सातामा १५८ संक्रमितको मृत्यु

काठमाडौं । कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या घटेपनि मृत्युहुनेको संख्यामा कमि आउन सकेको छैन । पछिल्लो एक सातामा मात्रै १५८ संक्रमितको मृत्यु भएको छ ।  आइतवारमात्रै थप २५ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या भने १ हजार ४७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार शनिवार १९, शुक्रबार २३, विहिवार २३, बुधबार २८, मंगलबार २४ र सोमबार १६ जनाको संक्रमणका कारण मृत्यु भएको हो ।

आइतवार थप १ हजार २५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टाको अवधिमा देशभरि ८ हजार ८ वटा स्वाबको परीक्षण गर्दा ५११ महिला र ७४४ पुरुष संक्रमित भेटिएका हुन् । काठमाडौं उपत्यकामा सर्वाधिक परीक्षण गरिने र सङ्क्रमित फेला पर्ने क्रम जारी छ । नेपालमा पुष्टि भएका संक्रमितको कुल संख्या झन्डै दुई लाख ३२ हजार पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या १७ हजार ९०९ पुगेको छ ।

आइतवार काठमाडौंमा ४२२, भक्तपुरमा ६५ र ललितपुरमा ६१ जनासहित उपत्यकामा ५४८ जनामा कोभिड–१९ पुष्टि भएको हो । त्यसैगरी परीक्षणका क्रममा मोरङमा ७३, कास्कीमा ८३ र कैलालीमा ९८ जनामा पनि संक्रमण देखियो । अहिले सक्रिय संक्रमितमध्ये काठमाडौंमा ७ हजार ६३३ जना, भक्तपुरमा ६४८ र ललितपुरमा १ हजार ५१८ जना छन् ।
मन्त्रालयका अनुसार अहिले देशभरि झन्डै १३ हजार संक्रमित घरमै र बाँकी संस्थागत आइसोलेशनमा छन् । वाग्मती प्रदेशमा अहिले देशभरि भएका सक्रिय संक्रमितमध्ये ४४.७ प्रतिशत भएको मन्त्रालयको तथ्यांकले देखाउँछ । देशभरि अस्पतालमा भएका संक्रमितमध्ये ३६१ जना सघन उपचार कक्षमा र ५३ जना भेन्टिलेरमा छन् ।

उपत्यकाबाहिर झापा, मोरङ, कास्की र रूपन्देहीमा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ । पीसीआर विधिबाट परीक्षण गरिएका सबै नमुनामध्ये १३.४ प्रतिशतमा कोरोनाभाइरस पाइएको मन्त्रालयले जनाएको छ । पुष्टि भएका संक्रमितमा मृत्युदर ०.६ प्रतिशत छ । तर ६० वर्षभन्दा माथिको उमेरका संक्रमितमा मृत्युदर उच्च छ ।

प्रतिक्रिया