बायर्न नकआउट चरणमा

लण्डन । यूईएफए च्याम्पियन्स लिगको साविक विजेता बायर्न म्युनिख शत प्रतिशत जितको नतिजा कायम राख्दै नकआउट चरणमा प्रवेश गरेको छ । प्रतियोगितामा लगातार १५ औं जित दर्ता गर्ने क्रममा बायर्नले बुधबार आरबी साल्ज्बर्गमाथि ३(१ को जित दर्ता गर्यो । घरेलु मैदानमा बायर्नले रोबर्ट लेवान्डोस्कीको गोलमा अग्रता लिएको थियो । ४३ औं मिनेटमा थोमस मुलरको प्रहार गोलरक्षकले बचाएपनि रिबाउन्डमा लेवान्डोस्कीले गोल गर्दै अग्रता दिलाएका थिए ।
दोस्रो हाफको ५२ औं मिनेटमा नै बायर्नले अग्रता दोब्बर पार्यो । किंग्सले कोमानको प्रहर म्याक्सिमिल्यन वेबरलाई लाग्दै गोल हुन पुग्दा साल्ज्बर्ग हारतर्फ उन्मुख देखिएको थियो । ६६ औं मिनेटमा मार्क रोकाले दोस्रो पहेंलो कार्ड पाएपछि बायर्न १० खेलाडीमा समेटिएको थियो ।

एक खेलाडी कम हुनका बाबजुद बायर्नले अग्रता बढायो । ६८ औं मिनेटमा कोमानको पासमा लेरोय सानेले हेडरमार्फत गोल गर्दै सहज जिततर्फ अग्रसर गराएका थिए । ७३ औं मिनेटमा साल्ज्बर्गका मेर्गिम बेरिशाले सान्तवना गोल गरे । समूहको अर्को खेलमा एटलेटिको म्याड्रि लोकोमोटिभ मस्कोसँग गोलरहित बराबरीमा रोकियो । एटलेटिकोले खेल अवधिभर बलमा पकड जमाउँदै आक्रमण बुनेपनि लोकोमोटिभको डिफेन्स तोड्न सकेन । ६८ औं मिनेटमा कोकेले गोल गरेपनि भीएआरले त्यसलाई मान्यता दिएको थिएन ।

अपराजित बायर्न ४ खेलमा १२ अंकसहित शीर्षस्थानमा रहेको छ । बायर्नले अर्को चरणको टिकट पक्का गर्दा अन्य टोलीको सम्भावना भने खुला छ । एटलेटिको ५ अंकसहित दोस्रो स्थानमा रहँदा लोकोमोटिभ ३ अंकसाथ तेस्रो स्थानमा छ । साल्ज्बर्गको १ अंक मात्र छ ।

प्रतिक्रिया