विज्ञापन बोर्ड गठन

काठमाडौं । नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले पहिलोपटक विज्ञापन बोर्ड गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘राजधानी दैनिक’ प्रकाशनका अध्यक्ष महेन्द्रबहादुर शेरचन तथा पत्रकार शुभशंकर कँडेल, बलराम थापा, चन्द्र न्यौपाने र वन्दना दनुवारलाई बोर्ड सदस्यमा नियुक्त गरेको हो । बोर्ड सदस्यको कार्यकाल चार वर्षको रहनेछ । मन्त्रालयमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री पार्वत गुरुङले सबै सदस्यलाई नियुक्तिपत्र प्रदान गर्दै सफलतापूर्वक काम गर्न शुभकामना दिए । बोर्डमा अध्यक्ष खुलाबाट ल्याइने तथा गृह, उद्योग, वाणिज्य तथा आपूर्ति र सञ्चारमन्त्रालयका सहसचिव पनि सदस्य रहने व्यवस्था छ ।

सरकारले कात्तिक ७ गते नै बोर्ड गठन गरेको थियो । बोर्ड अध्यक्षमा सञ्चार मन्त्रालयका सहसचिव डिल्लीराम शर्मालाई सरकारले यसअघि नै तोकिसकेको छ । सञ्चारमन्त्री पार्वत गुरुङ र सञ्चार सचिव हरि बस्यालको उपस्थितिमा बोर्डका नवनियुक्त पदाधिकारीहरूको पहिलो बैठक सोमबार बसेको छ । बैठकले मंसिर २२ गते अर्को बैठक बसी विज्ञापन ऐन २०७६ ले दिएको कार्यादेश अनुरूप आवश्यक अध्ययन तथा अन्य कारवाही अघि बढाउने निणर्य गरेको छ । सदस्यमा नियुक्त थापा बरिष्ठ पत्रकार एवं श्रमजीवी मुद्दाको आन्दोेलनका अगुवा नेता हुन् ।

कँडेल मिडिया सोसाइटीका अध्यक्ष तथा एबिसी मिडिया ग्रुपका अध्यक्ष हुन् भने संविधानसभा सदस्यसमेत रहेका शेरचन राजधानी दैनिकका अध्यक्ष तथा मिडिया सोसाइटीका संस्थापक अध्यक्ष हुन् । यस्तै न्यौपाने ब्रोडकास्टिङ एसोसिएसनका अफ नेपालका (बान)का अध्यक्ष तथा सप्तकोसी एफएमका प्रमुख हुन् । यस्तै दनुवार सामुदायिक रेडियो प्रशारक संघ (एकोर्याव) की सचिव हुन् ।

मन्त्री गुरुङले सबै क्षेत्रमा लामो अनुभव हासिल गरेका व्यक्तिहरूलाई बोर्डमा नियुक्त गरेका हुन् । विज्ञापन ऐन २०७६ ले विज्ञापन बोर्डमार्फत स्वदेश तथा विदेशबाट नेपालमा प्रकाशन र प्रसारण हुने विज्ञापनका लागि आवश्यक नीति–नियम निर्माण गर्ने र नियमन गर्ने दायित्व दिएको छ । यस्तै समानुपातिक विज्ञापन लागू गर्ने कार्यादेशसमेत छ । विज्ञापन बोर्डमार्फत विज्ञापनको समानुपातिक वितरण, नियमनको माग धेरै पहिलेदेखि उठेको थियो । वर्तमान सरकारले यसलाई प्राथमिकता साथ कार्यान्वयन गरेपछि सञ्चारजगत उत्साहित बनेको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले विज्ञापन बजार व्यवस्थित बनाउन पहिलोपटक बोर्ड गठन भएको भन्दै यसको स्वागत गरेका छन् ।

प्रतिक्रिया