भारतीय विदेशसचिव नेपाल आउँदै

काठमाडौं । भारतीय विदेशसचिव हर्षवद्र्धन श्रींगला बिहीबार नेपाल आउने भएका छन् । दुई दिने औपचारिक भ्रमणका लागि उनी ११ गते काठमाडौं आइपुग्ने कार्यक्रम तय भएको हो ।  विदेशसचिव भएपछि छिमेकी देशका भ्रमण गर्ने परम्पराअनुसार श्रींगला नेपाल आउन लागेको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ । उनको भ्रमणलाई नेपालले भन्दा भारतले बढी प्राथमिकताका साथ हेरिरहेको छ । यसअघि उनले भुटान र म्यानम्यारको भ्रमण गरिसकेका उनी नेपाल आउन लागेका हुन् ।

नेपालले गत जेठमा लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि हुन लागेको भारतको यो सबैभन्दा उच्च तहको भ्रमण हो । गत महिना भारतीय सेनाअध्यक्ष मनोज मुकुन्द नरवाणेले नेपालको भ्रमण गरेका थिए । दुईदिने नेपाल भ्रमणका क्रममा श्रींगलाले नेपाली समकक्षी भरतराज पौडेलसँग औपचारिक वार्ता गर्नेछन् भने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् ।

श्रींगलाको भ्रमणले नेपाल र भारतबीचको पौराणिक र ऐतिहासिक सम्बन्धलाई अझ बजबुत बनाउने दाबी भारतीय परराष्ट्र मन्त्रालयले गरेको छ । श्रींगला शुक्रबार विभिन्न कार्यक्रममा सहभागी भएर सोही दिन स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया