चेल्सीको मैदानमा टोटनहमको बराबरी

लण्डन । प्रिमियर लिगमा दुई लण्डन क्लब टोटनहम हट्सपर र चेल्सीबीचको खेल बराबरीमा सकिएको छ । दुई क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । स्टामफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा घरेलु टोलीले बल पोजेसनमा पकड बनाएपनि फिनिसिङ गर्न नसक्दा टोटेनहमसँग बराबरी खेल्न बाध्य बन्यो । टोटेनहमले पनि केही मुभहरु बनाउदा गोलरक्षक इडुआर्ड मेन्डी बाधक बनेका थिए । ११औं मिनेटमा चेल्सीका टिमो वेर्नरले गोल गरेपनि उनी अफसाइड पोजिसनमा रहेकाले गोलले मान्यता पाएन ।

१५औं मिनेटमा सर्जी औरिएरको प्रहारलाई गोलरक्षक मेन्डीले सहजै बचाए । २८औं मिनेटमा मासन माउन्टले मोउसा सिसोकोलाई बिट गर्दै गरेको प्रहार आकासिदा चेल्सी अग्रता लिनबाट चुक्यो । ४९औं मिनेटमा रिस जेम्सको उत्कृष्ट क्रसमा ट्याम्मी अब्राहम चुके । बराबरीपछि १० खेलबाट २१ अंक जोडेको टोटनहम लिभरपुललाई गोलअन्तरमा पछि पार्दै शीर्ष स्थानमा फर्किएको छ । यस्तै समान खेलबाट १९ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ । यस्तै अर्को लण्डन क्लब आर्सनल भने वल्भ्ससंग २–१ ले पराजित भएको छ । आर्सनलको घरेलु मेदानमा भएको खेलको २७औं मिनेटमा पेड्रो नेटोले गोल गर्दै वल्भ्सलाई पहिले अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि गाब्रीएलले बर्सनलका लागि बराबरी गोल फर्काए ।

४२औं मिनेटमा डानिएल पोडेन्सले गोल गर्दै वल्भ्सलाई २–१ को अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा थप गोल हुन सकेन र वल्भ्सले जित हात पारेको हो । जितपछि १० खेलबाट १७ अंक जोडेको वल्भ्स छैटौं स्थानमा उक्लेको छ । समान खेलबाट १३ अंक रहेको आर्सनल १४औं स्थानमा छ । यस्तै, एडिनसन कभानीले दोस्रो हाफमा मैदान प्रवेश गर्दै दुई गोल गरेपछि म्यानचेष्टर युनाइटेडले साउथह्याम्पटन विरुद्ध पुनरागमन जित हात पारेको छ । दुई गोलले पछि परेको अवस्थामा दोस्रो हाफमा ३ गोल फर्काउदै युनाइटेडले साउथह्याम्पटनलाई ३–२ ले पराजित गरेको हो । घरेलु मैदानमा जान बेडनारेकले २३औं र जेम्स वार्ड प्रोवसले ३३औं मिनेटमा गोल गर्दै साउथह्याम्पटनलाई दुई गोलको अग्रता दिलाएका थिए ।
तर अग्रता कायम राख्न सकेन । दोस्रो हाफको इन्जुरी टाइममा कभानीले युनाइटेडका लागि विजयी गोल गरे । त्यसअघि ५९औं मिनेटमा ब्नुनो फर्नान्डेज र ७४औं मिनेटमा कभानीले नै गोल गर्दै खेल २–२ को बराबरीमा पु¥याएका थिए ।

प्रतिक्रिया