२ करोड ३२ लाखमा बन्यो प्रहरीको अत्याधुनिक भवन

काभ्रे । जिल्लाको भुम्लु गाउँपालिकामा प्रहरीको अत्याधुनिक भवन बनेको छ । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा भुम्लु गाउँपालिका–७ को फलाटेमा बनेको नवर्निमित प्रहरी चौकी भवनको आइतबार उद्घाटन गरिएको छ ।

प्रदेश प्रहरी भौतिक पूर्वाधार शाखाका प्रहरी निरीक्षक बिमलादेवी श्रेष्ठले फलाटे प्रहरी चौकी दुई करोड ३१ लाख ७० हजार रुपैयाँमा निर्माण सम्पन्न भएको जानकारी दिइन् । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले भवनको उद्घाटन गर्दैे शान्ति सुरक्षा बिना विकास असम्भव रहेको बताए ।

उनले मुलुकलाई समृद्ध बनाउने हो भने शान्ति सुरक्षा आवश्यक रहेको बताए । उनले मुलुकलाई सुशासन, समृद्धि र विकास गर्न शान्ति सुरक्षालाई प्राथमिकता दिन जरुरी रहेको बताए । विकाससँगै शान्ति सुरक्षा जोडिने भन्दै त्यसका लागि प्रदेश सरकारले सुदृढ र सक्षम प्रहरी निर्माणमा जोड दिँदै आएको बताए ।

उनले बागमती प्रदेश सरकारले प्रदेशका १० जिल्लाका ४७ प्रहरी भवन निर्माण गरिरहेको र अझै अपुग भएका ३७ भवन थपका लागि कार्य अगाडि बढाइरहेको बताए ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख बसन्तकुमार लामाले बागमती प्रदेश सरकारले ठूलो संख्यामा प्रहरीहरुको संरचनाहरु निर्माण गरेको बताउँदै एकै वर्षमा ४७ वटा संरचना निर्माणधिन रहेको र ३७ वटाको लागि बजेट व्यवस्थापन गरिएको बताए ।

कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य लक्ष्मण लम्साल, भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवर, काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख बसन्तकुमार लामा लगायतले शान्ति सुरक्षाका लागि भौतिक संरचना निर्माण महत्वपूर्ण भएकाले प्रदेश सरकारको उक्त कदम उपयुक्त भएको बताए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविकुमार पौडेलले बागमती प्रदेश सरकारको सहयोगमा ६ प्रहरी चौकी र दुई इलाका प्रहरी कार्यालय बनिरहेको जानकारी दिए । कार्यक्रममा जग्गा उपलब्ध गराउने तथा भवन निर्माणमा सहयोग गर्नेहरुलाई मन्त्री जम्कट्टेलले प्रमाणपत्र दिएर सम्मान गरेका थिए ।

प्रतिक्रिया