बन्द प्रशिक्षणमा २२ खेलाडी बोलाइए

काठमाडौं । बन्द प्रशिक्षणका लागि बोलाइएका राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुको मंगलबार पीसीआर परीक्षणका लागि स्वाब लिइएको छ । कोरोना संक्रमणको जोखिमकाबीच अभ्यास सुरु गरेको नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणमा सहभागी खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुको स्वाब लिएको हो । कीर्तिपुर स्थित टीयू क्रिकेट मैदानमा मंगलबार खेलाडी, फिजियोथेरपी र प्रशिक्षक गरी १९ जनाको पीसीआर परीक्षणका लागि स्वाव लिइएको छ । यसैगरी १३ जना मेन्टेनेन्स स्टाफको पनि पीसीआर परीक्षण गरिने भएको छ । उनीहरुको पनि मंगलबारैै स्वाब लिइएको हो ।

बन्द प्रशिक्षण बुधबारबाट सुरु हुँदै छ । बन्द प्रशिक्षणका लागि क्यानले २२ खेलाडीलाई बोलाएको छ । कोरोना भाइरस महामारीका कारण नेपालले नौ महिनापछि बन्द प्रशिक्षण हुन लागेको हो । प्रशिक्षक जगत टमटाले प्रशिक्षण दिनेछन् ।
बन्द प्रशिक्षणका लागि कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषावकर, करण केसी, वसन्त रेग्मी, विनोद भण्डरी र सोमपाल कामीलाई बोलाइएको छ । यस्तै सुसन भारी, ललित नारायाण राजवंशी, आरिफ सेख, पवन सर्राफ, अविनाश बोहोरा, सुवास खकुरेल, रोहितकुमार पौडेल र कुशल मल्ल पनि प्रशिक्षणका लागि टिममा छन् । यसैगरी रासिद खान, कमलसिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्कीलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ ।

सन्दीपसहित चार खेलाडी अनुपस्थित 
नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु हुनअघि मंगलबार खेलाडी, प्रशिक्षक र ग्राउन्ड स्टाफको कोरोना परिक्षण पिसिआर गरेको छ । बुधबारबाट प्रशिक्षण गर्ने तयारी अनुसार पिसिआर रिपोर्ट मंगलबार साँझसम्म आउने क्यानका केन्द्रिय सदस्य दुर्गाराज पठाकले जानकारी दिएका छन् । रिपोर्ट नेगेटिभ आउने खेलाडी प्रशिक्षणमा सामेल हुने छन् ।

पिसिआर परिक्षणमा बोलाइएका २२ खेलाडी मध्य चार जना भने अनुपस्थित रहेका पाठकले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् । लेगस्पिनर सन्दीप लामिछाने, तीव्र गतिका बलर करण केसी, अनुभवी स्पिनर वसन्त रेग्मी र ओपनर तथा विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेल आज टीयू क्रिकेट मैदानमा भएको पिसिआर परिक्षणमा सहभागी नभएको पाठकले जानकारी दिएका छन् । खेलाडीहरु व्यक्तिगत कारण देखाउँदै उपस्थित हुन नसकेको पाठकले जानकारी दिए ।

प्रतिक्रिया