यस्तो छ, काठमाडौं आउँदै गरेका चिनियाँ रक्षामन्त्रीकाे कार्यक्रम तालिका

काठमाडौं । चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे आज नेपाल आउँदैछन् ।केही घण्टाका लागि काठमाडौं आउन लागेका उनले उच्चस्तरीय भेटवार्ता गर्नेछन् । त्यसपछि उनी आजै काठमाडौंबाट फिर्ता हुनेछन् ।

यस्तो छ चिनियाँ रक्षामन्त्रीको कार्यक्रम

चिनियाँ रक्षामन्त्री फेङ्हे चार्टर्ड विमानबाट काठमाडौं आउन लागेका हुन् । उनी बिहान १० बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् । विमानस्थलबाट उनी सीधै बालुटारस्थित चिनियाँ दूतावासमा जानेछन् । त्यहाँ केहीबेर आराम गरेपछि उनी भेटवार्ताका लागि निस्किने छन् । सबैभन्दा पहिले उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट्ने कार्यक्रम छ । उनी दिउँसो दुई बजे जंगीअड्डा पुग्ने छन् ।

सबैभन्दा पहिले जंगीअड्डामा नेपाली सेनाको टोलीले चिनियाँ रक्षामन्त्री फेङ्हीलाई सम्मानगारथ अर्पण गर्ने छ । त्यसपछि उनले प्रधानसेनापति थापालाई शिष्टाचार कल (अफिस कल) गर्ने छन् । त्यसपछि चिनियाँ टोली र प्रधानसेनापति थापासहितको नेपाली सेनाको टोलीबीच द्विपक्षीय छलफल हुने छ ।

जंगीअड्डापछि उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्ने छन् । बालुवाटारपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने छन् । राष्ट्रपतिलाई भेटेपछि उनी सीधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया