प्रचण्डको नांगोरूप

छविलाल विश्वकर्मा ‘प्रकाण्ड’

०७ सालदेखि ०६२÷६३ सालसम्म नेपालको प्रगतिशील पुँजीवादी क्रान्ति र आन्दोलनमा भएका गद्दारी, धोका र प्रतिक्रान्तिले नेपाली जनतालाई आजित बनाएको छ । यसको पछिल्लो र चरमविन्दु नै माओवादी पार्टी, जनयुद्ध, देश र नेपाली श्रमजीवी जनताका विरुद्ध पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गरिएको प्रतिक्रान्ति, धोका र विसर्जन हो । जुन क्रान्ति, समाजवाद र कम्युनिस्ट पार्टीको आवरणमा गरिएको थियो र अध्यावधि जारी छ ।

 

नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन भएको ६ वर्ष पूरा भइसकेको छ । यो ६ वर्षमा के के उपलव्धी भए ? भन्ने लेखाजोखा सुरु हुनु स्वभाविकै हो । निश्चित हदसम्म वर्तमान विश्व कम्युनिस्ट आन्दोलनमा ऐतिहासिक महत्व राख्ने र विशेषतः नेपालको कम्युनिस्ट आन्दोलनमा महान् एवं निर्णायक पहलकदमीको प्रतिनिधित्व गर्ने हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन गरिएको छ वर्ष पूरा भएर मंसिर ८ गतेबाट सातौँ वर्षमा प्रवेश गरेको छ । नेपाल र नेपाली जनताको मुक्ति चाहने क्रान्तिकारी कम्युनिस्टहरू, सच्चा लोकतन्त्रवादीहरू, राष्ट्रवादीहरू, प्रगतिशील तप्काहरू र श्रमजीवी नेपाली जनताको निम्ति यो दिन निकै महान्, ऐतिहासिक र गौरवपूर्ण पर्वको दिन हो । यो महान् पर्वको दिनको उल्लासपूर्ण अवसरमा नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा नेपाली समाजमा सञ्चालित ‘एकीकृत जनक्रान्ति’, १० वर्षे ऐतिहासिक जनयुद्ध र ०७ सालदेखि नेपालको राजनीतिक आन्दोलनमा आफ्नो अमूल्य जीवन देश र नेपाली जनताको मुक्तिका निम्ति उत्र्सग गर्ने महान सहिदहरूप्रति उच्च सम्मानका साथ सगर्व भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

उहाँहरूको सपना पूरा गर्न पार्टीको नेतृत्वमा सञ्चालित एकीकृत जनक्रान्तिमा ‘स्वतन्त्रता या बलिदान’ को मार्ग रोजी रहने प्रतिबद्धता पनि व्यक्त गर्दछु । महान् सहिदहरूका आफन्तजनहरूमा हार्दिक समवेदना व्यक्त गर्दछु । बेपत्ता र घाइते योद्धाहरूको उच्च सम्मान र स्मरण गर्दछु । हाम्रो पार्टीका नेता कार्यकर्ता, वामपन्थी, सच्चा लोकतन्त्रवादी, राष्ट्रवादी, प्रगतिशील शक्ति र आमश्रमजीवी नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालको क्रान्ति, परिवर्तन र विकासमा यहाँहरूका पाइला अविरल अगाडि बढिरहने र हाम्रो पार्टी एवं एकीकृत जनक्रान्तिले यहाँहरूको निरन्तर साथ सहयोग पाइरहने विश्वास पनि व्यक्त गर्दछु । कुनै पनि देश र समाजमा गरिने क्रान्तिले आमूल परिवर्तनलाई सुनिश्चित गर्दछ । अतयव यो आफैँमा भीषण, निर्मम र कष्टसाध्य हुन्छ । क्रान्ति कठिन तर अनिवार्य सामाजिक प्रक्रिया भएको हुनाले यसले सापेक्षित समयावधि लिन्छ नै ।

ऐतिहासिक कालदेखि नेपाली समाजको क्रान्तिकारी रूपान्तरणको प्रक्रिया अवरुद्ध हुँदै आएको छ । १ सय ४ वर्षे जहानियाँ राणा र ३० वर्षे सामन्ती निरंकुश शासनका विरुद्धको प्रगतिशील पुँजीवादी क्रान्तिहरू पूरा हुन सकेनन् । राणा शासनको समूल नष्ट र ०१७ सालमा गरिएको निरंकुश सामन्ती प्रतिगमनका विरुद्ध निर्णायक क्रान्ति त्यो बेलाको नेपाली समाजको क्रान्तिकारी विकासको निम्ति वस्तुगत र ऐतिहासिक दुवै दृष्टिले आवश्यकता थियो । वि.सं. १९०३ (सन् १८४६) मा जंगबहादुर राणाले कोतपर्व घटाएर शासन हत्याएको बेला विश्व राजनैतिक परिस्थितिमा युरोप सामन्तवाद विरोधी पुँजीवादी क्रान्तिहरूको उभारमा थियो । १९औँ शताब्दीको पाँचौँ दशकको अन्त्य र छैठौँ दशकको सुरुवातीमा फ्रान्स, जर्मन, इटाली, अस्ट्रिया र हंगेरीमा महान् क्रान्तिकारी आन्दोलनहरू भइराखेका थिए । ०१७ साल (सन् १९६०) मा छिमेकी देश चीनमा श्रमजीवी जनताको नयाँ जनवादी क्रान्ति सम्पन्न भएर समाजवादी सत्ता अभ्यास गरिराखेको ११ वर्ष भएको थियो । भारतमा ब्रिटिस उपनिवेशका विरुद्धको स्वतन्त्रता संग्राम सम्पन्न भएको १३ वर्ष मात्र पार गरेको थियो । विश्व राजनीतिमा विश्व कम्युनिस्ट आन्दोलन प्रभावमा थियो । झण्डै एकतिहाई विश्वको भू–भागमा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न भएर सत्ता अभ्यास भइराखेका थिए ।

सोभियत कम्युनिस्ट पार्टी (बोल्सेभिक) र सोभियत सत्ताबारे अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र विश्व राजनीतिमा एउटा महान् विवाद चलिरहेको थियो । विश्व राजनीतिमा सामन्ती सम्राटवाद, महाराजावाद र उपनिवेशवादका विरुद्ध पुँजीवादी र क्रान्तिकारी आन्दोलनहरू शक्तिशाली रूपमा अगाडि बढिराखेको नितान्तै अनुकूल परिस्थितिमा पनि नेपालमा सन् १९५० (वि.सं. २००७) को जहानियाँ राणा शासनका विरुद्धको आन्दोलन र सन् १९६० (वि.सं. २०१७) को राजा महेन्द्रको निरंकुशतावादी ‘कु’ का विरुद्धको निर्णायक पुँजीवादी लोकतान्त्रिक क्रान्ति सफल हुन सकेनन् । उल्टै सन् १९५१ (वि.सं.२००८) सालमा राणासँग र सन् १९६० (वि.सं.२०१७) सालपछि महेन्द्र वा त्यस पछिका राजाहरूसँग सत्ता गठजोड गर्ने वा पञ्चायती व्यवस्थामा आफ्नो स्थानको याचना गर्ने गम्भीर राजनैतिक गल्तीहरू भए । परिणामतः ०४६ सालको जनआन्दोलनमा राजा वीरेन्द्रसँगको धोकापूर्ण सम्झौता यही विचार र प्रवृत्तिको उपज बन्न पुग्यो । ०७ सालको राणाशासन विरोधी नेपाली जनताको आन्दोलनमा मुख्य नेतृत्व गरिराखेको नेपाली कांग्रेसको पुँजीवादी प्रतिक्रियावादी सम्झौता परस्त प्रवृत्ति र चरित्रका कारण राणाशासनका विरुद्धको आन्दोलन प्रगतिशील पुँजीवादी क्रान्तिमा बदलिन सकेन भने राजा महेन्द्रको प्रतिगमन पछिका आन्दोलनहरू ०४६ सालसम्म आउँदा पनि कम्युनिस्ट आन्दोलनमा पैदा भएको नांगो संशोधनवाद र राजा परस्त प्रकृतिका कारण सामन्ती राजतन्त्रका विरुद्ध सम्झौताहित पुँजीवादी जनवादी क्रान्तिमा बद्लिन सकेनन् ।

०४६ सालपछि नेपालको राजनीतिक इतिहासमा सत्ता सम्झौतावाद, धोखाधडीवाद, विचलनतावाद, पुच्छरवाद र नकच्चरो सुधारवादका खिलापमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा सञ्चालन गरिएको जनयुद्धमार्फत् २००७ सालदेखि कोपभाजनमा पर्दै आएको प्रगतिशील पुँजीवादी क्रान्तिलाई पूरा गरी नयाँ जनवादी हुँदै वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्ने लक्ष्य र उद्घोष गरिएको १० वर्षे जनयुद्ध (जसले सामन्ती राजतन्त्रको अन्त गरेको थियो) लाई ०६२÷०६३ सालपछि वार्ता र शान्ति प्रक्रियाको नाममा दलाल पुँजीवाद र संसदीय प्रतिक्रियावादमा समर्पण गराइयो । यो ०७ साल, ०३६ साल र ०४६ मा भएका प्रगतिशील पुँजीवादी र जनवादी क्रान्तिका विरुद्ध गरिएको षड्यन्त्र, धोका र समर्पणको पुनरावृत्ति मात्र थियो । जसको नेतृत्व माओवादी पार्टीतिरबाट पुष्पकमल दाहालले गरे ।

०७ सालदेखि ०६२/६३ सालसम्म नेपालको प्रगतिशील पुँजीवादी क्रान्ति र आन्दोलनमा भएका गद्दारी, धोका र प्रतिक्रान्तिले नेपाली जनतालाई आजित बनाएको छ । यसको पछिल्लो र चरम विन्दु नै माओवादी पार्टी, जनयुद्ध, देश र नेपाली श्रमजीवी जनताका विरुद्ध पुष्पकमल दाहालको नेतृत्वमा गरिएको प्रतिक्रान्ति, धोका र बिसर्जन हो । जुन क्रान्ति, समाजवाद र कम्युनिस्ट पार्टीको आवरणमा गरिएको थियो र अध्यावधि जारी छ । अहिले पनि नेपाली राजनीतिक आन्दोलनमा नयाँ क्रान्ति सञ्चालन गर्ने पार्टी र नेतृत्वका अगाडि नेपाली जनताको नजरमा डरलाग्दो आशंका र यक्ष प्रश्न खडा गरेको छ । नेपालको क्रान्तिकारी राजनीतिक आन्दोलन, नेपाली जनता र क्रान्तिको यस्तो अवस्थामा नेपाली समाजको क्रान्तिकारी रूपान्तरणको उद्देश्यसहित नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन, एकीकृत जनक्रान्तिको कार्यदिशा र वैज्ञानिक समाजवादी राजनीतिक कार्यक्रम अगाडि सारेर हामी पार्टी पुनर्गठन कालदेखि नै निरन्तर क्रान्तिको प्रक्रियामा छौँ । इतिहासमा राजनीतिक पार्टी र नेताहरूले क्रान्ति र राजनीतिक आन्दोलनको क्रममा घटाएका प्रतिक्रान्तिकारी, गद्दारी र धोकाजस्ता नकारात्मक परिघटनाहरूको जवाफ हाम्रो पार्टी र नेतृत्वले एकीकृत जनक्रान्तिमार्फत् सैद्धान्तिक र व्यावहारिक दुवै कोणबाट दिँदै आएको छ । परिणामस्वरुप कथित संघीय लोकतान्त्रिक गणतन्त्रले आभूषित वर्तमान दलाल पुँजीपति वर्ग, त्यसको राज्य सत्ता, दलाल संसदीय शासन व्यवस्था, यसको नेतृत्व गरिराखेको केपी ओली सरकार र दलाल नेताहरू अभूतपूर्व संकट, विघटन र लाजमार्दो असफलताले पूरै अनुहार लतपतिएका देशद्रोही र जनअपराधीतत्वको रूपमा नेपाली जनतासामु सर्वांग भएका छन् । यिनको मृत्युलाई उत्तर साम्राज्यवादी र साम्राज्यवादी मालिकले पनि रोक्न सक्ने छैनन् ।

राष्ट्रिय राजनीतिमा अहिले हाम्रो पार्टी दलाल पुँजीपति वर्गका संसदीय पार्टीको विकल्प बनेको छ । आमनेपाली श्रमजीवी जनताको आफ्नै विश्वासिलो प्रतिनिधि राजनीतिक पार्टी बन्दै गएको छ । एकीकृत जनक्रान्ति नेपाली जनताको आशा, विश्वास र मुक्तिको शक्तिशाली हतियार बन्दै गएको छ । हाम्रो पार्टीको जिम्मेवारी र नेपाली जनताको चाहना एकपछि अर्को पूरा हुँदै गएका छन् र तीव्रतामा पूरा हुँदै जाने पनि छन् । देशको विकराल र संकटग्रस्त अवस्थाले क्रान्ति शीघ्रातिशीघ्र निर्णायक होस् र दलाल पुँजीपति वर्ग एवं त्यसको राज्य व्यवस्थालाई नाश गरोस् भन्ने आमनेपाली जनताको अधैर्यता छ । ती दिन अब टाढा छैनन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वमा सम्पन्न हुने श्रमजीवी जनताको क्रान्तिका बहुआयामिक मोर्चाहरूमध्ये फौजी मोर्चा र जनसंघर्षको मोर्चा निर्णायक हुन्छन् । केपी ओली सरकारले हाम्रो पार्टी र एकीकृत जनक्रान्तिमाथि प्रतिबन्ध लगाएर फासीवादी दमन गरेको झण्डै दुई वर्ष पुग्न थाल्यो । प्रतिबन्ध र दमनका विरुद्धको प्रतिरोध संघर्षमा जनक्रान्तिले गरेको विकास, यसले पैदा गरेको जनसंघर्ष विकासको आवश्यकता र सडक संघर्षको नेतृत्व गर्न नेपाली जनताले पार्टीसँग गरेको मागलाई उच्च प्राथमिकतामा राखेर सडक संघर्षलाई अगाडि बढाउन खोजिएको हो ।

श्रमजीवी जनताको क्रान्ति र आन्दोलनहरूलाई शासक वर्गले दमन गरेर सिद्धाउँछु भन्नु पागलपूर्ण मूर्खता र आफ्नो चिहान आफैँ खन्नु हो । दमनले जनक्रान्ति र आन्दोलनहरू कतै पनि रोकिका छैनन् । सिद्धिएका पनि छैनन । गृहमन्त्री रामबहादुर थापाले हाम्रो पार्टी र क्रान्तिलाई दमन गर्नको निम्ति गृह प्रशासनलाई पछिल्लो समय गोप्य परिपत्र जारी गरेको सूचना पार्टीलाई प्राप्त भएको छ । गृहमन्त्रीले के कुरा बुझ्नुपर्छ भने यो नेपाली जनताको एकीकृत जनक्रान्ति हो र नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा सञ्चालित छ । यसलाई जिस्क्याउनु र यससँग खेल्नु भनेको आगोसँग खेल्नु हो । जनक्रान्ति दलाल पुँजीवादी राज्य व्यवस्थालाई धुलोपिठो पारेर विजयी बनेर छाड्ने छ । बरु समयमै आफ्नो गल्तीलाई सच्चाएर जनक्रान्तिलाई मद्दत गर्नु थापाको निम्ति हितकर हुनेछ । दमनको प्रतिरोध जनक्रान्तिको नियम र वस्तुगत आवश्यकता हो । दमनका विरुद्ध नै जनसंघर्ष सञ्चालन गर्ने हो । हामीले जनसंघर्षबाट प्रतिबन्ध र दमनलाई असफल पार्नेछौँ, जुन सम्भव र आवश्यक दुवै छ ।

प्रतिक्रिया