सहायक प्रशिक्षकमा कटुवाल नियुक्त

काठमाडौं । कोरोना रिपोर्ट नेगेटिभ भएका राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित, उपकप्तान दीपेन्द्र ऐरी र रोहित पौडेल क्यानले सञ्चालन गरिरहेको बन्द प्रशिक्षणमा सहभागी भएका छन् । तीन क्रिकेटर र स्टाफ प्रदीप लामाको गत मंगलबार गरिएको पीसीआर परीक्षणमा पोजेटिभ देखिएको थियो । पछिल्लो पटक गरिएको पीसीआर परीक्षणमा भने सबै चार जनाको रिपोर्ट नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटिभ आएपछि कप्तान मल्लसहित तीन खेलाडी क्याम्पमा समावेश हुन लागेका हुन् । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार विज्ञप्ती जारी गर्दै कोरोना रिपोर्ट नेगेटिभ आएका तीन खेलाडीले क्याम्प जोइन गर्ने जनाएको छ ।

क्यानले पीसीआर परीक्षण गर्नुअघि नै पोजेटिभ रिपोर्ट आएका बसन्त रेग्मी र शनिबार पोजेटिभ रिपोर्ट आएका सन्दीप लामिछाने भने आइसोलेसनमा बसिरहेका छन् । यस्तै कुशल मल्ल कक्षा १२ को परीक्षा चलिरहकोले क्याम्पमा उपस्थित भएका छैनन् । व्यक्तिगत र पारिवारिक कारण देखाउँदै शरद भेषावकर र सुबास खकुरेल बन्द प्रशिक्षणमा उपस्थित छैनन् ।

गत मंगलबार क्यानले गरेको कोरोना परीक्षणमा अनुपस्थित रहेका करण केसी पनि क्याम्पमा समावेश भइसकेका छन् । यस्तै क्यानले नयाँ थप गरेका ५ मध्ये अनिल शाह, विक्रम सोब र रित गौतम पनि क्याम्पमा उपस्थित भइसकेका छन् । यसैगरी क्यानले पूर्व राष्ट्रिय क्रिकेटर तथा नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटुवाललाई क्याम्पको सहायक प्रशिक्षकको रुपमा समावेश गरेको छ । उनले जगत टमाटालाई सहयोग गर्नेछन् । यस्तै क्यानले राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकको नाम पनि केही दिनमै घोषणा गर्दैछ । क्यानले प्रशिक्षक पदका लागि तिहारअघि नै १२ जनासंग अन्तर्वार्ता लिएको थियो ।

प्रतिक्रिया