चीनसँग नेपालको आग्रह : ‘विगतका सहमति कार्यान्वयन गरौं’

काठमाडौं । नेपालले उत्तरी छिमेकी मुलुक चीनलाई विगतका सन्धिसम्झौता कार्यान्वयन गर्न जोड दिएको छ । नेपालको एक दिने भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री वेई फेङहेलाई सो सन्देश पठाइएको हो । चिनियाँ राष्ट्रपति सि जिनफिङ नेपाल भ्रमणमा आउँदा विभिन्न परियोजनामा हस्ताक्षर भएपनि ति सन्तोषजनक रुपमा अगाडी बढ्न सकेका छैनन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री वेई फेङलाई दुई देशबीच उच्चस्तरीय भ्रमणका बेला भएका सन्धिसम्झौतालाई कार्यान्वयन गरेमात्र सम्बन्धले थप उचाइ लिने बताएका हुन् । विगतमा भएका सन्धिसम्झौताहरू पूर्णरूपमा कार्यान्वयनमा आएमात्र सम्बन्धलाई अझ फराकिलो बनाएर लैजान सकिनेसमेत उनले जनाए । ‘पछिल्ला भ्रमणहरूमा जुन उच्चस्तरका सन्धिसन्झौताहरू भएका छन्, तिनको पूर्ण कार्यान्वयनको बाटोमा अगाडि बढ्दा नेपाल–चीन सम्बन्धले नयाँ उचाइ प्राप्त गर्ने छ’, बालुवाटरमा प्रधानमन्त्री ओली र वेइबीच भएको भेटवार्तामा सहभागी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले प्रधानमन्त्रीको भनाइ उद्वृत गदै भने, ‘यस्तो भएमा सम्बन्धलाई अझ फराकिलो बनाएर लैजान सकिन्छ ।’

भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण, चिनियाँ राष्ट्रपति सी चिनफिङले गत वर्ष गरेको नेपाल भ्रमण र आफूले प्रधानमन्त्रीको रूपमा चीन भ्रमण गर्दा दुई देशबीच भएका सन्धिसम्झौताको स्मरण पनि गराएका थिए । नेपाल–चीनबीच असाध्यै राम्रो सम्बन्ध रहिआएको जनाउँदै प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच कुनै समस्या नरहेको बताएका थिए । उनले नेपाल सधैँभरी एक चीनको पक्षमा रहेको र नेपालको भूभाग चीनको विरूद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता दोहो¥याएका थिए ।

‘कोभिड नियन्त्रणमा चीनले पाएको सफलताको हामी प्रशंसा गर्दछौं । चीनको विकासबाट हामीले धेरै कुरा सिक्न सक्छौं । नेपाल विकासको बाटोमा लम्किरहँदा चीनको सहयोगको अपेक्षा गरेका छौं’, प्रधानमन्त्री ओलीले चिनियाँ रक्षामन्त्रीसँग भनेका थिए । जवाफमा चिनियाँ रक्षामन्त्री वेईले विगतमा भएका सन्धिसम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए ।
‘उच्चस्तरीय भ्रमणहरूमा जे सहमति बनेको छ, त्यसको पूर्ण कार्यान्वयनको लागि हामी प्रतिबद्ध छौं’, चिनियाँ रक्षामन्त्री फेङहेको भनाइ उद्वृत गर्दै भट्टराईले भने । प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपालले राजनीतिक स्थायित्व प्राप्त गरेर आर्थिक विकास बाटोमा जान खोजेकोमा उनले खुसी व्यक्त गरेका थिए । नेपालको विकासमा चीनले सक्दो सहयोग उपलब्ध गराउँदै आएको बताउदै चीनको सहयोग निरन्तर जारी रहने प्रतिबद्धता पनि उनले जनाए ।

यसैबीच, चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीच कोभिड–१९ का कारण झन्डै एक वर्षदेखि रोकिएका तालिम तथा शिक्षार्थी आदान–प्रदानका कार्यहरु फेरि सुरु हुने भएको छ । रक्षामन्त्री फेङहे र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाबीच आइतबार दिउँसो सैनिक मुख्यालय जंगीअड्डामा भएको भेटवार्तामा दुई मुलुक बीचमा कोभिड–१९ का कारण रोकिएका सहयोग, सहकार्य र अभ्यासहरुलाई फेरि सुचारु गर्ने सहमति भएको हो । योसँगै नेपाल र चीनका सेनाबीच रोकिएको तेस्रो सगरमाथा मैत्री संयुक्त सैन्य अभ्यास पनि हुने पक्का भएको छ । तर अहिले मिति भने तय गरिएको छैन ।
भेटमा चीनले छिट्टै १५ करोड चिनियाँ आरएमबी (दुई अर्ब ७० करोड १४ लाख रूपैयाँ) बराबरको सैन्य सामग्री नेपाली सेनालाई उपलब्ध गराउने जानकारी रक्षामन्त्रीले गएका थिए । ‘१५ करोड आरएमबी बराबरको सैन्य सामग्री छिट्टै नेपाली सेनालाई प्राप्त हुने जानकारी चिनियाँ रक्षामन्त्रीज्यूले दिनुभएको छ’, नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले भने । विगतको सहमतिअनुसार नै सामग्री आउन लागेको उनले जानकारी दिए ।

प्रतिक्रिया