खोजखबर

‘सरकार मुलुकको समृद्धिका लागि चौतर्फी रुपमा लागिपरेको छ’ : प्रधानमन्त्री ओली (घुन्सामा गरेको सम्बोधनको पूर्णपाठ)

सौर्य अनलाइन २०७७ मंसिर ९ गते ९:११ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुताप्लेजुङ घुन्साजस्तो दुर्गम गाउँ आगामी ३ वर्षमा नै सुगममा परिणत गरिने दाबी गरेका छन्। त्यसका लागि यातायातलगायत पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको साेमबार उद्घाटन गर्दै उनले हालसम्म कञ्चनजङ्घामा आउने पर्यटकका लागि लिनुपर्ने विशेष अनुमति प्रावधान खारेज गरिने र तिनका लागि सो क्षेत्र खुला गरिने बताए।

घुन्सावासीले राखेका विभिन्न माग सम्बाेधनमा सरकारले ध्यान दिने प्रधानमन्त्री ओलीले बताए। सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न पनि आग्रह गर्दै उनले वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदै छ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको बताए। सरकार मुलुकको समृद्धिका लागि चौतर्फी रुपमा लागिपरेको जनाउँदै देशको समृद्धि नचाहने मान्छे विभिन्न तत्व सरकारविरुद्ध लागेको बताए।

‘हामी समृद्धिका लागि अघि बढिरहेका छौँ तर केही पक्ष लोकतान्त्रिक प्रणालीविरुद्ध भ्रम फैलाइरहेका छन्, यो कार्य त्रुटिपूर्ण हो,’ प्रधानमन्त्री ओलीले भने। यस्तै उनले छिमेकी भारतले मिचेका भूमि फिर्ता लिन गर्न गरिएका प्रयास, भारत र चीन दुवैसँगको सम्बन्धलाई अझ सुधार, बन्द नाका खोल्नेजस्ता कार्यले वर्तमान सरकार सफल हुँदै गएको उनले दाबी गरे।

प्रधानमन्त्री ओलीले घुन्सामा गरेकाे सम्बोधनको पूर्ण पाठ :

यस कार्यक्रमका सभाध्यक्ष महोदय, मेरो भ्रमण टोलीमा संलग्न आदरणीय सुवासचन्द्र नेम्वाङज्यू, माननीय मन्त्रीज्यू, मुख्यमन्त्रीज्यूलगायत सम्पूर्ण साथीहरू र यहाँ उपस्थित सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू,

आज यस अत्यन्तै दुर्गम ठाउँमा नै भनौं, ताप्लेजुङको यस घुन्सामा आउने मौका मिल्यो। धेरै मेहनत र कोसिस गरेर नै हामीले यो अवसर जुटायौं। यस ठाउँमा आइपुग्दा मलाई हिमाल चढ्न त गाह्रो छ, तर हिमाल देखिएको छ, यो देख्दा नै आनन्द लागेको छ। यो ठाउँ यत्तिको विकसित भएको पाउँदा मलाई एकदमै खुसी लाग्यो। घुन्सा फाउन्डेसनका अध्यक्ष याङजोङ शेर्पाको पहलमा यो स्वास्थ्य चौकी पनि निर्माण भएको छ। बस्ने क्वार्टर पनि निर्माण भएको छ। अनलाइन क्लासहरू चलाउने भवन पनि निर्माण भएको छ। त्यसैगरी यहाँ विद्युत् पनि आएको छ।

खानेपानीको व्यवस्था पनि यहाँ भएको छ। सञ्चार सुविधा आइसकेको छ। अनलाइन क्लास चल्नेसमेत स्थिति भएको छ। टुजी सेवालाई छिट्टै फोरजी सेवामा स्तरोन्नति गरी संचालन गर्ने साथीहरूले भन्नुभएको छ। जेहोस् फोरजी सेवा पनि सञ्चालन हुँदैछ। अब यहाँ मोटरेवल बाटोले जोड्ने कुरा टिपताला पास र उता दक्षिणमा….आउँछ। त्यहाँ जोड्ने कार्य भइरहेको छ।

चीनतिर पनि बाटो खुलिसकेको छ। यता हाम्रोपट्टि पनि ट्रयाक खोल्न ६ किलोमिटर मात्रै बाँकी छ, अरू खुलिसकेको छ। यसलाई स्तरोन्नति गर्ने, ग्राभेल गर्ने र कालोपत्रे गर्ने काम तीन वर्षभित्रै सकिन्छ। त्यसपछि ब्ल्याकड्रप (कालोपत्रे) गर्ने काम हुन्छ। तीन वर्षभित्र यी सुगम ठाउँहरू हुन्छन्।

म तपाईंहरूलाई खुसी व्यक्त गर्न चाहन्छु। यति दुर्गम ठाउँमा अब यहाँ सञ्चार सेवा आइपुगेको छ। विद्युत् सेवा आइसकेको छ। आधारभूत विद्यालय छ। र, यहाँ बिरामीहरूले उपचार पाउने स्थिति बनेको छ। स्वाभाविक रूपमा यहाँ प्राथमिक खालकै उपचार सेवा प्राप्त हुने हो। किनभने यहाँ सुविधासम्पन्न उपचार हुने त होइन। तर पनि केही नभएको यस ठाउँमा यस स्तरको व्यवस्था गरिएको पाउँदा अत्यन्त खुसी लागेको छ।

यहाँ आयोडिनयुक्त नुन नहुँदाखेरी समस्याहरू रहेका छन्, त्यसलाई ध्यानमा राखेर अब आयोडिनयुक्त नुन उपलब्ध गर्ने व्यवस्था हुँदैछ। त्यसले विभिन्न स्वास्थ्य समस्याहरूलाई ठीक गर्छ। त्यतापट्टि पनि ध्यान गएको छ।
भर्खरै मलाई मेरी श्रीमतीले विद्यालयमा छात्रावृत्तिका लागि ५ लाख रुपियाँ सहयोग गर्ने भनेर भनेकी छन्। उत्कृष्ट, गरिब, जेहेन्दार विद्यार्थीहरूले त्यसबाट छात्रवृत्ति पाउन सकुन्। यसबाट लगभग त्यसबाट ५ जना बालिका र ५ जना बालक गरी १० जनलाई छात्रावृत्ति दिन सकिन्छ। यो व्यवस्था विद्यालयले मिलाउने काम गरोस्। विद्यालयका पुराना शिक्षकहरू लोकथान प्रसाईं, एलसी गुरुङलाई मैले यहाँ देखिराखेको थिएँ।

तपाईंहरू पुराना शिक्षकहरू हुनुहुन्छ। यहाँहरूले त्यसको समुचित प्रबन्ध गर्नुहुनेछ भन्ने मैले ठानेको छु। यहाँ हस्पिटल हामीले हेर्‍यौं, कम्मल रहेनछ। त्यसकारण १० वटा कम्मल उपलब्ध गराउने भनेर मेरी श्रीमतीले भनिदिनू भनेकी छन्। १० वटा ब्लाङकेटहरू यहाँ उपलब्ध गराइनेछ। यी त ससाना कुराहरू भए। व्यक्तिगत रूपमा उनले गर्ने कुराहरू मात्रै भए।

तर सरकारका तर्फबाट गर्ने कामको हकमा, मुख्य रुपमा यहाँ बाटो र विद्युतको स्तरोन्नति गर्ने माग साथीहरूले यहाँ ज्ञापनपत्रमा राख्नुभएको छ र नियन्त्रित क्षेत्र हटाउनु पर्ने कुराहरू राख्नुभएको छ। र, यसले पर्यटनका लागि सजिलो बनाउने छ। रेस्टिक्टेड एरिया भनेर मान्छेहरू आवतजावत गर्न नदिने खालको स्थिति जुन छ, यसलाई हटाएर यस क्षेत्रलाई एउटा पर्यटकीय आकर्षणको विशेष क्षेत्र बनाउनुपरेको छ। जब यो बेसक्याम जाने बाटोका रूपमा छ भने यसलाई पर्यटकीय गतिविधि निर्वाध रूपमा गर्न नदिनु पर्ने वा रेस्टिक्टेड एरिया बनाउनुपर्ने त्यस्तो धेरै आवश्यकता छजस्तो लाग्दैन।

यस सम्बन्धमा पर्यटन मन्त्री यहीँ हुनुहुन्छ, उहाँले प्रस्ताव बनाएर अगाडि बढाउनुहुनेछ र मन्त्रिपरिषद्ले यस सम्बन्धमा आवश्यक निर्णय गरेर यहाँको आवागमन सहज बनाउने, यहाँ हेलिकोप्टर आदि आउने कुरालाई पनि सहज बनाउने र पर्यटकहरू आउने कुरालाई पनि सहज बनाउने काम गरिने छ। ती कामहरू हामी छिट्टै गर्छौं। अहिलेको समयमा धेरै कुराहरूलाई रेष्टिक्टेड गरिरहनुपर्ने वा नियन्त्रित गरिराख्नुपर्ने जरुरी छैन।
पहिले हामीसँग विओपी थिएनन्, पहिले हामीसँग सुरक्षा निकायहरूको उपस्थिति थिएन। त्यस्तो बेलामा रेस्टिक्टेड गरिएको थियो होला। तर, अहिले जब हामीसँग सुरक्षा निकायहरू छ, विओपीहरू छन्, अरू सुरक्षा निकायहरू छन् भने अत्यावश्यक सुरक्षा र निगरानी हुन्छ, बोर्डर निगरानी हुन्छ र आवागमनको निगरानी पनि हुन्छ। को पस्छ, कस्तो खालको मान्छे प्रवेश गर्छ, को घुम्न आएको छ? र, त्यसको जानकारी पनि हुन्छ। त्यसकारण अहिले रेस्टिक्टेड एरिया बनाइरहनुपर्ने आवश्यकता खासै पर्दैन।

यहाँ साथीहरूले राख्नुभएका मागहरूको सन्दर्भमा तिपताला नाका खोल्न आवश्यक प्रक्रिया अघि बढाइदिन भन्नुभएको छ। यो कुरा मैले अघि नै भनेँ, यसमा हामीले ध्यान दिने नै छौं। उत्तर–दक्षिण लोकमार्गलाई कालोपत्रेमा परिणत गरिदिन आग्रह गर्नुभएको छ। त्यो पनि प्रक्रियामै छ। त्यो हुने नै छ। गाउँपालिकामा रहेका एनटिसी टुजी टावरलाई फोरजीमा परिणत गरिदिन भन्नुभएको छ, त्यस सम्बन्धमा पनि काम अगाडि बढिराखेको छ। कञ्चनजंगा बेसक्याम्पको दक्षिणी र उत्तरी मोहडाका क्षेत्रहरूमा अवस्थित पर्यटन पदमार्गमा स्तरोन्नति गरिदिन भन्नुभएको छ। यसलाई पनि ध्यान दिइनेछ। यस पर्यटन पदमार्गलाई कसरी स्तरोन्नति गर्ने? पहिले मोटरेवल बाटो आयो भने यसको स्तरोन्नति गर्न पनि सजिलो हुन्छ। त्यसकारण मोटरेवल बाटो ल्याउने कुरामा नै हाम्रो पहिलो प्राथमिकता हुनेछ।

त्यसले सबै कुरालाई सजिलो बनाउँदै जानेछ। साथीहरूले अर्को माग गर्नुभएको छ, यो स्पेसल परमिटको अनिवार्यताचाहिँ खारेज गर्नुपर्‍याे। यस सम्बन्धमा पनि मैले भनिसकें, अबको समयमा यस खालको व्यवस्था धेरै आवश्यक पर्दैन। र, यसलाई खारेज गर्न सकिन्छ। यो उहिलेको जमानाको कुरा हो। अहिले यस्तो अवस्था आवश्यक छैन। लघु जलविद्युत् आयोजनाको क्षमता वृद्धि गरेर खम्बाचेन, ग्याब्ला र अम्जिलासाजस्ता गाउँहरूमा पनि विस्तार गरिदिन भन्नुभएको छ। यो एकदम स्वाभाविक र आवश्यक कुरा हो। यसमा हाम्रो ध्यान जानेछ। तपाईंहरूले लेखेर दिनुभएका यी मागहरू लगेर सम्बन्धित मन्त्रालय र निकायहरूबाट फरवार्ड गर्ने र के गर्न सकिन्छ? यो काम हामीले गर्नेछौं।

हामी यस घुन्सा गाउँलाई पर्वतीय क्षेत्रको एउटा नमुना गाउँका रूपमा पर्यटकीय, पर्वतीय नमुना गाउँका रूपमा विस्तार गर्ने छौं। प्रदेश सरकारले यस बारेमा घोषणा गरिसकेको छ। मुख्यमन्त्रीजीले मलाई अघि भन्नुभएको र अस्ति नै याङजुङले पनि भनिसक्नु भएको थियो। यस गाउँलाई एउटा नमुना गाउँका रूपमा विकास गर्ने काम अघि बढसिकेको छ। नमुना गाउँका रूपमा विकास गर्न केके पूर्वाधारहरू चाहिन्छन् अथवा के के आवश्यक कामहरू गर्नुपर्छ, ती कुराहरू हामीले गर्नेछौं। यो नमुना गाउँ हुनको लागि अब यस गाउँमा पढ्न नपाएको कोही बालबालिका, पढ्न नपाएर कोही निरक्षर भएको वा स्कुल जान नपाएर निरक्षर रहेको वा स्कुल जान नपाएर र पढ्न नपाइरहेको स्थितिमा कोही हुनु हुँदैन। कसैले सामान्य, प्रारम्भिक अथवा प्राथमिक स्वास्थ्य उपचार नपाउने खालको स्थिति हुनु हुँदैन वा मैले अघि नै भनेँ, आधारभूत सेवाहरू पुगेको हुनुपर्दछ।

यस कुरामा प्रदेश सरकारको ध्यान जाने नै छ र केन्द्र सरकारबाट पनि हामीले उचित ध्यान दिने नै छौं। घुन्सामा स्थायी स्वास्थ्य चौकी स्थापनाको माग गर्नुभएको छ। यो एउटा स्वास्थ्य चौकी त बनिसकेको नै छ। यसलाई स्तरोन्नति गरेर सबलीकरण गर्दा हुन्छ। यस क्षेत्रको पहिलो बस्ती खम्बाचेनको नापी हुन २०४६ सालमा छुट भएका जग्गाको पुरानो प्रमाणका आधारमा नापजाँच गरी लालपूर्जा उपलब्ध गराउन पनि तपाईंहरूले माग राख्नुभएको छ। त्यसलाई यथाशीघ्र सम्पन्न गराइने छ, म तपाईंहरूलाई आश्वस्त पार्न चाहन्छु।

अवश्य नै अहिले हाम्रो देश विकासको गतिमा अगाडि बढिरहेको छ। चारैतिर विकासको एउटा लहर नै आएको छ र उत्साह छाएको छ। हामी विभिन्न दुर्गम ठाउँहरूलाई सुगम बनाइरहेका छौं। टेलिफोनबाट जोडिरहेका छौं, बाटाहरूबाट जोडिरहेका छौं, हवाइजहाज सेवाबाट जोडिरहेका छौं। अरू अनेक हिसाबले जोडिरहेका छौं र विकासको तीव्र प्रक्रियाले मात्रै देशका सबै कुनाकन्दराहरूलाई जोड्न सक्छ। यी गाउँहरू केही वर्ष अगाडिसम्म साह्रै नै दुर्गम थिए। अब यी साह्रै दुर्गमबाट अलिक सुगमजस्ता भएका छन्। यहाँ आउनका लागि यस्तो सहज थिएन, अहिले पनि खासै सहज छैन, तर पहिलेभन्दा धेरैं नै सहज भएको छ।

म साथीहरूलाई आग्रह गर्न चाहन्छु, हामी उत्साहका साथ देश विकासको काममा लागौं। यहाँ राजनीतिक पार्टीहरूमा रुचि राख्ने र क्रियाशील साथीहरू पनि हुनुहुन्छ होला। अहिले सरकार चलाइरहेको पार्टीभित्र अनेक प्रकारका, कहिले पार्टी अध्यक्षका विरुद्ध, कहिले प्रधानमन्त्रीका विरुद्ध, कहिले लिखित, र कहिले छापेर त्यस्ता सामग्री वितरण गरिएका। सरकार ढलिहाल्छजस्ता कुराहरू तपाईंहरूले सुन्नु भएको हुनसक्छ। केही केही मान्छेहरू, केही काम नपाएका मान्छेहरू, देशमा अस्थिरता चाहने मान्छेहरू, देशलाई स्थिरतामा जान नदिन खोज्ने मान्छेहरू र देशको प्रगति हेरेर तर्सिएका मान्छेहरूले यसो गरिरहेका छन्। हामीले देशको भूभाग समेटेर नक्सा छापेका छौं। सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित हाम्रो छुटेको जमिन हामीले नक्सामा सामेल गरेका छौं। संविधान संशोधन गरेर हाम्रो निशान छापमा राखेका छौं।

अहिले केही मान्छेहरूलाई त्यो जमिन फिर्ता आउला कि भन्ने डर छ। अहिलेको यो हल्लाखल्ला अरू केही होइन। यो सरकार रह्यो भने त्यो जमिन फिर्ता ल्याउँछ। त्यो जमिन भरसक फिर्ता आउन नपाओस्, आउन पायो भने अहिलेको सरकार लोकप्रिय हुन्छ भन्ने पिर केहीलाई परेको छ, त्यस्तो चिन्ता केहीलाई छ। आफ्नो उचाइ घट्ने हो कि भन्ने चिन्ता त्यस्ता केहीलाई छ। त्यस्ता मान्छेहरूले नै अनेक प्रकारका दुष्प्रचार गरेर सरकारले केही काम गरेन भन्दै हल्ला चलाउने, केही पनि भएन भन्ने हल्ला चलाउने र सरकार परिवर्तन हुँदैछ भन्ने हल्ला चलाउने र जनताको मनमा देशमै चिन्ता छाउने खालको वातावरण बनाउने काम गरिरहेका छन्। तिनले सुनियोजित रूपमा त्यस प्रकारका कामहरू गरिराखेका छन्। तर, म तपाईंहरूलाई ढुक्क रहनुहोस् भन्न चाहन्छु।

मैले चीनतिरबाट पनि नाकाहरू/बाटाहरू खोल्ने नीति लिएँ र पहिलोपल्ट सरकारको नेतृत्व गर्दा हामीले चीनसँग यातायात र पारवहन सम्झौता गर्‍यौं, पहिलोपल्ट म प्रधानमन्त्री हुँदा त्यसो गर्‍यौं। नाकाबन्दीविरुद्ध हामी लडेर सामना गर्‍यौं, नाकाबन्दी हामीले खोलायौं। चीनतिरबाट थुप्रै नाकाहरू खोलायौं। सन्धि-सम्झौताहरू गर्‍यौं र हाम्रो देशको विकासका लागि हाम्रा दुवैतिरका छिमेकीहरूसँग मित्रतापूर्ण सम्बन्ध कायम राख्ने र विकासको कामलाई दुबैतिरको साथ, सहयोग र सहकार्यमा अगाडि बढाउने नीति लियौं। मान्छेहरूले यो हुन्छ भन्ने विश्वास गरेका थिएनन्। तर, यो भएपछि केही मान्छेहरू आत्तिए। अहिले पनि तिनीहरू आत्तिएको मात्रै हो। त्यसकारण म तपाईंहरूलाई ढुक्क रहनुहोस् भन्न चाहन्छु।

नेपालमा लोकतन्त्र, लोकतान्त्रिक प्रणाली, संघीय लोेकतान्त्रिक गणतन्त्रका सम्बन्धमा कसैले भ्रम फिजाउनु बेकार छ। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली हाम्रो संविधानले व्यवस्था गरेको छ। हामीले यो लडेर ल्याएका छौं। यसको सुदृढीकरणका लागि, यसको सफल प्रयोगका लागि नै हामी काम गर्छौं।

तसर्थः तपाईंहरू ढुक्क भएर विकासका कामहरूलाई साथ दिन लाग्नुहोस्। हामी देश विकासलाई अगाडि बढाउन सरकार दत्तचित्त छौं। मलाई काठमाडौं मात्रै बसेँ पनि पुग्थ्यो, यहाँ नआएपनि पुग्थ्यो। अस्ति भर्खर म किमाथाङ्का गएँ। बाटो कस्तो बन्दैछ, कसरी बन्दैछ, के हुँदैँछ? चीनसँगको त्यो हाम्रो यस्तो अर्को नाका हो, जो धेरै उचाइमा जानुपर्दैन र थोरै उचाइमा सधैं चल्नसक्छ। यस्तै २३/२४ सय मिटरको उचाइमा रहेको छ। त्यति कम उचाइको सधैँ चल्ने बाटो किमाथाङ्का करिडर अरुण नदीको किनारैकिनार बनिरहेको छ। हामी तमोर नदीको किनारैकिनार अर्को बाटो पनि खोल्दै छौं। पश्चिमतिरबाट पनि थुप्रै नाकाहरू खोल्दै छौं। त्यसकारण उत्तरी भेगका गाउँहरू पनि अब दुर्गम होइनन्।

चीनदेखि दक्षिणसम्म यी सबै बाटोले जोडिन्छन् र हामी केही वर्षभित्र यी बाटोहरूलाई पक्की बाटोका रूपमा विकास गर्छौं। यसरी अब देश विकासको बाटोमा अघि बढेको छ। तपाईंहरूले बुनेका गलैँचाहरू अब मान्छेले बोकेर होइन, गाडीले बोकेर बजारसम्म पुर्‍याउनेछ। केही समय मात्रै हामीले यसको प्रतीक्षा गर्नुपर्छ। यसरी कामहरू हुँदै गरेको, निर्माण कार्य हुँदै गरेको, बाटाका ट्रयाकहरू खोल्दै गरेको तपाईँ देख्नुभएको छ। बाटोको स्तरोन्नति गरेको पनि तपाईंहरूले देख्नुभएको छ। मैले धेरै भनिरहनु पर्लाजस्तो लाग्दैन। तपाईंहरू ढुक्क हुनुहोस्, देश अगाडि बढ्छ।

मैले सरकारलाई गलत बाटोमा जान दिन्नँ। देशको पक्षमा, जनताका पक्षमा, विकासका पक्षमा, स्थायित्व र स्थिरताका पक्षमा, शान्तिका पक्षमा नै यस देशलाई अगाडि बढाउने काम हुन्छ। त्यस हिसाबले कसरी बढाउनुपर्छ? त्यसमा नै सरकार दत्तचित्त भएर लागेको छ। म दत्तचित्त भएर लागेको छु। हामी विभिन्न ठाउँमा गएर, विभिन्न ठाउँका अवस्थाहरू कस्ता छन्, त्यहाँको विकास कसरी गर्नुपर्छ भनेर हेरिरहेका छौं। म तपाईंहरूलाई ढुक्क भएर विकास निर्माणका काम र उन्नति प्रगतिको काममा अगाडि बढ्न आग्रह गर्दछु।

म हाम्रा युवाहरूलाई भन्न चाहन्छु, तपाईंहरूले सही बाटो लिनुपर्दछ। विकासको बाटो लिनुपर्दछ। आ–आफ्ना ठाउँको विकास कसरी गर्ने? कसरी अगाडि बढाउनु पर्दछ? एउटा नमुना त हाम्रो याङजुङ शेर्पा नै हुनुहुन्छ, जसले यस दुर्गम ठाउँमा जन्मिएर यस ठाउँको विकासका लागि फाउन्डेसन निर्माण गरेर विभिन्न ढंगले काम अगाडि बढाइरहनुभएको छ।

मलाई आज अलिक माइत आएजस्तोजस्तो पनि लागिरहेको छ। कोसेली दिएर पठाउन खोजेकोजस्तो देख्छु। तर यो फेरिफेरि आइरहोस् भनेर हो कि के हो? हामीहरूलाई यस्ता कोसेलीहरू धेरै नदिए राम्रो हुन्थ्यो, धेरै कोसेली नदिए नै राम्रो हुन्थ्यो, उता बस्न मन नलागेर फेरिफेरि आइरहुँजस्तो लागिरह्यो भने….! त्यसैले कोसेलीहरू अलि धेरै नदिए हुन्थ्यो। खैर, म सबै साथीहरूलाई धेरै धेरै शुभकामना भन्न चाहन्छु। तपाईंहरूको ल्होसारजस्ता चाडहरूको अवसरमा शुभकामना दिन चाहन्छु।

सबै स्वस्थ रहनुहोस्, उन्नति र प्रगति गर्नुहोस्। हाम्रा बालबालिकाहरूको पढाइ राम्रो होस्। गुरुबा, गुरुआमाहरूले राम्रो पढाउनुहोस्। राम्रो पढाउन ध्यान दिनुहोला। र, बालबालिका, साना नानीहरूलाई म आग्रह गर्न चाहन्छु, मेहनतसाथ पढेर देशका लागि भविष्यमा केही गर्नुपर्छ। यस्तै दुर्गम ठाउँमा जन्मिएका मान्छेहरू सङ्घर्ष गरेर अगाडि बढेका हुन्छन्, सङ्घर्ष र कठिनाइ बुझेका हुन्छन् र उनीहरूले देश विकास गर्ने कुरामा झन् ठूलो र झन् धेरै योगदान गर्न सक्छन्। कठिनाइको सामना गरेर अगाडि बढ्न सक्छन्।

तपाईंहरू सबैलाई म आग्रह गर्न चाहन्छु, अगाडि बढ्ने अठोट गर्नुहोस्। अगाडि बढ्न र देश विकास गर्न सम्भव छ। दुर्गमलाई सुगम बनाउन सकिन्छ। दुर्गमको बेग्लै महत्व हुन्छ। सहज बनाएर यसको महत्व यति नजिक हिमाल देखिन्छ, सजिलै यति नजिकैबाट हेर्न सकिन्छ। यो असाधारण सुन्दर कुरा हो। यसलाई हामी आवागमन गर्न सहज बनायौं भने यो पर्यटनको लागि बहुतै राम्रो ठाउँ हुन्छ। यसनिम्ति तपाईंहरूका माग मैले हेरेको छु।

म सबैलाई धन्यवाद भन्न चाहन्छु। दिन छोटा छन्। तपाईंहरूले डकुमेन्ट्री बनाउँदै हुनुहुन्छ भन्ने मैले थाहा पाएँ, डकुमेन्ट्री राम्रो बनोस्। त्यसले घुन्सालाई चिनाओस्। घुन्सालाई नेपालभरि र विश्वभरी नै प्रचार गरोस्। हामीहरू यहाँको भ्रमणमा आयौं, घुन्साले प्रचार त पायो नै। अब नेपालभरिका जनताले घुन्साको बारेमा थाहा पाउँछन्, धेरै राम्ररी थाहा पाउँछन्। टेलिभिजनहरूले प्रसारण गर्छन्, युट्युबले प्रसारण गर्छन्, अरूले पनि प्रसारण गर्छ।

तपाईंहरूको यो सुन्दर मनोरम ठाउँ र यसको प्रचार सबैले गर्छन्। हो, यो ठाउँ अलिकति दुर्गम ठाउँ हो। यो ठाउँमा आउँदा विकासप्रेमी योजनविद् डा।हर्क गुरुङजी र नेपालको विकासमा साह्रै रुचि राख्ने फिनल्यान्डका त्यसबेलाका कार्यवाहक राजदूत मुत्सुनेनलगायतका साथीहरूको यहाँ भएको दुर्घटनामा ज्यान गुमेको थियो। त्यो अत्यन्तै दुःखको कुरा थियो। यो अलिक जोखिमपूर्ण भूगोल छ।

भरसक राम्रो मौसम भएको बेला मात्रै आउने र यहाँ आउन हेलिकोप्टरबाट उड्ने गर्नुपर्छ। नत्र भने यो बाटो बनेपछि हेलिकोप्टरबाट धेरै आइरहनुपर्दैन। मान्छेहरू बाटोबाटै आउनजान सक्छन् र दुर्घटना पनि कम हुने स्थिति बन्छ। मौसमको खराबी कारणले दुर्घटना कम हुने अवस्था सिर्जना हुन्छ। यस घडीमा खासमा आज घुन्सा आएका बेलामा म डा. हर्क गुरुङ, तत्कालीन बन राज्यमन्त्री गोपाल राई र फिनल्यान्डका हाम्रा मित्र मुत्सुनेनसमेतका सबैलाई स्मरण गर्न चाहन्छु, उहाँहरूप्रति श्रद्धासुमन पनि अर्पण गर्न चाहन्छु।

यस ठाउँको विकासलाई ध्यानमा राखेर नै उहाँहरू यहाँसम्म आउनुभएको थियो। अब मैले धेरै समय नलिऔं, हामीलाई छिटो फर्किनुपर्ने छ। त्यसकारण म फेरि सबैलाई शुभकामना भन्न चाहन्छु। सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु र आफ्नो भनाइ यहीँ टुङ्ग्याउँछु। धन्यवाद। रासस

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय