय र जनप्रतिनिधि चनाखो हुनुपर्छ । जनतासँग प्रत्यक्ष सम्बन्ध हुने जनप्रतिनिधिले यस्ता घटनामा निर्मम भएर पीडितलाई न्याय दिने र पीडकलाई कारबाहीको दायरामा ल्याउन भूमिका खेल्न सकियो भने पनि यस्ता घटनामा कमी हुन सक्छ ।

कुरा अमृताको मात्रै होइन, हरेक प्रकृतिले मान्छे मार्ने वा हिंसा गर्नेलाई कडा कारबाही गरिनुपर्छ । अनि यस्ता कार्य गर्न उकास्ने वा प्रोत्साहन गर्नेलाई कानुनी दायरामा ल्याई कारबाही गरिनुपर्छ । यसअघि पनि बेलाबेलामा प्रेम गरेको आधारमा कहिले केटी पक्षले केटाको हत्या गर्ने कहिले केटा पक्षले केटीको हत्या गरेको समाचार सुन्नमा आउने गरेको छ यो सिंगो समाजका लागि कलंक हो । प्रेम गरेकै कारण केही महिना पहिला दैलेखमा एक युवाले ज्यान गुमाए भने कैयाँै मृत्युको मुखबाट बल्लबल्ल बचेर आए ।

यस्ता घटनाले सिंगो समाजलाई नै कलंक बनाउँछ । घटनामा कुनै समुदाय वा परिवार जोडिए पनि त्यो समाज यसबाट उम्कन सक्दैन । त्यसैले आफू बसेको र आफू वरपरको समाजमा हुन सक्ने यस्ता निकृष्ठ घटनाबाट सबै नागरिक सचेत हुन आवश्यक छ ।

प्रतिक्रिया