राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सुरु !

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण रोकिएको नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि सुरु हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले विभिन्न प्रतियोगितालाई लक्षित गरी खेलाडीको प्रशिक्षण क्याम्प सञ्चालन गर्न लागेको हो।

क्यानले बन्द प्रशिक्षणका लागि २२ जना खेलाडी बोलाएर कोरोना परीक्षण गरी प्रशिक्षण क्याम्प सुरु गर्दैछ। क्यानले मंगलबार मात्र त्रिविमैदान कीर्तिपुरमा खेलाडी, अफिसियल र ग्राउन्ड स्टाफको समेत कोरोना परीक्षणका लागि स्वाब संकलन गरेको छ।

कोरोना सन्त्रासका कारण विगत नौ महिनादेखि क्रिकेट खेलाडीको प्रशिक्षण रोकिएको थियो। खेलाडीले घरमै बसेर आफुखुसी अभ्यास गर्दै आएका थिए। क्यानले बन्द प्रशिक्षणका लागि बोलाएको २२ खेलाडीमा ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सुशन भारी, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सराफ, अविनाश बोहरा, सुवास खकुरेल, रोहितकुमार पौडेल, कुशल मल्ल, रासिद खान, कमल सिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की छन्। टोलीको मुख्य प्रशिक्षक जगत टमाटा रहेका छन्।

खेलाडीको प्रशिक्षणकै लागि क्यानले गत शनिबार क्रिकेट टोलीको फिटनेस ट्रेनरमा भारतका आयाश हतकरलाई नियुक्त गरेको छ। हतकरले क्रिकेट टोलीको फिटनेस सुधारमा ध्यान दिने क्यानले जनाएको छ।

प्रतिक्रिया