नवनिर्वाचित राष्ट्रपति बाइडेनलाई सत्ता हस्तान्तरण गर्न ट्रम्प तयार

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् । सरकारी उच्च अधिकारीहरुलाई सोमबार उनले राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनलाई सत्ता हस्तान्तरण प्रक्रिया सुरु गर्न निर्देशन दिएका हुन् ।

उनले यसअघि सत्ता हस्तान्तरण गर्न अस्वीकार गर्ने आशंका गरिँदै आएकोमा उनले अहिले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्न निर्देशन दिएपछि सकारात्मक सन्देश गएको छ । राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै आफू पराजित नभई पराजित गराइएको दाबी गर्दै आएका छन् । उनले बाइडेनको जित र आफ्नो पराजय अस्वीकार गर्दै आएका थिए ।

निर्वाचनमा धाँधली भएको भन्दै उनले विभिन्न अदालतमा मुद्दा दर्ता गरे पनि ट्रम्पको दावीका लागि पर्याप्त प्रमाण नभएकाले कतिपय न्यायाधीशहरुले मुद्दा नै खारेज गरिदिएका थिए । अदालतबाट समेत आफ्नो दाबी पुष्टी नहुँदा पनि उनले आफू अन्यायमा परेको र आफूलाई नियोजित रुपमा पराजित गरिएको भन्दै उनले न्याय माग्ने क्रमलाई निरन्तरता दिने दावी गरेका छन् ।

यही नोभेम्बर ३ तारिखका दिन भएको निर्वाचनबाट राष्ट्रपतिमा बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित भएकी छन् ।उनिहरुले आगामी सन् २०२१ जनवरी २० मा सपथ ग्रहण गर्दै जिम्मेबारी सम्हाल्नु हुनेछ । त्यसका लागि उनिहरुले पनि आ–आफ्नो तर्फबाट तयारी थालेका छन् ।

बाइडेनले आफूले सरकारमा प्रमुख भूमिका दिन चाहेका व्यक्तिहरूको नामावली तयार पर्न थालिसकेका छन् । पूर्व विदेश मन्त्री जोन केरीले जलवायुसम्बन्धी विशेष दूतको भूमिका निर्वाह गर्ने भएका छन् भने यसअघि सशक्त रूपमा अन्तर्राष्ट्रियवादमा विश्वास गर्ने एन्टोनी ब्लिङ्केनको नाम विदेशमन्त्रीको रूपमा प्रस्तुत गरिसकिएको छ ।

प्रतिक्रिया