निर्यात व्यवसायलाई इन्जिनको रूपमा विकास गरिने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निर्यात व्यवसायलाई अर्थतन्त्रको इन्जिनको रूपमा विकास गरिने बताएका छन् । अध्यक्ष गोल्छाले अर्थतन्त्रको प्रमुख इन्जिनका रूपमा निर्यात क्षेत्रलाई विकास गर्ने गरी महासंघले आफनो दृष्टिकोण निर्माण गर्न लागेको बताएका हुन् । निर्यात व्यवसायी महासंघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिन आयोजना गरेको कार्यक्रममा अध्यक्ष गोल्छाले अबको सय दिन भित्रमा स्पष्ट दृष्टिकोण ल्याउने बताए ।

अहिले अर्थतन्त्रको इन्जिनका रूपमा रेमिट्यान्स मात्र रहेको र कुनै पनि बेला रेमिट्यान्समा कमी आउँदा देशको अर्थतन्त्र नै भत्किने सम्भावना भएकाले अर्को इन्जिनको रूपमा निर्यात क्षेत्रलाई प्रोत्साहन गरिने बताए । उनले निर्यातजन्य उद्योग व्यवसायको कस्ट अफ फन्ड घटाउने विषयमा सरकारसँग महासंघले पहल गर्ने बताए । निर्यात व्यवसायमा सरकारबाट इन्सेन्टिभ कम भएकाले पनि निर्यात प्रवद्र्धनमा समस्या देखिएको अध्यक्ष गोल्छाको भनाइ छ । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यातलाई प्रवद्र्वन गर्न नसक्नुको कारण नीतिगत व्यवस्थामा भएको कमजोरी नै रहेको बताए ।

३० वर्ष पहिला नेपालको निर्यातको अवस्था आयातको तुलनामा धेरै नै राम्रो भएकोमा अहिले क्रमशः घट्दै गएकाले पनि समस्या देखिएको उनको भनाइ छ । सोही कारण महासंघले निर्यात प्रवद्र्वनका लागि नीतिगत सुधार गर्न सरकार समक्ष सक्रिय रूपमा माग राख्ने पनि उनले बताए । कार्यक्रममा उद्योगी व्यवसायीले महासंघको गरिमालाई तलमाथि गरेर उदाउँदो निजी क्षेत्रको शिर झुकाउने काम नगर्ने प्रतिबद्धता पनि व्यक्त गरे । निर्वाचन अगाडि भएका प्यानल निर्वाचनको नतिजासँगै समाप्त भएकाले पनि अब एक भएर समग्र निजी क्षेत्रको हितमा काम गर्ने उनीहरूको भनाइ थियो ।

प्रतिक्रिया