कृषि तथा वनजन्य उद्योेगमा आकर्षण

परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा कृषि तथा वनजन्य उद्योेगतर्फ आकर्षण बढ्दै गएको छ । विशेषगरी विदेशबाट फर्केका युवा र महिला व्यावसायिक कृषि उद्यमतर्फ लागेका हुन् । पछिल्लो समय जिल्लामा कृषि तथा वनजन्य उद्योग वृद्धि हुन थालेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।  पछिल्लो दर्ता भएका उद्योगहरू अधिकांश कृषि तथा वनजन्यसम्बन्धी नै छन् । कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार चालू आव ०७७/७८ को पहिलो त्रैमासिक अवधिमा दर्ता भएका साना उद्योगमा सबैभन्दा धेरै कृषिसम्बन्धी २ सय ६३ उद्योग थपिएका छन् ।

कोरोना भाइरसको जोखिमका कारण भएको बन्दाबन्दी समयमा पनि साउनदेखि असोजसम्म दर्ता भएका कुल ३ सय ८३ उद्योगमध्ये सबैभन्दा धेरै कृषि तथा वनजन्यसम्बन्धी नयाँ उद्योग थपिएका हुन् । नयाँ उद्योगमा मात्रै १ हजार १ सय ६५ जनाले रोजगार पाएको उनले जानकारी दिए । तीन महिनाको अवधिमा १ सय ९९ पुरुष र ७४ महिला उद्यमीले कृषि तथा वनजन्य उद्योग दर्ता गरी सञ्चालन गरेका छन् । विदेशबाट फर्किएका युवाहरूले स्वदेशमै स्वरोजगार हुने उद्देश्यले कृषि क्षेत्रलाई व्यावसायिक रूपमा अघि बढाइरहेका छन् भने बैंक ऋणमा सहुलियत, महिला उद्यमी कोष, उद्योग व्यवसाय दर्तामा ५० प्रतिशत छुटलगायत सुविधाका कारण महिला उद्यमीको संख्या पनि बढ्दो छ ।

गत आव ०७६÷७७ मा समेत जिल्लामा सबैभन्दा धेरै कृषि तथा वनजन्य क्षेत्रका उद्योग दर्ता भएका थिए । कार्यालयको तथ्यांकअनुसार गत वर्ष ४ सय ८ वटा कृषि तथा वनजन्य उद्योग थपिएका थिए । ती उद्योगमा ४ सय १९ उद्यमी आवद्ध छन् भने ९ सय ३६ पुरुष र ६ सय ९७ महिला गरी १ हजार ६ सय ३३ जनाले रोजगारी पाएका छन् ।

लुम्बिनी प्रदेश सरकारले औद्योगिक क्षेत्रमा लगानी प्रोत्साहन गर्न चालु आवमा दर्ता हुने लघु, घरेलु तथा साना उद्योगको दर्ता निःशुल्क गरेको छ । उद्योग अधिकृत भुसालले भने, ‘दर्ता निःशुल्क हुनाले उद्योग दर्ताको क्रम बढेको छ । तीनै तहका सरकारले सहुलियत ऋण तथा विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेकोले पनि कृषि उद्यमतर्फ लगानीकर्ताको आकर्षण बढेको देखिन्छ ।’

प्रशस्त खेतीयोग्य जमिन, पशुपालन, दुग्ध, तरकारी र फलफूल उत्पादनका लागि उर्वरभूमि मानिने नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला कृषिमा उल्लेख्य सम्भावना भएको जिल्ला हो । कृषिमा यहाँको अथाह सम्भावनाकै कारण तरकारी, फलफूल, माछापालन तथा पशुपक्षीपालन व्यावसायिक रूपमा फस्टाएको कार्यालयले जनाएको छ ।

यहाँ उत्पादन हुने दुग्धजन्य र मासुजन्य उत्पादनले जिल्लाको माग पूर्ति गरी अन्यत्र जिल्लामा पनि खपत हुने गरेको कार्यालयले जनाएको छ । जिल्लामा वनमा आधारित उद्योग पनि सञ्चालनमा छन् । चिसापानी सामुदायिक वन उपभाक्ता समूहले जडिबुटी उद्योग सञ्चालन गरी सुगन्धित तेल तथा विशासय सामुदायिक वन उपभोक्ता समूहले बेलको जुस उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया