ढुंगेधारासँगै स्थानीय संस्कृति लोप हुने खतरा

संस्कृति र सभ्यताको चिनोका रूपमा रहेका मकवानपुरको थाहा नगरपालिकाका ऐतिहासिक तथा कलात्मक ढुंगेधाराहरू लोप हुने अवस्थामा पुगेका छन् । विभिन्न समयको बाढी–पहिरो, भूकम्पले बिगारेका धाराहरू आर्थिक स्रोतको अभाव र स्थानीयमा संरक्षण अभावका कारण यस्तो हुन पुगेको हो । यसका साथै राजकुलो संरक्षणको अभाव, खानेपानीको नयाँ प्रविधिको विकास र उचित सरकारी योजनाको अभावमा थाहा नगरका ढुंगेधाराहरू लोप हुने स्थितिमा पुगेका हुन् ।

थाहा नगरमा रहेका कतिपय लिच्छविकालीन ढुंगेधाराहरू आफैँ तिर्खाएको अवस्थामा छन् भने कतिपयमा तिरतिर पानी झर्ने भए पनि प्रयोगमा आउन सकेको छैनन् । यसरी यहाँका ढुंगेधाराहरू अहिले अस्तित्वमा नै छैनन् भन्दा पनि हुन्छ ।थाहा नगरमा प्राचीन नेवार बस्तीहरू रहेको ठाउँमा ढुंगेधाराहरू रहेको पाइएको छ । वडा–१ को कुन्छाल, कुलगाउँ र ओखरबजारस्थित नेवार बस्तीमा ऐतिहासिक ढुंगेधाराहरू रहेका छन् । त्यसैगरी वडा–२ को पालुङ सहर, वडा–३ को गोपाली बस्ती, वडा–६ को पापुङ, कोट डाँडा, नारायण थान, ढल्ट, भूतडाँडामा परम्परागत ढुंगेधाराहरू रहेका छन् । वडा–९ चित्लाङको टुपीखेल, कुचुबु, माझगाउँ, गोल भाः, कुश्लेचौर, नयाँ पौवा र सिरान पौवामा ऐतिहासिक ढुंगेधाराहरू रहेको स्थानीय शान्तलाल नेवाःले बताए । त्यसैगरी वडा–१० को विसिंखेल, न्हुल गाउँ, तल्लो बिसिंखेल, टौखेल, कलाँटो र सिसिण्डोलमा ढुंगेधाराहरू रहेका छन् । अस्तित्वको संकटमा परेका समेत गरेर थाहा नगरपालिकाका ३५ स्थानमा ४६ भन्दा बढी परम्परागत ढुंगेधारा रहेका छन् ।

यस्तै वडा–१ कुन्छालस्थित ऐतिहासिक गोपालीबस्तीमा रहेको ढुंगेधारामा राखिएको शिलालेखअनुसार सो ढुंगेधारा नेपाल सम्वत् ८३३ मा निर्माण गरिएको थियो । फोसिँ मि परिवारले निर्माण गरेको हुँदा सो धारालाई स्थानीयहरूले फोसिँ हिटी भन्ने गर्दछन् । कुशे औँशीको अघिल्लो दिन जुवा चेँ अर्थात् नारायण देवता उत्पन्न भएको दिन मानेर स्थानीयहरूले हरेक वर्ष ढुंगेधारामा पूजा गर्ने गर्दछन् भने पूजापछि भोजसमेत गर्ने गरेको स्थानीय शिक्षक निराजन गोपालीले बताए । सो दिन गाउँका सबैले त्यही धारामा नुहाउने गरेको प्रचलनसमेत छ । ०७२ सालको विनासकारी भूकम्पले मुहानमा पानी सुकेपछि ढुंगेधारामा पनि पानी बग्न छोड्यो । त्यस धारामा यस वर्षबाट पुनः तिरतिर पानी झर्न त थालेको छ तर पहिलेजस्तो भने आउँदैन ।

कुन्छालकै अर्को टोलमा रहेको ऐतिहासिक ढुंगेधारा अहिले अस्तित्वमै छैन । ग्रामीण सडक निर्माणको क्रममा गतवर्ष उक्त धारा पुरिएपछि ढुंगा निकालेर राखिएको छ । गाउँमा भित्रिने प्रत्येक नवदुलहीले पहिलोपटक सो धारामा नुहाउनै पर्छ भन्ने मान्यता रही आएको छ । ढुंगेधारा मासिएपछि अहिले नवदुलही नुहाउने प्रचलन पनि हराएको निराजन गोपालीले बताए । थाहा नगरिपालिका–१ को कुलगाउँमा ढुंगेधारा रहेकोले सो टोललाई अहिले पनि मानिसहरूले हि छेँ भन्दछन् । नेवारी भाषामा हि छेँ भन्नाले धाराटोल भन्ने बुझिन्छ । तर, अहिले टोलमा ढुंगेधारा देख्न सकिँदैन । थाहा–१ का वडाध्यक्ष हेरमान गोपालीका अनुसार पानी खस्ने कलात्मक ढुंगा निकालेर राखिएको छ ।

वडा–१ कै ओखरबजारमा पाँच ओटा ढुंगेधारा रहेकोमा तीन ओटामा पानी आउँदैन । ओखरबजारस्थित नारायणथानमा रहेको कलात्मक ढुंगेधारा सुकेको छ भने कलात्मक ढुंगाको छेउमा स्थानीयहरूले कहिलेकाहीँ हँसिया उध्याउने गरेका छन् । पहिले गाउँभरिका मानिसहरूलाई पानी पु¥याउने सो धारामा पानी सुकेको २५ वर्षभन्दा बढी भएको स्थानीय गणेशमान श्रेष्ठले बताए । ओखरबजारकै अर्को टोलमा रहेको जोर ढुंगेधारामा खलल पानी आउने भए पनि स्थानीयहरूले सो पानी पिउन छोडेका छन् । ०५० सालमा आएको बाढीले धारा नै बगाएपछि ०६२ सालमा अर्को धारो बनाएर पानी खसालिएको छ । ओखरबजारकै गणेश स्थानमा रहेका दुई ओटा धारा पानीको अभावमा काकाकुल बनेका छन् ।

थाहा नगरपालिका–२ स्थित पालुङ सहरमा रहेका दुई वटा ढुंगेधारा जीर्ण अवस्थामा पुगेका छन् । स्थानीय तोयापानी प्रधानले ४२ मौजाका जिम्मावाल रहेको बेला २००२ सालमा सो ढुंगेधारा निर्माण गरेका थिए । दुबै धारा सुकेर जीर्ण भएपछि अहिले बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा संरक्षण योजना अघि सारिएको राजु नापितले बताए ।

ऐतिहासिक गोपालीहरूको बस्ती सुरु भएकै बेलातिर निर्माण गरिएको मानिएको थाहा–३ को सेतीगणेश मन्दिरसँगै रहेको ऐतिहासिक ढुंगेधारालाई भने स्थानीयहरूले सदुपयोग गरिरहेका छन् । ं१९९० सालमा गएको विनासकारी भूकम्पले मन्दिर भत्किएपछि १९९३ सालमा पुनर्निमाण गरिएको थियो । स्थानीयहरूले धाराको संरक्षण गरिरहे पनि सोही ठाउँमा रहेको मन्दिर, भजन पाटी र बस्तीलाई समेत समेटेर सम्पदा संरक्षणको कार्यक्रम सञ्चालन गर्नुपर्ने स्थानीय सकुन्तला गोपालीको भनाइ छ ।

थाहाकै वडा–६ स्थित नारायण थानमा रहेको ढुंगेधाराको पानी अहिले पनि स्थानीय कुश्ले जातीका मानिसहरूले प्रयोग गर्ने गर्दछन् । ढल्ट र पापुङको माथिल्लो टोलमा रहेका धाराहरूमा पनि पानी छ तर उचित संरक्षणको अभाव छ । कोटडाँडा र भूतडाँडामा धारा रहेपनि पानी आउँदैन । जरुङखोलामा रहेको कलात्मक ढुंगेधारा माथिबाट लेदो माटो बगेर पुरिएको अवस्थामा छ भने पापुङमा रहेको पुरानो धारा जीर्ण बनेको छ । कलात्मक धारा निकालेर राखिएको छ भने धारा रहेको स्थान झारले पुरिएको अवस्थामा छ । त्यससँगै रहेको अर्को ढुंगेधारा लोप नै भइसकेको स्थानीय ७७ वर्षीय ओमकृष्ण महर्जनले बताए ।

महर्जनका अनुसार गाउँभरिका मानिसहरूले पानी पिउने ‘पुरानो धारा’ कहिले निर्माण भयो भन्ने कसैलाई थाहा नभए पनि उनको पूर्खाकै पालादेखि जनैपूर्णिमामा ढुंगेधाराको पुजा गर्ने गरिन्थ्यो । धारामाथि दुई वटा मूर्तीसमेत रहेको सो ढुंगेधारामा माटोकै पाइपबाट पानी ल्याएर खसालिएको थियो । पापुङको माथिल्लो टोलमा रहेको च्वे हिटी अर्थात् माथिको धारा पञ्चायतकालमा प्रधानपञ्चको घरबाट ढुंगेधारा ल्याएर निर्माण गरिएको ७२ वर्षीय मंगलदास बलामीले बताए ।

थाहा नगरपालिकाको–९ चित्लाङ सात धारा, गुर्जुधारा र पाँच धारा आदिले प्रख्यात छ । स्थानीय खोजकर्ता एवं जानकार शान्तलाल नेवाका अनुसार टुपीखेलमा रहेको दुई वटा ढुंगेधारा लिच्छवी राजा अंशुबर्माका छोरा उदयदेवले निर्माण गरेका थिए । नेपाल सम्वत् ९१४ मा राजाराम भन्ने व्यक्तिले सो ढुंगेधाराको जीर्णोद्वार गरेका थिए । मूर्तिहरू र धर्मशालासमेत रहेको ढुंगेधारामा ०७२ सालको भूकम्पपछि पानी सुकेकामा अहिले फेरि पानी आउन थालेको छ । टुपीखेल नजिकै देउला टोलका मानिसहरूले प्रयोग गर्ने एउटै मुहान भएको पाँच धारा रहको छ । ०७२ सालको भूकम्पका कारण पाँच ओटा धाराको स्रोतको पानी जमिनमुनि दबिएपछि स्थानीय पाँच धारा देउला समाज समितिले उत्खनन् गरी संरक्षण गरेको छ । अहिले पाँच वटै धारामा पानी आइरहेको छ ।

थाहा–९ को कुचुवुमा रहेको नारायण हिटी नेपाल सम्वत् ६०० तिरै निर्माण गरिएको मानिन्छ । १५औँ शताब्दीमा पाटनका राजा विष्णुसिंह महापात्रले नारायण हिटी निर्माण गरेको शान्तलाल नेवाःले बताए । स्थानीयहरूले सो धाराको सदुपयोग गरिरहेका छन् । धारानजिकै नारायणको मन्दिर पनि छ । थाहाको चित्लाङस्थित माझगाउँ ढुंगेधारा र गोल भाः को सात धारा निकै ऐतिहासिक मानिन्छ । राजा अंशुबर्माका छोरा उदयदेवको शिलालेख चित्लाङमा भेटिएकाले यी धाराहरू पनि त्यसैबेला बनेको स्थानीयहरूको अनुमान छ ।

काठमाडौंको स्वशासित क्षेत्रको रूपमा रहेको चित्लाङ–टिस्टुङ–पालुङ क्षेत्रको राजकाज गर्ने गरी राजा उदयदेवले हाल सातधारा रहेको क्षेत्रमा दरवार बनाएको र सोही क्रममा सात धारा निर्माण गरेको शान्तलाल नेवाःले बताए । पौराणिक कथनअनुसार भने द्वापरयुगमा शोणितपुर भनिने हालको थानकोट क्षेत्रलाई राजधानी बनाएर राजा वाणाशुरले शासन गर्दथे । वाणाशुर आफ्नो रानीसहित मेल चोँ अर्थात् मृगस्थली डाँडामा विहार गर्न आउने क्रममा उनको पुत्री उषामायालाई स्नान गर्नका लागि सात धारा निर्माण गरिएको थियो ।

चित्लाङको नयाँ पौवा र सिरान पौवामा पनि ढुंगेधाराहरू रहेका छन् । शिवरात्रीमा यात्रीहरूलाई सर्वत दान गर्ने भएकोले यसलाई सरावत पौवा भनिन्छ । सिरान पौवाको ढुंगेधारा राजा पृथ्वीनारायण शाहका प्रमुख सेनापति अभिभानसिंह बस्न्यातको निधनपछि उनकी पत्नीले निर्माण गरेको मानिन्छ । सो ढुंगेधारा गुर्जुधाराको नामले प्रख्यात छ । परापूर्व कालदेखि ‘गुरुज्यू’हरूले स्नान गर्ने भएकोले यो धारालाई गुर्जुधारा भनिएको स्थानीय बुद्धिजीवी बुधरत्न मानन्धरले बताए । महाकवि लक्ष्मीप्रसाद देवकोटाले उनको चर्चित ‘यात्री’ कविता सोही ढुंगे धारामा बसेर लेखेको मानिन्छ । प्रदेश सरकारअन्तर्गत सिँचाइ डिभिजन कार्यालयले गुर्जुधारा, सातधारा र चित्लाङ राजकुलोको जीर्णोद्धार सुरु गरेको छ ।

थाहा–९ को कुश्लेचौरमा पनि सरस्वती र गणेशको मूर्तिसहितको कलात्मक ढुंगेधारा रहेको छ । यसैगरी थाहा–१० को प्रशिद्ध चम्पाकेश्वर मन्दिरसँगैको ढुंगेधारा अहिले लोप भइसकेको छ । कलाँटोमा पानी खस्ने ढुंगा निकालेर राखिएको छ भने टौखेल र सिसिण्डोलमा रहेको ढुंगेधाराबाट पानी झरिरहेको छ । तल्लो बिसिंखेलमा रहेको ढुंगेधारामा पाँच वर्षपछि पानी आएको छ । ०७२ सालको विनासकारी भूकम्कसँगै विसिंखेलको ढुंगेधारामा पानी सुकेको थियो ।

रुपासेखोलास्थित मुहानमा पानी आएसँगै ढुंगेधारामा पनि पानी आउन थालेको स्थानीय बासिन्दाले बताएका छन् । ढुंगेधारा नजिकै नागको थान रहेको र नजिकै दुईवटा ढुंगेधारा रहनुले स्थानीयले यो धारालाई विशेष महत्वको रूपमा लिँदै आएका छन् । दुईमध्ये एउटा धारा बाढीले पुरेर लोप भइसकेको छ । थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले नगरको ऐतिहासिकता बोकेका परम्परागत ढुंगेधाराहरूको उचित संरक्षण गरिने बताएका छन् ।

प्रतिक्रिया