देशभर किन उत्रिए राजावादी

काठमाडौं । पछिल्लो केही सातादेखि देशका विभिन्न सहरमा राजसंस्था र हिन्दूराष्ट्रको माग गर्दै प्रदर्शन हुन थालेका छन् । ०६२/६३ को जनआन्दोलनपछि बनेको अन्तरिम संविधानबाटै राजसंस्था फालिएको थियो । ०७२ सालमा बनेको संविधानमा पनि सो व्यवस्था राखेर गणतन्त्र नेपाल बनाइएको छ । तर, अहिले देशका अधिकांश सहरमा राजतन्त्रको पक्षमा प्रदर्शन हुन थालेका छन् ।  राष्ट्रिय झण्डा बोकेर ‘राजा आउ देश बचाउ’ भन्दै प्रदर्शन हुन थालेका हुन् । सबैभन्दा ठूलो जुलुस भने पहिला बुटवल र नेपालगञ्जबाट निस्किएको थियो ।

त्यसपछि त्यसले विस्तारै पोखरा, काठमाडौंमा पनि निरन्तरता पाइरहेको छ । पछिल्लो दुई साताभित्र सर्लाही, हेटौंडा, जनकपुर, बुटवल, पोखरा, चितवन, धनगढी हुँदै सोमबार काठमाडौंमा ¥याली निकालेका छन् । कहीँ मोटरसाइकल ¥याली त कहीँ प्रदर्शन भएका हुन् । खासगरी यस्ता प्रदर्शनको नेतृत्व राजावादी विभिन्न संघसंस्थाले गरिरहेका छन् । खुलेर कुनै एक संस्थाले नेतृत्व नगरे पनि संघसंस्था मिलेर निरन्तर प्रदर्शनहरू भइरहेका छन् । यसमा राजसंस्थालाई मान्दै आएका राजनीतिक दलका कार्यकर्ता पनि सामेल हुन थालेका छन् । उनीहरूले राजसंस्थालाई फर्काउनुपर्ने मुख्य माग गर्दै प्रदर्शन गरेका हुन् । साथै हिन्दू राष्ट्र कायम गर्नुपर्ने आवाज पनि उठाइरहेका छन् ।

राजसंस्थाको पक्षमा प्रदर्शन हुन थालेपछि यो विषय राजनीतिक रूपमा फेरी चर्चाको विषय हुन थालेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले आमजनता र युवा पिढीको राजसंस्था र हिन्दू राष्ट्रप्रतिको चाहना तार्किक निष्कर्षमा पु¥याउन आवश्यक भएको बताएका छन् । नेपाल र नेपाली बचाउन राजसंस्था र हिन्दू राष्ट्रको माग गर्ने जनताको आवाज सकारात्मक र सराहनीय रहेको अध्यक्ष राणाको भनाइ छ । ‘सम्बद्र्धनवादमा अभ्यस्त, जनता माझको राजनीतिक दल भएबाट राप्रपाले यही जनभावनाको समर्थन र पैरवी गर्दै आएको हो । राष्ट्रहितलाई केन्द्रमा राखेर, राजसंस्था र हिन्दू राष्ट्रप्रतिको जनलहरलाई तार्किक निष्कर्षमा पु¥याउनु हामी सबैको कर्तव्य बनेको छ,’ राणाले आइतबार एक सन्देश जारी गर्दै भने । २ सय ४० वर्षे राजसंस्था फालेर गणतन्त्र ल्याउन भूमिका खेलेका राजनीतिक दलहरूले भने यो विषयलाई सिधै नकारिरहेका छन् ।

सरकारले यस्ता प्रदर्शन र ¥यालीमा सहभागी नहुन अपिलसमेत गरेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले जनताबाट विस्थापित शक्तिहरूले पुनःस्थापित नसोच्न आग्रह गरेका छन् । प्रतिगामी शक्तिले नेपालमा पुनः सफलता प्राप्त गर्न नसोचे हुने उनको तर्क छ । ‘प्रतिगामी शक्तिले नेपाल सफलता प्राप्त गर्ने नसोचे हुन्छ । निश्चित रूपमा लोकतान्त्रिक अभ्यासको क्रममा केही कमीकमजोरी भएको हुनसक्छ’, उनले भने, ‘त्यसका लागि आवश्यक समीक्षा गरेर अघि बढ्छौँ ।’ नेपाली कांग्रेसका नेता डा. रामशरण महतले पनि तत्काल राजसंस्था फर्किएर नआउने स्पष्ट पारे । उनले सरकारका कमजोरीका कारण यस्तो अवस्था आएको बताउँदै प्रदर्शन भने सबैले गर्न पाउने बताए । ‘अहिले राजाको पक्षमा, राजतन्त्र ल्याउनुप¥यो, ०४७ को संविधान पुनःस्थापना गर्नुप¥यो, हिन्दूराज्य बनाउनुप¥यो भनेर ठाउँठाउँमा जुलुस भइरहेको सुनेँ ।

आफ्नो विचार र धारणाअनुसार विचार उठाउने, आवाज उठाउने अधिकार सबैको छ’, उनले अगाडि भने, ‘संविधानमा राजनीतिक व्यवस्थामा राम्रोसँग व्यवस्थापन भएको छैन । भ्रष्टाचार भइरहेको समाचार छन्, असन्तुष्टि छन् । त्यसको परिणाम पनि यो अहिलेको विरोध तथा प्रदर्शन भएको हो ।’ गणतन्त्र स्थापना भएपछि सुरुआती समयमा छिटफुट राजतन्त्रका नारा लागे पनि दोस्रो संविधानसभा निर्वाचनपछिको संविधान लागू भएपछि राजतन्त्रवादीहरू सडकमै प्रदर्शनमा उत्रिएका थिएनन् । तर, अहिले भने दैनिक रूपमा देशका विभिन्न सहरमा जम्मा भएर प्रदर्शन गरिरहेका छन् । उनीहरू संविधान च्यातेर फाल्ने चेतावनी पनि दिइरहेका छन् ।

प्रतिक्रिया