दर्शन गोष्ठी

काठमाडौं । मानव जातिको जीवनमा दर्शनको महत्व र प्रभावका बारेमा भर्चुअल विचार गोष्ठी सम्पन्न भएको छ । ‘अन्तर्राष्ट्रिय दर्शन दिवस २०२०’ को अवसर पारेर नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभाग, बौद्ध अध्ययन केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय र त्रिचन्द्र क्याम्पस, मनोविज्ञान तथा दर्शनशास्त्र विभागले संयुक्तरूपमा उक्त गोष्ठी आयोजना गरेका हुन् । ‘कोभिड–१९ को सामाजिक तथा मनोवैज्ञानिक प्रभाव र यसको नियन्त्रणमा दर्शनको भूमिका’ विषयक गोष्ठीमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति, उपकुलपति, सम्पूर्ण विश्वविद्यालयका उपकुलपति, नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव, प्राज्ञ परिषद् सदस्यहरू र सम्बन्धित विधाका विद्वानको सहभागितामा सम्पन्न भएको थियो ।

गोष्ठीमा प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सारा विश्वले कोरोनाको संत्रास झेलिरहेको बेला सोही सन्दर्भसँग सम्बन्धित रहेर गरिएको गोष्ठी समय सान्दर्भिक भएको बताए । उनले भने, ‘कोरोना महामारीले विश्वलाई ठुलो चुनौती मात्रै दिएको छैन कि यसले एउटा अवसर पनि दिएको छ । हामीले यस चुनौतीलाई सामना गरी अवसरमा परिणत गर्नु पर्दछ ।’ उनले मानव जातिको सामूहिक प्रयत्नबाट विश्वका जुनसुकै प्रकारका खतराहरूको सामना गरी मानव जातिलाई बचाउन सकिने विचार व्यक्त गरे । सो कार्यक्रममा डा. गोविन्दशरण उपाध्यायले ‘कोभिड–१९ को सामाजिक तथा मनोवैज्ञानिक प्रभाव र यसको नियन्त्रणमा दर्शनको भूमिका’ विषयमा गोष्ठीपत्र प्रस्तुत गरेका थिए । उनले चुनौतीसँग जुध्दै मानव जातिले संकट पार लगाउनुपर्ने विचार व्यक्त गर्दै कोरोनाले ल्याएको समस्यासँगै अवसर पनि ल्याएको बताए । उनले संकटसँग जुध्ने तागतलाई दर्शनले बल मिल्ने जिकिर गरे ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटा, गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङ, राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा.डा.भरत झा, नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा.डा.लेखनाथ शर्मा, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंह, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्रा.डा.पुण्यराम रेग्मी, लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्य, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.अम्मराज जोशी, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा.रामकण्ठ माकजु, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवप्रकाश लामिछाने, पोखरा विश्वविद्यालयका उपकुपति प्रा.डा.प्रेमनारायण अर्याल, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवराज कोइराला र नर्वेजियन युनिभर्सिटी अफ लाइफ साइन्सेसका प्रा.डा.विशाल सिटौलाले मानव जातिको जीवनमा दर्शनको महत्व र त्यसको प्रभावका बारेमा आ–आफ्ना दृष्टिकोण राखेका थिए । सो कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङले प्रकृतिभन्दा शक्तिशाली अरु केही नहुने भन्दै मानव जाति प्रकृतिविरुद्ध जानु नहुने धारणा राखे । उनले कोरोनाले मानव जातिलाई प्रकृतितिर फर्किन बाध्य बनाएको जिकिर गर्दै मानव जीवनमा पूर्वीय दर्शनको विशेष महत्व रहेको विचार प्रस्तुत गरे ।

कार्यक्रमका संयोजक प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव एवं दर्शनशास्त्र विभागका प्रमुख प्रा. जगतप्रसाद उपाध्यायले अन्तर्राष्ट्रिय दर्शन दिवसको सान्दर्भिकता र महत्वबारे आफ्ना धारणा राखे । उनले भने, ‘आजको विश्वमा कोरोनाको रोकथामका उपायहरूको खोजी गर्नु, उच्च मनोबल बनाइ यसको सामना गर्नु र विचारको नवीकरण गर्नु नै यस वर्षको दर्शन दिवसको मूल सन्देश हो ।’ संकटमा दर्शनले मानिसलाई मनोबल उच्च राख्न अभिप्रेरित गर्ने बताउँदै सदस्य सचिव उपाध्यायले २१औँ शताब्दीमा यसको महत्व अझै बढ्दै गएको बताए । रविप्रसाद गुरागाईंले स्वागत मन्तव्य व्यक्त राखेको सो कार्यक्रमको सहजीकरण तथा प्रविधि संयोजन त्रिभुवन विश्वविद्यालय, बौद्ध अध्ययन केन्द्रका प्रमुख वेदराज ज्ञवालीले गरेका थिए ।

प्रतिक्रिया