नेपाल उद्योग बाणिज्य महासंघमा नयाँ नेतृत्व

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । ढकालले किशोर प्रधानलाई पराजित गरेका हुन । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान रहेको महासंघमा यससँगै ढकालले अर्को कार्यकाल निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाको नेतृत्व गर्नेछन् । महासंघमा आवद्ध भएको एक दशकमै ढकाल सोही संस्थाको नेतृत्वमा पुगेका हुन ।

सबैभन्दा बढी अर्थात ५० प्रतिशत मतभार हुने जिल्ला नगरको भोटमा प्रधानलाई बराबरी जसोमा रोक्न सफल भएपछि एशोसिएट र वस्तुगततर्फको भोटबाट ढकाल अघि बढेका थिए । जिल्ला नगरमा ढकालले ५२ र प्रधानले ५३ मत ल्याएका थिए ।

९ सय २३ मत हुने एशोसिएटमा ढकालले आफ्नो पकड राम्रो देखाएका छन् । उनी यसअघि एशोसिएटबाट निर्विरोध उपाध्यक्ष निर्वाचित भएका हुन । ढकालले एशोसिएटतर्फका आफ्नो प्यानलका उपाध्यक्षका उम्मेद्वार रामचन्द्र संघईलाई पनि विजयी गराएका छन् । ढकालले एशोसिएटबाट ५ सय २२ मत ल्याए भने प्रधाले ३ सय ७५ मत ल्याएका थिए । एशोसिएटको मतभार वरिष्ठ उपाध्यक्षको निर्वाचनमा ३० प्रतिशत हुन्छ । त्यस्तै, २० प्रतिशत मतभार गणनाा हुने वस्तुगत तर्फको मतमा पनि ढकालले ५२ र प्रधानले ३९ मत ल्याएका थिए ।
निर्वाचित भैसकेपछि ढकालले निर्वाचनको क्रममा प्यानलगत विभाजन मतदानसँगै समाप्त भएको र अब निजी क्षेत्रका साझा मुद्दामा हिंड्ने पनि बताएका छन । महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा भने दिनेश श्रेष्ठ विजयी भएका छन । श्रेष्ठ यसअघि काठमाडौं जिल्ला उद्योग वाणिज्य संघको अध्यक्ष थिए भने महासंघमा अघिल्लो निर्वाचनमा जिल्ला, नगरतर्फको उपाध्यक्षको निर्वाचनमा पराजित भएका थिए ।

गोल्छा महासंघको १९ औं अध्यक्ष
शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको १९ अध्यक्ष बनेका छन । करिब चार वर्षअघि महासंघको वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका गोल्छा विधानको व्यवस्थाअनुसार शनिबार सम्पन्न ५४ औं साधारणसभाबाट अध्यक्ष चयन भएका हुन ।

नाडा अटोमोबाइल एशोसिएसनको अध्यक्ष भइसकेका गोल्छा महासंघकै विभिन्न समितिमा रहेर काम गरिसकेका छन । पछिल्लो कार्यकाल भने वरिष्ठ उपाध्यक्षको भुमिकामा थिए । अध्ययनशील र आर्थिक विषयवस्तुमा पकड राख्ने व्यवसायीका रुपमा चिनिने गोल्छा आगामी दुई वर्ष निजी क्षेत्रको छाता संगठनको नेतृत्व गर्नेछन ।

महासंघलाई चलायमान र समस्या समाधानमुखी बनाउनका लागि आफूले पहल गर्ने गोल्छाले यसअघि नै घोषणा गरिसकेका छन । यसका लागि संगठन सुदृढीकरणदेखि सचिवालयको सदृढीकरणसम्मका काम गर्ने, महासंघलाई देशको आर्थिक थिंकट्यांक बनाउने सम्मका योजना उनले अघि सारेका छन ।

देशका नीतिगत समस्या समाधान गर्नका लागि तथ्यमा टेकेर प्रमाण सहित सुझाव दिने संस्कृतिको विकास गर्ने उनको घोषणा छ । यसका लागि आफ्नो कार्यकालका लागि कार्ययोजना बनाइसकेको र नयाँ कार्यसमितिबाट अनुमोदन गराएर कार्यान्वयन गर्ने उनले बताएका छन ।

उद्योग वाणिज्य महासंघ स्थापनाकाल समयदेखि नै गोल्छा परिवारको योगदान थियो । तर नेतृत्वमा पुग्ने अवसर पाएको थिएन । उनका हजुरबुबा रामलाल गोल्छाले पहिलो उद्योगका रुपमा रुघुपति जुटमिल स्थापना गर्दै उद्योगको सुरुवात गरेका थिए । उनै रामलालका नाति शेखर महासंघको नेतृत्वमा अहिले पुगेका हुन । महासंघ निर्माणका लागि आफ्ना पारिवारिक अग्रजको रगत पसिना बगाएकाले महासंघलाई मन्दिरजस्तै मानेर कर्म गर्ने उनले बताउँदै आएका छन ।

प्रतिक्रिया