खेल-खेलाडी

दीपक आइसोलेसनमा, आयशा कोरोना मुक्त

सौर्य अनलाइन २०७७ मंसिर ११ गते २१:२८ मा प्रकाशित

काठमाडौं । ओलम्पियन एवंम् दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी पदक विजेता दीपक विष्ट कोरोना संक्रमण पुष्टी भएयता होम आइसोलेसनमा बसेका छन् । उनकी पत्नी १३ औं सागकी दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्य भने कोरोना संक्रमणबाट मुक्त भइसकेकी छिन् ।

दुवैलाई कोरोना संक्रमण पुष्टी भएबाट होम आइसोलेसनमा बसेका हुन् । आफूलाई मंसिर ३ र आयशालाई मंसिर ५ गते कोरोना संक्रमण पुष्टी भएको दीपकले हाम्रो खेलकुद डटकमलाई जानकारी दिए । आशयाको दोस्रो परिक्षण बुधबार नेगेटिभ आएको दीपकले बताए ।

त्यसअघि दीपकका बाबु, आमा, भाई बुहारीलाई पनि कोरोना संक्रमण भएको थियो । उनीहरु चारै जना भने कोरोना मुक्त भइसकेका छन् । आफूलाई लक्षणसहित र आयशालाई भने लक्षण विना संक्रमण भएको जनाउँदै दीपकले भने, हामीलाई संक्रमण हुन सक्ने शंका लागेपछि बच्चाहरुलाई मामाघरमा पठायौं र हामी आइसोलेसनमा बस्यौं ।’ उनीहरुका ८ र ३ वर्षका २ छोरा छन् ।

‘घरमा बुबाआमा, भाई बुहारीलाई पनि कारोना संक्रमण भएकोले हामीलाई पनि हुन सक्छ भन्ने शंका थियो । लक्ष्मी पुजाको दिनबाट मलाई अलिक गाह्रो भएको थियो,’ दीपकले भने, ‘शरीरको पछिल्लो भागमा दुःखाई हुने, भित्र ज्वारो आउने, खाना रुची नहुने भएपछि शंका लागेर परिक्षण गर्दा कोरोना पोजेटिभ देखायो ।आयशालाई लक्षण नभएपछि परिक्षण गराउँदा पोजेटिभ देखिएको थियो ।’

दीपकले आफुलाई अहिले लक्षण नदेखिएको र आइतबार दोस्रो परिक्षण गर्ने जानकारी दिए । आयशा र दीपकको जोडीले कोरोना संक्रमणका कारण सरकारले चैत ११ मा लकडाउन गरेपछि आर्थिक संकटमा परेका भक्तपुरको ठिमीमा रहेका सडक बालबालिका, भक्तपुर क्यान्सर अस्पतालमा रहेका पीडित र उनीहरुका आफन्त गरि झन्डै २ सयलाई मानव सेवा आश्रमको भक्तपुर कौशलटारस्थित प्रदेश ३ को कार्यलयसँगको सहकार्यमा खाना खुवाएका थिए ।

दीपक र आयशाले दशौं सागमा सँगै स्वर्ण पदक जितेका थिए । त्यस्तै एसियाली खेलकुदमा पनि उनीहरुले कास्य पदक जितेका थिए । छनोट चरण पार्दै गर्दै २००८ को ओलम्पिक खेलेका दीपकले सागमा ४ वटा स्वर्ण र एसियाली खेलकुदमा २ कास्य पदक जितेका थिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय