किन बढे राजावादीहरू ?

गणतन्त्रभन्दा राजतन्त्र ठीक भन्ने स्वरहरू बिस्तारै बढ्दै गएका छन् । राजतन्त्र पुनर्वहालीको माग राख्दै सडकमा नारा लगाउने अभियानमा केही समूह पहिलेदेखि नै सक्रिय थिए । यस्ता समूहमा नगण्य जनसहभागिता देखिन्थ्यो, तर पछिल्ला दिनमा भने यस्ता समूहको जनसहभागिता बढ्न थालेको छ । राजतन्त्रको पक्षमा पहिले लुकेर गतिविधि गर्नेहरूसमेत यतिबेला विनासंकोच सडकमा प्रकट भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजधानी काठमाडौंको मुटुमा रहेको शंखधर साख्वा पार्कलाई पुन रत्नपार्क नामाकरण गर्नुपर्ने माग गर्दै सामाजिक सञ्जालमार्फत लबिङ गरेका छन् । उनको लबिङलाई रुचाउनेहरूको संख्या उल्लेख्य देखिन्छ । तत्कालीन राजा महेन्द्रले आफ्नी पत्नी रत्न शाहका नाममा रानीपोखरीको दक्षिणपट्टी स्थापना गरेको पार्क रत्नपार्कका नामले चिनिन्छ । गणतन्त्र स्थापना पछि काठमाडौं महानगरपालिकाले उक्त पार्कलाई नेपाल संवतका प्रवर्तक शंखधर साख्वाका नाममा कायम गरेको थियो ।

यतिन्जेल चुप लागेर बसेका राजावादीहरू यतिबेला विरोधमा उत्रनु संयोग मात्रै होइन ।  जन जिब्रोमा भुण्डिसकेको ऐतिहासिक धरोहरहरूको नाम औचित्यहीन रूपमा परिवर्तन गर्ने निर्णय सवर्था अनुचित हो । यस्तै अनुचित निर्णयका कारण गणतन्त्रमाथि नै प्रश्न उठाउनेहरूको सहास बढेको छ । विगतमा योगदानलाई भन्दा शासन सत्ता संहालेकै आधारमा र शासन सत्ता संहाल्नेहरूको नातागोताका नाममा ऐतिहासिक धरोहरहरूको नामांकन गर्ने विकृति भएकै थियो । यो यथार्थ हो । उदाहरणका लागि राजा महेन्द्रकी कान्छी पत्नी हुनुबाहेक रत्न शाहको मलुकका लागि व्याक्तिगत योगदान असाधारण छँदै छैन । उनको नाममा राजधानीको मुटुमा कुनै स्मारक बनाउनु आपैmँमा देश र जनताप्रतिको उपाहस हो । तर मुलुकमा यस्ता शासकहरू पनि थिए, यस्तो शासन व्यवस्था पनि जनताले बोहोरेका थिए भन्ने कुरा भावी पुस्ताले थाह पाउन पनि रत्नपार्कको इतिहास मेट्नु हुन्न । यो इतिहास रह्यो भने मात्रै भावी पुस्ताले गणतन्त्रको मूल्य थाह पाउनेछन्, अर्थात गणतान्त्रिक शासन व्यवस्था साना दुःखले प्राप्त भएको होइन रहेछ भन्ने कुरा भावी पुस्ताले थाह पाउँछन् । संखधर साख्वाको नाममा अरू धरोहर निर्माण गरे पनि हुन्छ ।

गणतन्त्रभन्दा राजतन्त्र नै ठीक ठान्नेहरूको संख्या वृद्धि हुँदै जानु भनेको मुलुकका लागि धेरै ठूलो खतरा हो । आफ्ना लागि आपैmँ शासन गर्ने व्यवस्थाभन्दा कुनै परिवारले बंशजको आधारमा शासन गरिदेओस् भन्ने जनचाहना भनेको बास्तवमा अनौठो हो । सभ्य मानिसले कल्पना गर्ने कुरासमेत होइन यो । मानिसको चरित्रसमेत होइन यो । यति हुँदाहुँदै पनि राजतन्त्र पुनर्वहालीको पक्षमा जनमत बढ्न थाल्यो । सत्ता सञ्चालकप्रति जनता सन्तुष्ट भएनन् । सरकारको क्रियाकलाप हेर्ने हो भने जनता सन्तुष्ट हुने ठाउँ पनि देखिन्न । सरकार कसरी चलिरहेको छ ? भन्ने कुरा स्वयं सत्तारूढ पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दर्ज गरेका आरोपहरूले समेत पुष्टि गरिसकेको छ । प्रचण्डले सकेसम्म सरकारका कमीकमजोरीहरूको ढाकछोप गरेकै थिए । तर ढाकछोप गर्नसमेत नसकिने गरी बेथिति बढ्दै गएपछि उनले मुख खोलेका हुन् ।

यसको अर्थ आफू प्रधानमन्त्री हुँदा प्रचण्डले अहिले ओलीले गरेको भन्दा राम्रो गरेका थिए भन्ने होइन, झन् नराम्रो थियो उनको प्रधानमन्त्रित्वकालमा । त्यसो त अहिलेको ओली नेतृत्वको सरकारमा पनि महत्वपूर्ण पाटपुर्जाहरू प्रचण्डलै नै फिर्ता गरेका छन् । प्रचण्डले फिट गरेका पाटपुर्जा अझ नालायक छन् । एकपछि अर्को उपयुक्त विकल्प हुने भएका कारण नै राजतन्त्रभन्दा गणतन्त्र उत्तम शासन प्रणाली मानिएको हो । तर, हाम्रो गणतन्त्रमा भने एकपछि अर्को खराब विकल्प प्रकट हु“दै गए । जसका कारण शासन पद्धतिप्रति नै जनतामा वितृष्णा उत्पन्न भयो । अब कत्ति पनि ढिलाइ नगरी दलहरूले आपूmलाई सुधार गरुन् । होइन भने लोकतान्त्रिक गणतन्त्र संकटमा पर्नेवाला छ ।

प्रतिक्रिया