नेपाल उद्योग बाणिज्य महासंघ : गोल्छाद्वारा अध्यक्षको पद वहाली

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सोमबार एक विशेष समारोहका बीच अध्यक्षको पदबहाली गरेका छन । त्यसअघि महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठको नेतृत्वमा महासंघ सचिवालयका सबै कर्मचारीले अध्यक्ष गोल्छालाई स्वागत गरेका थिए । पद वहाली पश्चात अध्यक्ष गोल्छाले सचिवालयका कर्मचारीलाई संवोधन सहित निर्देशन दिए ।

महासंघ सचिवालय र महासंघ अन्तरगत रहेका परियोजनाका कर्मचारीको उपस्थिति रहेको सो कार्यक्रममा अध्यक्ष गोल्छाले आफ्नो कार्यकाललाई सफल पार्न सचिवालयका कर्मचारीको महत्वपूर्ण भूमिका रहेकाले सचिवालयबाट सोही अनुसारको अपेक्षा आफुले गरेको बताए । पदाधिकारी र कार्यकारिणी समिति सदस्य निश्चित कार्य अवधिका लागि निर्वाचित भएर आएपनि कर्मचारी भनेका स्थायी संरचना भएकाले सचिवालयलाई प्रोफेशनलरूपमा संचालन गरी सचिवालयले दिने सेवालाई चुस्त दुरुस्त र प्रभावकारी बनाउने आफ्नो कार्ययोजना रहेको उनले बताए ।

निर्देशनको क्रममा अध्यक्ष गोल्छाले भने,‘तपाईहरूबाट पाएको न्यानो स्वागतका लागि म आभार प्रकट गर्दछु । मेरो सफलता तपाईहरूको पनि सफलता भएकाले पूर्ण सहयोग प्राप्त हुने विश्वास लिएको छु ।’ राष्ट्रिय अर्थतन्त्रको सुदृढिकरणमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउंदै जाने आफ्नो मुख्य लक्ष्य र उद्देश्य रहेकाले आफूले अगाडी बढाएका कार्ययोजनालाई प्रभावकारीरूपमा सम्पादन गर्न पनि अध्यक्ष गोल्छाले आग्रह गरे ।

उनले अगाडी भने,‘उचित वातावरण भयो भने साधारणबाट पनि असाधारण काम लिन सक्ने कुराप्रति म पूर्ण विश्वस्त छु ।’ सचिवालयलाई पूर्णरुपमा सुदृढिकरण गर्ने मेरो मुख्य प्राथमिकता रहेकाले सोही अनुसार वातावरण निर्माण गर्ने, कर्मचारीको वृत्ति विकास, सचिवालयको प्रभावकारी संचालन, सेवा सुविधा लगायतमा पनि आफूले ध्यान दिई समग्रमा महासंघ सचिवालयलाई प्रोफेशनल संस्थाको रूपमा संचालन गर्ने उनको भनाई थियो ।

प्रतिक्रिया