‘स्मार्ट’ बन्दै विद्युत् प्राधिकरण

काठमाडौं । तपाईँको घरमा के कति मात्रामा बिजुली खपत भयो र त्यसको शुल्क कति तिर्नुपर्ने भयो भन्ने कुराको जानकारी लिन अब नेपाल विद्युत् प्राधिकरणका कर्मचारी घरघरमा आउनुनपर्ने भएको छ । प्राधिरकणले पाइलट प्रोजेक्टका रुपमा काठमाडौँ उपत्यकाका ११ वितरण केन्द्रमध्ये पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र मातहतका ग्राहकमा सो स्मार्ट मिटर जडान शुरु गरेको छ । प्राधिकरणका अनुसार कोरोना कहरमा पनि निरन्तर काम भइरहेको र हालसम्म १५ हजार ग्राहकका घरमा स्मार्ट मिटर जडान सम्पन्न भइसकेको छ । विशेष गरी थ्री फेज विद्युत् लिएका ग्राहकको घरमा उक्त स्मार्ट मिटर जडान गरिएको छ ।

प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले स्मार्ट ग्रिड प्रणालीको अवधारणा अनुरुप हाल काठमाडाँै उपत्यकाममा स्मार्ट मिटर जडान तथा विद्युत्को तार भूमिगतको काम भइरहेको जानकारी दिए । रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत रहेका ग्राहकको ‘सर्भे’ सम्पन्न गरी मिटर जडान कार्य शुरु गरिसकेको छ र हालसम्म करिब १५,००० थान स्मार्ट मिटर जडान भइसकेको सिलवालले जानकारी दिए ।

एशियाली विकास बैंकको सहयोगमा प्राधिकरणले हाल काठमाडौँको रत्नपार्क तथा महाराजञ्ज विद्युत् वितरण केन्द्रमार्फत विद्युत् उपभोक्तालाई ‘एनइए डिजिटल क्याम्पेन’ अन्तर्गत स्मार्ट मिटरको जडान तथा वितरणको कामलाई तीव्र पारिएको छ । प्राधिकरणले पहिलो चरणमा एक लाख घरायसी ग्राहकलाई स्मार्ट मिटर दिने जनाएको छ । यो योजना सफल भइसकेपछि कतै समस्या देखियो भने कार्यालयमै बसेर विद्युत् अवरोध भएको स्थान पहिचान गर्न र समाधान गर्न सकिनेछ । उपकार्यकारी निर्देशक सिलवाले भने, ‘हामी स्मार्ट ग्रिडमा गयौँ भने हामीले कार्यालयको सञ्चालन तथा व्यवस्थापनको खर्चलाई कम गर्न सकिन्छ र अन्त्यमा त्यसले उपभोक्ताको विद्युत् खरिद मूल्य कम गरी उहाँहरुलाई साथै प्राधिकरणलाई पनि फाइदा पुग्छ ।’

एडिबीको सहुलियतपूर्ण ऋणमा प्राधिकरणले काठमाडाँै उपत्यकाका करिब ४० लाख पुराना मिटर परिवर्तन गरी नयाँ जडान गर्ने काम अघि बढाइरहेको छ । ग्राहकलाई सहज, सर्वसुलभ, भरपर्दो तथा किफायती विद्युत् आपूर्तिको आधुनिक सेवाका लागि नेपाल विद्युत् प्राधिकरण स्मार्ट ग्रिड प्रणालीको अवधारणामा प्राधिकरण अग्रसर भएको हो । विद्युत् उत्पादन, प्रशारण लाइन तथा वितरण प्रणालीलाई भरपर्दो विश्वस्तरीय बनाउनका लागि नवीनतम प्रविधि भित्र्याई नेपालको विद्युत् क्षेत्रलाई आधुनिक बनाउनका लागि प्राधिकरणले स्मार्ट ग्रिड अवधारणा अगाडि बढाएको हो ।

प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गुणस्तरीय, भरपर्दो र किफायती ऊर्जाका लागि स्मार्ट ग्रिडको अवधारणा अघि बढाएर काम शुरु गरिसकेको जानकारी दिए । विद्युत् उत्पादनदेखि उपभोक्ताको घरसम्म पुग्ने विद्युतको समग्र प्रणालीलाई एउटा विस्तृत ‘फ्रेमवर्क’ भित्र अटाउन सकिन्छ । संरचना निर्माणमा आधुनिक प्रविधिलाई जोड दिइएको छ भने उपभोक्ताको घरसम्मपुग्ने स्मार्ट मिटरलगायत काम तीव्र गतिमा अघि बढेको छ ।

स्मार्ट ग्रिडको शुरुआतका रुपमा नेपालमा स्मार्ट मिटरको जडान, विद्युतको ठूलो तथ्यांक विश्लेषण तथा सञ्चार, विद्युतीय सवारीको विस्तार, नीतिगत सुधारका पहल तथा अन्य धेरै विषयमा नेपाल सरकार तथा प्राधिकरणसँग सहकार्य अगाडि बढाइरहेको छ । – रासस

प्रतिक्रिया