विश्व

श्रीलङ्काको जेलमा दङ्गा, ८ को ज्यान गयो, ४५ जना घाइते

सौर्य अनलाइन २०७७ मंसिर १५ गते १५:४९ मा प्रकाशित

काठमाडौं । श्रीलङ्काको राजधानीमा कोलोम्बोको बाहिरी इलाकामा रहेको एक कारागारमा भएको दङ्गामा परि आठ जनाको ज्यान गएको छ । दङ्गामा ज्यान गुमाएका सबै व्यक्ति कैदी नै भएका सिन्हवा समाचार समितिद्वारा प्रकाशित समाचारमा जनाइएको छ । दङ्गामा परि अन्य ४५ जना घाइते भएका छन् । घाइते भएकाहरूमा सुरक्षाकर्मी पनि रहेका छन् ।

कारागारमा कोरोना भाइरसको प्रकोप बढ्न थालेपछि बन्दीहरूले धरौटीमा मुक्त हुन पाउनुपर्ने र थप सेवा, सुविधाको माग गर्दै प्रदर्शन गरेका थिए । राजधानी कोलोम्बोमा रहेको वेलिकाडा जेलका बन्दीहरूले छानामा चढेर आफूहरूलाई धरौटीमा छोडियोस् भन्दै प्रदर्शन गरेका हुन् ।

श्रीलङ्काको जेलहरूमा अहिलेसम्म झण्डै एक हजार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कारागारमा रहेका बन्दीहरूले सुरु गरेको दङ्गा अनियन्त्रित भएपछि नियन्त्रणमा लिनको लागि बल प्रयोग गर्नु परेको प्रहरी प्रवक्ता अजित रोहनाले बताएका छन् ।

यस दङ्गामा घाइते भएकाहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरी प्रवक्ता रोहनाले बताएका छन् । कारागारमा सुरक्षा बढाउन विशेष तालिम प्राप्त कमाण्डोहरूको टोली झिकाइएको पनि उनले बताए । श्रीलङ्कामा कोरोना सुरु भएयता २३ हजार चार सयभन्दा बढीमा कोभिड–१९ को सङ्क्रमण देखिएको र सङ्क्रमणका कारण एक सय १६ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय