नौ महिनापछि भारतसँग सिधा उडान

काठमाडौं । मंसिरको अन्तिम साता नेपाल र भारतबीचको हवाई सेवा सुचारु हुने भएको छ । सरकारले भारतसँगको हवाई उडान खोल्ने निर्णय गरेपछि यसको जानकारी भारतलाई गराउने तयारी भएको छ । भारतबाट सहमति आए सातदेखि १० दिनभित्र उडान सेवा सुरु हुने छ ।  नेपाली र भारतीय नागरिक मात्रै यात्रा गर्न पाउनेगरी नेपाल–भारत हवाइ उडानको तयारी गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईका अनुसार मन्त्रिपरिषद् बैठकको निर्णयबारे मन्त्रालयलाई औपचारिक जानकारी आइसकेको छ । ‘मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको छ । छिट्टै उडान सुरु हुन्छ’, उनले भने । मन्त्रालयका अनुसार नेपाली र भारतीय नागरिक मात्रै यात्रा गर्ने गरी उडान सुरु गर्न लागिएको हो ।

गत चैतदेखि नेपाल भारत उडान रोकिँदै आएको छ । कोरोनाभाइरस संक्रमणको जोखिम बढेको भन्दै सरकारले गत चैतदेखि अन्तर्राष्ट्रिय उडान बन्द गराएको थियो । यो बीचमा अन्य मुलुकबाट यसअघि नै हवाइ सेवा सुरु गरिएको भएपनि दुई देशबीच उडान हुन सकिरहेको थिएन । भारत सरकारको प्रस्तावअनुसार नै दुई देशका नागरिक मात्रै यात्रा गर्न पाउने गरी उडान सुरु गर्न लागिएको बताइएको छ । भारतले तीन महिनाअघि नै ‘एयर बबल’ मार्फत उडान सुचारु गर्न नेपाल सरकारलाई पत्र पठाएको थियो ।

भारतको उक्त पत्रपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पनि पठाएको थियो । तर, मन्त्रिपरिषद्ले निर्णय नगर्दा उक्त प्रस्ताव रोकिएको थियो । मन्त्रालयको उक्त प्रस्ताव मंसिर १० गतेको मन्त्रिपरिषद्ले स्वीकृति गरेको हो । सरकारले गत भदौमा विदेशमा अलपत्र परेका नेपाली ल्याउन भन्दै खाडी मुलुकबाट नियमित उडान खुला गरेको थियो ।

नेपाल–भारत उडान नखोलिँदा नेपाली र भारतीय नागरिक सडकमार्गबाटै आउजाउ गर्दै आएका छन् । मन्त्रिपरिषद्को स्वीकृति पाएलगत्तै मंगलबार मन्त्रालयले नागरिक उडड्यन प्राधिकरणलाई पनि पत्र प्राप्त भएको छ । प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता राजकुमार क्षेत्रीले दैनिक दुई वटा उडान हुने गरी मन्त्रालयलबाट जानकारी आएको बताए ।
परराष्ट्र मन्त्रालयमार्फत भारतको नियामक निकायसँग ‘एयर बबल’ स्वरूपमा हवाइ उडान गर्न दिने नेपाल सरकारको औपचारिक निर्णयबारे जानकारी गराइनेछ । त्यसपछि भारत सरकारले भारतीय कुनै पनि विमान कम्पनीलाई नेपालमा उडान गर्न दिनेछ । त्यसपछि प्राधिकरणले उडान तालिका सार्वजनिक गर्नेछ ।

सरकारले तत्कालका लागि दुबै देशबाट एक÷एक वटा उडान हुने गरी अनुमति दिएको छ । नेपालबाट नेपाल वायुसेवा निगमले भारतमा नियमित उडान गर्दै आएको थियो । सोहीअनुसार नेपाल एयरलाइन्सले काठमाडौं–दिल्ली–काठमाडौं उडान गर्नेछ । भारतबाट नेपाल आउने विमान कम्पनीको टुंगो भारतले नै गर्नेछ ।

त्यसपछि उडान सुरु हुनेछ । सम्भवतः एक सातामा उडान हुन सक्ने प्रवक्ता क्षेत्रीले बताए । नेपाल एयरलाइन्सले लकडाउन अगाडि भारतको मुम्बई, दिल्ली र बैंग्लोर उडान गर्दै आएको थियो । नेपाल एयरलाइन्सले मुम्बई र बैंग्लोरमा सातामा तीन÷तीन उडान गर्दै आएको थियो भने दिल्लीमा दैनिक दुई उडान गर्दै आएको थियो ।

प्रतिक्रिया