क्यासेमिरो म्याड्रिडको टोलीमा फर्किए

मड्रिड । कोरोना भाइरसको नेगेटिभ नतिजासँगै ब्राजिली सेन्ट्रल मिडफिल्डर क्यासेमिरो स्पेनिस क्लब रियल म्याड्रिडको टोलीमा समेटिएका छन् । प्रशिक्षक जिनेदिन जिदानले च्याम्पियन्स लिग अन्तरगतको समूह ‘बी’ मा इन्टर मिलानविरुद्धको महत्वपुर्ण खेलमा क्यासेमिरोलाई टोलीमा समेटेका हुन् । रियलले बुधबार राति इन्टर मिलानसँग उसकै मैदानमा प्रतिस्पर्धा गर्दैछ ।

रियल समूह ‘बी’ मा ३ खेलबाट ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । बोरुसिया मोन्चेनग्लाडवाकको ५ तथा साख्तर डोनेस्क ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । इन्टर २ अंकसहित पुछारमा छ । कोरोना संक्रमणका कारण क्यासेमिरोले भिल्लारियलसँग १–१ गोलको बराबरीको खेल गुमाएको थियो । भिल्लारियलविरुद्धको खेलमा कप्तान सर्जियो रामोस, इडर मिलिटाओ र करिम बेन्जेमा पनि टोली बाहिर रहेका थिए ।

बेन्जेमा चोटका कारण टोली बाहिर छन् । उनले सोमबार एक प्रशिक्षण गरेका थिए । मिलिटाओ कोरोनाकै कारण टोली बाहिर छन् । इन्टरविरुद्धको टोलीमा बेन्जेमा, मिलिटाओ, सर्जियो रामोस, फेडरिको भाल्भेर्डे, अल्भारो ओर्डिजोला र लुका जोभिक टोलीमा रहने छैन । सोही कारण जिदानले भिक्टर चुस्ट र ह्युगो डुरोलाई टोलीमा समेटेका छन् ।

प्रतिक्रिया