‘घरेलु उद्योग समृद्धिका आधार’

अर्घाखाँची । राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का उज्वलले घरेलु तथा साना उद्योग समृद्धिको आधार भएको बताए । अर्घाखाँची चप्पल उद्योगको सन्धिखर्क नगरपालिका–१२ भद्राचौरमा उद्घाटन गर्दै उनले व्यावसायिक सोचको विकासको कार्यान्वयन स–साना उद्योगधन्दाबाट सुरु हुने बताए । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेतासमेत रहेका खड्काले आत्मनिर्भरतालाई बढाउन ससाना उद्योग घरेलु उद्योगको महत्वपूर्ण भूमिका हुने बताए । उनले अन्य युवाहरूले समेत फरक खालका व्यवसाय कम लगानीमै सञ्चालन गर्ने अभियान चलाउनुपर्नेमा जोडसमेत दिए ।

लुम्बिनी प्रदेशसभा सदस्य चेतनारायण आचार्यले अर्घाखाँची चप्पल उद्योगको स्थापनाबाट सिंगो नगरपालिका र जिल्लामा नयाँ आयाम थपिएको बताए । नेकपा जिल्ला कमिटी अध्यक्षसमेत रहेका नेता आचार्यले आर्थिक क्रान्तिका माध्यमबाट मुलुकको समृद्धि हुने बताए । उनले युवाहरू स्वरोजगार हुँदै अन्य युवालाईसमेत रोजगारी दिने खालका अभियानले प्राथमिकता पाएकोले राज्यको तर्फबाट साथ सहयोगका लागि विशेष कदम चालिने विश्वास दिलाए ।

सन्धिखर्कका नगरप्रमुख कमलप्रसाद भुसालले सन्धिखर्क नगरपालिकाभित्र नयाँ व्यवसायको सुरुआत भएको भन्दै सञ्चालक प्रकाश श्रेष्ठलाई धन्यबाद दिए । नगरप्रमुख भुसालले सन्धिखर्क नगरपालिकाले नगरको छुट्टै औद्योगिक ग्राम निर्माणको तयारीमा रहेको भन्दै नगरभित्रका उद्योगहरू सोही ठाउँमा राखिने बताए । नगर उपप्रमुख ठाकुर कुमार विक किशोरले सबै युवाहरूलाई आत्मनिर्भर र स्वरोजगार बन्न आग्रह गर्दै नगरभित्र स्थापना भएको उद्योगलाई नगरपालिकाले प्राथमिकताका साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सन्धिखर्क नगरपालिका–११ का वडाध्यक्ष धुर्वराज आचार्यले उद्योगको स्थापना भएसँगै युवाहरूलाई कम लगानीमा पनि स्वरोजगारीका अवशर सिर्जना गर्न सकिन्छ भन्ने सन्देश प्रवाह भएको बताए । उद्घाटन समारोहमा समाजसेवी रामबहादुर विक, लोकहरी श्रेष्ठ, सूर्योदय बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जिवलाल श्रेष्ठ, राष्ट्रिय युवा परिषद्का जिल्ला अध्यक्ष लिलबहादुर विक, पत्रकार मधुकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका जिल्ला सदस्य वसन्त श्रेष्ठ लगायतले उद्योगको सफलताको शुभकामना व्यक्त गरेको आयोजकले जानकारी दिए ।

आपूmसँगै अन्य युवाहरूलाई पनि आत्मनिर्भर बनाउन व्यवसाय सञ्चालन गरेको सञ्चालक युवा व्यवसायी प्रकाश श्रष्ठले बताए । भन्डै चार लाखको लगानीमा सञ्चालन गरिएको उक्त उद्योगमा दैनिक तीन जना जनशक्तिबाट दुई सय थानसम्म चप्पल उत्पादन गर्न सकिने श्रेष्ठले जानकारी दिए ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया