मत-विमत

महामारीमा मातृ तथा नवजात शिशु सेवाको पहुँच

डा. आशिष केसी २०७७ मंसिर १४ गते ७:२० मा प्रकाशित

डा. आशिष केसी

महामारी अझै केही समय रहने प्रायः निश्चित भएका कारण महिला तथा नवजात शिशुको स्वास्थ्य तथा स्याहारसम्बन्धी सेवाहरू पायक पर्ने स्वास्थ्य संस्था वा समुदायमै कसरी पु¥याउने भन्ने अन्तरिम योजना बनाउनु जरुरी देखिन्छ ।

विश्वभर गतवर्ष करिब १४ करोड नवजात शिशु जन्मिए, जसमध्ये करिब ६० प्रतिशत शिशुको जन्म स्वास्थ्य संस्था वा दक्ष प्रसूतिकर्मीको सहायतामा भयो । यसलाई २० वर्षयता मातृ तथा नवजात शिशु स्याहारमा भएको उल्लेखनीय उपलब्धिका रूपमा लिन सकिन्छ । सन् २०१४/०१५ मा पश्चिम अफ्रिकी मुलुकहरूमा इबोला प्रकोप भएको समयमा मातृ तथा नवजात शिशु सेवामा करिब ३५ प्रतिशतले कमी आएको थियो । कोभिड–१९ महामारीको समयमा पनि त्यस्तै किसिमको सेवाको अवरुद्धता हुनसक्ने अनुमान महामारीको सुरुआती चरणमै गरिएको थियो । विशेषगरी, कोभिड संक्रमण घटाउनका लागि गरिने प्रयासहरूले नियमित सेवाहरूलाई अवरुद्ध पार्ने गर्छ । मातृ तथा नवजात शिशुको गुणस्तर स्याहारका लागि ०१९ सालबाट देशका विभिन्न नौ वटा अस्पतालमा गुणस्तर सुधार कार्यक्रम लागू भइरहेको छ । कोभिड–१९ महामारीलाई न्यूनीकरण गर्न गरिएको देशव्यापी बन्दाबन्दीले गर्भवती आमा र नवजात शिशुको स्वास्थ्यमा के–कस्ता असर भएका छन् र हुन सक्छन् भन्ने अड्कलबाजी आममानिस र सबै सरोकारवालाहरूमा रह्यो । यही जिज्ञासालाई मेटाउन सिंगो विश्वमै कोभिडको सन्त्रास फैलिएको बखतमा एउटा अनुसन्धानमूलक अध्ययन गर्नु हाम्रो लागि चुनौतीपूर्ण रह्यो ।

यसै अनुसार, देशका विभिन्न नौ वटा अस्पतालमा Prospective Observational Surveillance बाट २० हजारभन्दा बढी आमाहरूमा गरिएको अध्ययनमा आधारित रही बन्दाबन्दीको अघिल्लो पाँच महिनामा मातृ तथा नवजात शिशु स्याहारमा परेका असरहरूलाई ‘द ल्यानसेट ग्लोबल हेल्थ’ जर्नलमा गत अगस्ट महिनामा प्रकाशित गरी स्थितिबारे अवगत बनाउने प्रयास गरियो ।

यो लेखको उद्देश्य सो अध्ययनसँग सम्बन्धित भएर गरिएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विष्लेषणहरूलाई मनन गर्ने तथा द ल्यानसेट ग्लोबल हेल्थमा अघिल्लो हप्ता यो अध्ययनसँग सम्बन्धित छापिएका पाठकपत्रहरू र हाम्रो प्रतिपत्रको समीक्षा गर्दै कोभिड–१९ महामारीको बेला मातृ तथा नवजात शिशु स्याहारका लागि थप कार्यहरू गर्न आवश्यक भएको कुराप्रति अवगत गराउनु हो । कुनै पनि अनुसन्धानमूलक अध्ययनहरू सम्बन्धित विषय विशेषज्ञबाट स्वतन्त्र रूपमा गरिने समीक्षा प्रक्रियाबाट प्रकशित गरिन्छ भने पाठकपत्रहरूलाई त्यो प्रक्रियामा लगिँदैन ।

हामीले अध्ययन गरेको विधि प्रोस्पेकटिभ अवलोकनात्मक कोहोर्ट अध्ययन हो । महामारीको बखतमा यस्तो अध्ययनलाई सबैभन्दा मान्यताप्राप्त मानिन्छ किनभने यस्ता अध्ययनहरूमा लामो समयसम्म आफूले अध्ययन गरेको संस्थाको अवलोकन तथा समीक्षा गरिएको हुन्छ । यो अध्ययनसँग मिल्ने निष्कर्षहरू भारत र दक्षिण–पूर्वी एसियामा पनि देखिएका छन् ।

हाम्रो अध्ययनले तीन वटा मुख्य निष्कर्ष निकालेको छ, (१) महामारीको बेलामा अध्ययन गरिएका अस्पतालहरूमा सुत्केरी गराउने महिलामा ५० प्रतिशतले कमी आएको छ । (२) अध्ययन अवधि भित्रमा जो महिला अस्पतालमा प्रसूति गराउन आएका छन्, उनीहरू पहिलेको महिलाको अनुपातमा प्रसवसम्बन्धी बढी जटिलताको अवस्थामा अस्पताल पुगेका छन् र, (३) प्रसवसम्बन्धी जटिलताको कारणले भ्रूण मृत्युदर तथा नवजात शिशु मृत्युदरमा वृद्धि भएको पाइएको छ ।

यो अध्ययन प्रकाशित भइसकेपछि गत हप्ता हामीले तीन वटा पाठकपत्र पायौँ, जसको प्रतिजवाफ पनि द ल्यानसेट ग्लोबल हेल्थ जर्नलमै प्रकशित भएको थियो । यी पाठकपत्रहरू बेलायत, भारत र नेपालबाट प्राप्त भएका थिए । सबै पाठकपत्रको सार बन्दाबन्दीको अवस्थामा किन संस्थागत प्रसूति प्रतिशतमा कमी आयो र मृत्युदरमा वृद्धि भयो भनेर अनुमान गरिएको थियो । यी सबै पाठकपत्रको अनुमान मननयोग्य छन् र यिनले थप अनुसन्धानको आवश्यकतातर्फ इंकित गर्दछन् ।

नेपालबाट प्राप्त पाठकपत्रमा स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआइएस) को आधारमा बन्दाबन्दीको साढे नौ हप्ताको समयमा ३२ दशमलव ६ प्रतिशतले गिरावट आएको देखिन्छ भने बन्दाबन्दीभन्दा अगाडि २४ दशमलव ५ ले गिरावट आएको देखिन्छ । महामारीको बखतमा सबै रिपोर्टिङ युनिटबाट रिपोर्टिङ हँुदैनन् भन्ने कुरा धेरै वटा अध्ययनले देखाइसकेका छन् । यसका साथै, स्वास्थ्य सेवा विभागको व्यवस्थापन माहाशाखाले २०१९ मा तीन वटा जिल्लामा स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीको जिल्ला कभरेज आँकलनको शुद्धता हेर्दा एचएमआइएस डाटाको मानक ‘स्वास्थ्य संस्थामा प्रसूति गराउनेको प्रतिशत’ वास्तविकभन्दा बढी रिपोर्टिङ पाएको थियो ।

अझ, ६ हजार स्वास्थ्य संस्थाका रिपोर्टिङ युनिटबाट एचएमआइएसको समयमै रिपोर्टिङ हुने सम्भावना कति छ भनेर हामी पहिलेका वर्षहरूमा भएका रिपोर्टिङहरूका आधारमा अनुमान लगाउन सक्छौँ । यसबाहेक, महामारीको बेलामा प्राइभेट क्षेत्र (दुई हजार रिपोर्टिङ युनिट) बाट कति रिपोर्टिङ भयो, त्यो थप अध्ययनको विषय हो ।

यो अध्ययन तथा पाठकपत्रहरूले तीन वटा रणनीतिक क्षेत्रहरूमा कोभिड–१९ पश्चातको अवस्थामा थप केही काम गर्नुपर्ने देखिन्छ । पहिलो, नियमित तथा सही रिपोर्टिङ प्रणालीको सुधार गर्नुपर्ने, दोस्रो, समुदाय परिचालन गरी महिला तथा परिवारलाई सुरक्षित मातृत्वका लागि स्वास्थ्य संस्थामा ल्याउनुपर्ने तथा तेस्रो, मातृ तथा नवजात शिशु सेवाको गुणस्तर वृद्धि गर्नका लागि स्वास्थ्य संस्थामा गुणस्तर सुधार कार्यक्रम विकास तथा लागू गर्नुपर्ने देखिन्छ । महामारी अझै केही समय रहने प्रायः निश्चित भएका कारण महिला तथा नवजात शिशुको स्वास्थ्य तथा स्याहारसम्बन्धी सेवाहरू पायक पर्ने स्वास्थ्य संस्था वा समुदायमै कसरी पु¥याउने भन्ने अन्तरिम योजना बनाउनु जरुरी देखिन्छ ।

हामीले अध्ययन गरेको स्वास्थ्य संस्थामा नआएका बिरामीहरू अन्य स्वास्थ्य संस्थामा गए र सुरक्षित तवरले प्रसूति गराए भन्ने अनुमान गर्न त सकिन्छ तर यसमा ढुक्क भएर बस्न भने सकिँदैन । गर्भवती महिलाको मानसिक अवस्था महामारीको बेलामा अझ विच्छिप्त हुने भएकोले उनीहरूलाई सो समयमा थप सेवा तथा सहयोगको आवश्यकता पर्छ ।

द ल्यानसेट ग्लोबल हेल्थजस्ता जर्नलले अनुसन्धानमूलक तथा विविधतायुक्त, महिला सहभागिता तथा वैज्ञानिक आधारस्तम्भमा आधारित भएमा मात्र लेखहरू प्रकाशन लायक हुने ठान्छन् । महिला स्वास्थ्यको बारेमा लेख्दा महिला अनुसन्धानकर्तासमेत हुनुपर्छ भन्ने विश्वव्यापी सोचलाई द ल्यानसेट ग्लोबल हेल्थजस्ता जर्नलले आत्मसात गरेको पाइन्छ ।

हामीलाई प्राप्त पाठकपत्रमा पनि महिला अनुसन्धानकर्ता र विशेषज्ञ भएको भए अझ सराहनीय हुने थियो । हामीले अझै थप अन्वेषण सहभागितामूलक तरिकाबाट स्वास्थ्य संस्थामा कसरी प्रसूतिका लागि ल्याउने तथा स्वास्थ्य संस्थाको गुणस्तर कसरी सुधार गर्ने भन्नेबारे बहस तथा विचार विमर्श गर्न जरुरी छ । अन्त्यमा, सबै प्रभावशाली अनुसन्धानहरूको उद्देश्य नीति निर्माताहरूलाई वैज्ञानिक तथ्य प्रस्तुत गरेर रणनीतिक तवरले कार्यक्रम तर्जुमा तथा मार्गनिर्देशन गर्ने रहेको हुन्छ । यस अनुसन्धानले महामारी तथा बन्दाबन्दीको समयमा समेत मातृ तथा नवजात शिशु सेवाको पहुँच नियमित तथा निरन्तर रूपमा प्रवाह हुन सकेमा मात्र महिला तथा शिशुको जीवन रक्षाको सुनिश्चितता हुने कुरा उजागर गरेको छ ।

(डा. केसी पेरिनेटल इपिडेमियोलोजिस्ट तथा उप्साला युनिभर्सिटी, स्विडेनका पोस्ट–डक्टरेट अनुसन्धानकर्ता हुन्)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय