‘पारिवारिक पीडाले जन्मघर सम्झिएँ’

गणेश रसिक

रातो भाले क्वायँ क्वायँ, सुत्केरीलाई ख्वाएँ,
सुत्केरीको नाम गरी टाउको मैले खाएँ
०००
हटी होइन, डटी लड्ने, नेपालीको बानी हुन्छ
कहिल्यै नझुक्ने शिर उभेको, स्वाभिमानी नेपाली हुन्छ
०००
घर बेटी नानी, आँगनमा देउन मलाइ वास
आँगनमा देउन मलाइ वास
गाउँ होस् वा सहर, जुनसुकै क्षेत्रका बासिन्दाको जिब्रोमा आउने गीतका हरफ हुन् यी । चार दशकअघि सिर्जित यी हरफ यसकारण पनि जनजिब्रोमा रहन गयो कि एउटा मन तान्ने शब्द र अर्को सीमित सञ्चारमाध्यम । त्यसबेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खबरको जानकारी लिने जनताको पहुँचको श्रव्य साधन थियो, रेडियो नेपाल । रहरले होस् वा बाध्यताले खबर सुन्ने अकाट्य माध्यम बन्थ्यो रेडियो नेपाल ।

झट्ट सुन्दा ठट्यौलीजस्तो लाग्ने ‘रातो भाले क्वाँय क्वाँय’ गीतले त गाउँको परिवेशसमेत बोकेकाले जनताको मन/मस्तिष्कमै बस्न पुग्यो भने ‘हट्ने होइन, डटी लड्ने नेपालीको बानी हुन्छ’ गीतले तत्कालीन राजपरिवारको समेत मन छोयो । कुनै ठट्यौली त कुनै सामाजिक परिवेशसँग मिल्दोजुल्दो गीत लेख्ने र गाउने सर्जक हुन्, गणेश रसिक ।

हुनत गणेश रसिक चिनाउनुपर्ने नाम होइन, तर परिचय नै दिने हो भने यतिले मात्र भने पुग्दैन । अनि सांगीतिक र साहित्यिक क्षेत्रबाट रसिकको नाम अलग राख्दा यो क्षेत्र नै अधुरो रहन्छ । कथा र उपन्यास लेखेर साहित्यिक फाँटमा रहरलाग्दो नाम बनाएका उनको गीत लेख्ने र गाउने खुवी भएकाले पनि साहित्यिकभन्दा सांगीतिक पाटो अलिक गह्रौँजस्तो देखिन्छ । रसिकको जन्म पूर्वी पहाडी जिल्ला भोजपुरमा भयो । उनको जन्म जति बेला भयो त्यतिबेला राणाशासन हटाउन अनेक आन्तरिक तथा बाह्य गृहकार्य भइरहेको थियो । २००४ सालमा जन्मिएका उहाँको परिवार पनि राजनीतिक चेतनामा अगाडि नै थियो । बाल्यकालमै सामान्य राजनीति बुझेर सामान्य झण्डा बोके पनि रसिकको जीवनमा राजनीतिभन्दा अन्य क्षेत्रको लगाव बढी देखिन्छ ।

आफ्नै हजुरबुबा बडाहाकिम भएकाले धेरै कुरा बुझ्न अर्को ठाउँ जानु परेन । रसिकको बाल्यकाल एकैनासको रहेन । बडाहाकिमको जागिरका लागि हजुरबुबा कहिले ओखलढुंगा त कहिले अन्य जिल्लामा जान्थे, रसिक पनि सँगै देशको विभिन्न स्थानमा हजुरबुवासँगै पुग्थे त्यतिकैमा रसिक आफ्नै जागिरको सिलसिलामा इलाम आइपुगे । रसिकको विद्यालयस्तरको अध्ययन भोजपुरमै बिते पनि त्यसपछिको समय भने धेरै जसो इलाम र काठमाडौंमा बित्यो ।

लाहुर बन्न जाँदा राजविराजमै जागिर

रसिकका बुबा पल्टनका जागिरे थिए । त्यसैले पल्टन नै जानुपर्ने सल्लाह परिवारबाट आउन थाल्यो । गाउँमा साथीभाइसहित रसिक भोजपुरबाट पल्टनमा भर्ती हुन हिँडे । खासै घरबाहिर काम नगरेका रसिक बाटोमा हिँड्न सकेनन् र बिरामी परे । सप्तरीको राजविराज पुगेपछि भने रसिक हिँड्नै नसक्ने गरी थला परे । त्यही एक घरमा साथीभाइले रसिकलाई सुताए र उनीहरू पल्टनतर्फ हिँडे ।

‘मेरो कथा देवकोटाको मुनामदन कृतिको मदनको जस्तै छ,’ रसिकले भने, ‘तर, मदनलाई हेरचाह गर्ने भोटे थरका व्यक्ति थिए मेरा भने मधेसी थिए ।’ रसिक केही दिनमा आराम भऐ तर रसिकका साथीसमेत फर्किएर त्यहीँ आइपुगे । पल्टनमा भर्ती हुन ढिला भएकाले साथीहरू भर्ती नै नभई फर्किएका रहेछन् ।

त्यतिकैमा एक जनाले रसिकलाई राजविराजमै जागिरमा लगाइदिए । ‘सामान्य टाइप जान्ने भएकाले मैले जागिर पाइहालेँ,’ उनले भने, ‘त्यसपछि लाहुरेमा भर्ती हुने कुरै हरायो ।’ त्यसपछि पनि रसिकको जीवन स्थिर रहेन । कहिले भोजपुर त कहिले विराटनगर । त्यतिकैमा ०२२ सालतिर इलामे साहित्यकार विष्णु नवीनको सहयोगमा रसिक इलाम आए र यहीँ काम गर्न थाले ।

साहित्यकारको प्रभाव पर्न थालेपछि विस्तारै रसिक पनि साहित्यमा रम्न थाले ०२३ सालमा काठमाडौं पसेपछि भने रसिकले ठोस प्रगति नै देखाए । ‘क्षितिजलाई छुन खोज्दा–२०२४’ कथासंग्रह निकालेर साहित्यिक क्षेत्रमा प्रवेश गरेको चार वर्ष नबित्दै ‘एउटा सारंगीभित्र–२०२८’ ल्याउन सफल भए उनी । यस्तै ‘बिलाउँदै गएको गीत’, ‘दशगजामा उभिएर’, ‘छपक्कै मनमा बसेकाहरू’ लगायतका कृतिसमेत रचना गरे ।

राईबाट रसिक बन्दा : साहित्यकार बन्न के के गर्नुपर्छ भन्ने थाहा नभए पनि रसिकलाई आफ्नो नामको पछाडि उपनाम झुण्ड्याउनु पर्छ भन्नेचाहिँ थाहा थियो । विद्यालयस्तरमै यति बुझेपछि रसिकले आफ्नो नामको पछाडि के उपनाम झुण्ड्याउने भन्नेमा अन्योल बनायो । सबै साथीले नाम पछाडि उपनाम झुण्ड्याएकाले रसिकलाई पनि तत्काल उपनाम झुण्ड्याउन बितेजस्तो लाग्योे तर के लेख्ने भन्ने पत्तो भने थिएन । रसिकले अच्छाकुमार राई रसिकको पुस्तक पढेर प्रभावित भएपछि आफ्नो नामको पछाडि पनि राई हटाएर रसिक थपे ।

जब काठमाडौंमा राल्फा आन्दोलन चलिरहेको थियो त्यति बेला रसिक पनि त्यही आन्दोलनमा सरिक भए । तर, समयान्तरमा रसिकलाई राल्फामा ‘बस्नु बेकार लाग्न’ थाल्यो । ‘राल्फाको अर्थ नै मैले बुझिनँ, न त गन्तव्य नै थाहा पाएँ,’ उनले भने, ‘त्यसैले सँगै रहन सकिनँ ।’ त्यसपछि भोजपुरका साहित्यकारको संयोजनमा नयाँ समूह गठन भयो, लेकाली । भोजपुर क्षेत्रका हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ, नवीन किशोर, तीर्थ शेरचन र रसिक मिलेर लेकाली समूह खोले र साहित्यमा होम्मिए । नेपाली जनजीवनका कथालाई लेकाली समूहले आफ्नो विषय बनाएको थियो । लेकाली समूहले क्यानडामा समेत लेकाली संगीत पु¥याएका थिए ।

रसिकको विगत सम्झँदा उनले अनगिन्ति ठाउँमा काम गरेको देखिन्छ । कहिले रत्न रेकर्डिङ संस्थानको महाप्रबन्धक भएर त कहिले राष्ट्रिय नाचघरको महाप्रबन्धक । त्यतिले मात्र पनि रसिकको मन थामिएन । त्यसै पनि अस्थिर मन भएका रसिकलाई लामो समय एकैठाउँमा काम गर्नसक्ने कुरै भएन । प्रतिष्ठित संस्था साझा प्रकाशनको कार्यकारी अध्यक्ष भएरसमेत रसिकले काम गरे । तर दिगो भने भएन । त्यतिकैमा रसिकले संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा समेत सदस्यसचिवको रूपमा काम गरे । पचासको दशकदेखि भने रसिक काठमाडौं बस्न रुचाएनन् । काठमाडौंमा बस्ने मन नभएपछि उनलाइ पुनः जाने पनि मन लागेन । त्यसबेला उनको सम्झनामा आयो, आफूले सांगीत र साहित्यिक यात्रा सुरु गरेको जिल्ला इलाम ।

उनी काठमाडौंबाट इलाम सरे । इलाम आएर पनि उनी निरन्तर आफ्नो क्षेत्रमा रहँदै आए तर अब भने रसिकलाई इलाममा बस्नसमेत मन मर्दै आएको छ । मन मात्रै मरेको छैन आफ्नो जन्मथलो र बालसखाको न्यास्रोले तानेर भोजपुर पु¥याएको छ । अबको केही समयपछि नै रसिक इलाम छाड्दै छन् । इलाम छाडेर केही समयपछि काठमाडौं बस्ने उनकोे योजना छ तर समायान्तरमा भोजपुर पुग्ने नै उनले बताए । ‘मैले इलाममा धेरै मित्र कमाएँ । सबैले राम्रै गर्नुभएको छ, दुःख साट्ने मान्छे पाएँ तर सुख साट्ने पाइनँ ।’ उनी भन्छन् । उनलाई पुख्र्यौली घर र त्यहाँका खेतबारीले अन्य ठाउँ बिर्साएको छ ।

अप्रत्याशित राजनीतिक यात्रा : रसिकको जीवन केलाउँदै जाने हो भने राजनीतिक घुम्तीहरू अत्यन्तै धेरै भेटिन्छ । कांग्रेस परिवारमा जन्मिएका उनकोे मन विद्यार्थी कालदेखि नै कम्युनिस्ट आन्दोलनप्रति बढी तानिन पुग्यो । ०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र खोसेपछि परिवारसमेत राजातर्फ केन्द्रित भएको थियो,’ रसिकले भने, ‘तर म भने बाल्यकालदेखि बामपन्थीसँग नजिक थिएँ ।’ जब नेपालमा महेन्द्रपछि वीरेन्द्र राजा भए तब रसिकको राजालाई हेर्ने दृष्टिकोण फरक भयो । ‘वीरेन्द्रले राज्यारोहण गरेपछि मलाइ गीत लेख्न अनुरोध गर्नुभयो । उहाँको आज्ञा पाएपछि राजाको बारेमा गीत लेखेँ,’ उनले भने ।

रसिक कलाकार सधैँ मध्यम धारको बाटो हिँड्नुपर्ने बुझेर राजाको गीत गाएको बताउँछन् । त्यसपछि कालान्तरमा राजासँग नजिक रहँदारहँदै इलामबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्न अनुरोध गरियो । सुरुमा त रसिकले आफू कलाकार भएको बताउँदै कुनै पार्टीबाट उम्मेदवारी नदिने अडान राखे तर पार्टीको माथिल्लोस्तरबाटै अनुरोध गरेपछि रसिकले नउठेर धर नै पाएनन् । उनी ०५१ सालको निर्वाचनमा इलामबाट चुनाव लड्न बाध्य भए । त्यतिबेला रसिकले जित्ने सम्भावना त थिएन तर पछि आरोप चाहिँ प्रतिद्वन्द्वी नेकपा एमालेका झलनाथ खनाललाई हराउन उम्मेदवारी दिएको भन्ने लाग्यो ।

चुनावी परिणाम पनि त्यस्तै नै आयो । झलनाथ खनालले चुनाव हारे कांग्रेसका बेनुपराज प्रसाईंले जिते । तर रसिक भने आफू कसैलाई हराउनका लागि चुनावमा नउठेको प्रस्ट्याउछन् । ‘मेरो साहित्य सिर्जना गर्दाको साथी हो उहाँ (झलनाथ खनाल),’ रसिकले भने, ‘म कसरी त्यस्तो गर्न सक्छु ।’ त्यसपछि रसिकले राप्रपासमेत छाडे ।

पीडैपीडाको जिन्दगी ः धेरैलाई लाग्न सक्छ, रसिकको जिन्दगी साहित्य र संगीतमा उनले पारेको छाप जत्तिकै चम्किलो होला तर त्यसको ठीक विपरीत उनकोे व्यक्तिगत जिन्दगी भने पीडैपीडाको भुंग्रोमा फसेको छ । उनकोे जीवनका भोगाइ हेर्दा लाग्छ उनले के गुमाएनन् ? सानैमा आमाको माया गुुमाउनु प¥यो भने घरै छाडेर हिँड्न बाध्य भए ।

बुबाले कान्छी आमा ल्याएपछि बुबाको मायाबाट समेत टाडिनु प¥यो भने कान्छा भाइले आत्महत्या गरे । माइलो भाइ माओवादी द्वन्द्वमा मारिए । साइँलो भाइ दुर्घटनामा बिते । एक्लो छोरो पनि बित्यो । पत्नी पनि अस्वस्थ छिन् । अहिले रसिकको परिवारमा पत्नी बुहारी र नातिनी मात्र छन् । नातिनीकै पढाइका लागि केही समय काठमाडौं बसाइपछि भोजपुर पुग्ने योजना छ ।

‘मेरो चञ्चल स्वभाव छ । एक ठाउँ बस्न सक्दिनँ,’ रसिकले भने, ‘भोजपुरमै पनि दीर्घकालीन बसाइँ नहुन सक्छ ।’ रसिकले साहित्य र गायनबाट नाम मात्र होइन सम्मान पनि पाए । उनले ०२८ सालमा कविता महोत्सवमा प्रथम पुरस्कार, ०३४ मा रेडियो नेपाल संगीत प्रतियोगितामा उत्कृष्ट गीतकार, ०२४ मा राष्ट्रिय युवा महोत्सवमा कथामा प्रथम पुरस्कार र ०६३ सालमा पद्मश्री पुरस्कार प्राप्त गरेका छन् ।

प्रतिक्रिया