खोजखबर

भारतसँग संवादको स्थिति ट्रयाकमा

सौर्य अनलाइन २०७७ मंसिर १६ गते ६:३४ मा प्रकाशित

काठमाडौं । नेपाल र भारतको संवाद पूर्वस्थितिमा फर्किएको सरकारले बताएको छ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपाल र भारतबीचको संवाद पूूर्वस्थितिमै फर्केको बताएका हुन् । ‘भारतसँगको सम्बन्ध र संवादको स्थिति ट्रयाकमा फर्केको छ’, उनले भने । दुवै देशबीच माथिल्लो तहमा एकीकृतरूपमा छलफल गर्न परराष्ट्र मन्त्रीस्तरको संयुक्त समितिको आगामी डिसेम्बरमा हुने बैठकपछि एउटा ‘कोर्स’ लिने डा. सल्लाहकारको भनाइ थियो ।

कालापानीको विषयपछि नेपाल–भारतबीचको सम्बन्धमा चिसोपना आएको हो कि भन्ने आशंकालाई दुवै देशका प्रधानमन्त्रीबीच अगस्त १५ मा भएको टेलिफोन संवाद र पछिल्ला तीन तहका भ्रमणले सम्बन्ध सुधारमा महत्वपूर्ण योगदान गरेको उनले उल्लेख गरे । लिम्पियाधुरा, लिपुलेक र कालापानी ऐतिहासिक तथ्य र प्रमाणका आधारमा भारतको हो भन्ने पुष्टि गर्दैन भन्दै डा. भट्टराईले भने, ‘विदेश सचिवको भ्रमणले त्योभन्दा माथिल्लो तहको छलफल र भ्रमणका लागि बाटो खुुलेको छ ।’

चीनसँग पनि केही समय पहिले ऐतिहासिक र दुरगामी महत्वका यातायात र पारवहन सन्धि भएको उल्लेख गर्दै उनले सीमानाका र बाटालाई व्यवस्थित गर्दै सम्बन्ध विस्तार गरी अघि बढाउनपर्ने आवश्यकता औँल्याए । छिमेकीले गरिरहेको आर्थिक समृद्धि र विकासबाट फाइदा लिँदै विकास र संरचनामा सहभागी भएर कतै पनि नढल्किएर हाम्रो विकासलाई अघि बढ्नुपर्छ भन्ने वर्तमान सरकारको नीति रहेको सल्लाहकार भट्टराईले स्पष्ट पारे ।

उनले भने, ‘विशेषगरी सैन्य र राजनीतिक किसिमको संलग्नता कुनै पनि मुलुकसँग कतै पनि हुुन सक्दैन, हामी तटस्त र असंलग्न हौँ । भूराजनीतिक स्थिति नै त्यस्तो छ, हामी यता र उता ढल्कने अवस्था छैन । छिमेकीसँग राम्रो र विश्वासको सम्बन्ध बनाएर जनता र राष्ट्रको हितमा सहकार्य र संवाद गर्न चाहन्छौँ ।’

डा. भट्टराईले पार्टीभित्र देखिएको विवाद सचिवालय, स्थायी समिति, केन्द्रीय कमिटी हँुदै महाधिवेशनबाट छिनोफानो हुने बताए । उनले भने, ‘कमिटीगत हिसाबबाट अहिलेको निकास खोज्नुपर्छ, दायाँबायाँ लाग्ने भनेको विग्रहको बाटो हो, विग्रहको बाटोमा जाने छुट पार्टीका कुनै नेता र कार्यकर्तालाई छैन । पार्टी अध्यक्ष प्रचण्डले प्रस्ताव फिर्ता लिनुपर्छ । त्यो नै समस्या समाधानको उपाय हो ।’

नेपाली कांग्रेसका नेता एवं पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले कालापानीका विषयमा प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिले नेपालीको गौरव बढाएता पनि कूटनीतिमा कमजोरी भएकाले नेपाल–भारत सम्बन्धमा चिसोपन आएको आरोप लगाए । उनले भने, ‘चीन र भारतबीच नेपाल ‘नेचुरल बोर्डर’ का रूपमा रहेको छ, दुवै देशलाई विश्वासमा लिएर अघि बढ्ने नीतिले मात्र हाम्रो हित गर्छ ।’ इतिहासको एउटा पात्रका रुपमा मात्र रहेको राजसंस्था पुनःस्थापना हुने कुनै सम्भावना नरहेको बताउँदै नेता प्रधानले भने, ‘धमिलो पानीमा माछा मार्न खोज्नुको साटो कसैलाई इच्छा लाग्छ भने पार्टी खोलेर सडकमा आए हुन्छ ।’

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय