ओलीलाई राष्ट्रवादको पाठ पढाउने कोसिस

सधैँ भारतीय ज्यादती सहने बानी परेका साइँदुवाहरू अहिले ओलीलाई राष्ट्रवादको पाठ पढाउने कोसिस गर्दैछन् । सबैलाई थाहा छ– केपी ओलीले भारतीय ज्यादतीका विरुद्ध आवाज उठाएकै कारण त्यति बेला पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग मिलेर प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका थिए र ओलीको सरकार ढलेको थियो ।’

अहिले पुनः प्रधानमन्त्री केपी ओलीलाई सरकारबाट हटाउने खेल सुरु भएको छ । र यो खेलमा कारण जेसुकै बताइए पनि, खेलाडी जो देखा परे पनि नेपालमा अस्थिरता चाहनेले खेलेको खेल हो यो, यसमा कोही भ्रममा नपरे हुन्छ । यहाँ देशी विदेशीको स्वार्थ मिलेको मात्र हो । भारत ओलीलाई सबक सिकाउन चाहन्छ भने उता पार्टीभित्र केपी ओली रहुन्जेल अरूको दाल नगल्ने भएर लोभीपापी पाँच भाइले ओलीलाई पार्टी छोड्न दबाब दिएका हुन् । प्रधानमन्त्री ओलीले आगामी निर्वाचन नलड्ने बताइरहँदा र जम्मा चार महिनापछि पार्टीको महाधिवेशनबाट सहज ढंगले पार्टी नेतृत्व चयनको बाटो हुँदाहुँदै अहिले प्रधानमन्त्रीविरुद्ध जसरी कदम चालिएको छ, ‘स्पष्ट छ यो षड्यन्त्र नै हो ।’ आफ्नै पार्टीका केही कठमुल्लावादीहरूले अहिले उहाँविरुद्ध ‘फतवा’ जारी गरेका छन्, नचाहिँदो दोष लगाएका छन् । यस्तो कार्यले नेपालमा पुनः नौ–नौ महिने सरकारको कार्यकाल सुरु हुने र नेकपा कहाँ पुग्ने हो ? धेरैका लागि चिन्ता र चासोको विषय भएको छ ।
अहिले नेकपा भित्रका पाँच भाइले चालेको कदम हठात् या अचानक चालेको कदम होइन । विभिन्न योजनाका साथ, सोचेर, गुणा, भाग गरेर चालिएको कदम हो, ‘अहिले प्रचण्डले सचिवालयमा प्रस्तुत गरेको प्रस्ताव ।’ पाँच भाइको सोचमा यो त्यस्तो ब्रह्मास्त्र हो, जसले पार्टीभित्र ओलीको प्रभाव र दबदबा सदाका लागि अन्त्य गर्नेछ । उनीहरूको मूल्यांकनमा अहिले ओलीको इमेज ओरालो लागेको छ र उहाँविरुद्ध प्रहार गर्ने उपयुक्त अवसर पनि यही हो ।

तर, अहिले ओलीलाई एउटा व्यक्ति मात्र सम्झिने भूल कसैले नगरे हुन्छ । पहिलो, उहाँ जननेता मदन भण्डारीको बहुदलीय जनवादको उत्तराधिकारी पनि हो । जबजलाई आफ्नो जीवनको आदर्श मान्ने लाखौँ कार्यकर्ताहरू अहिले पनि कतिपय कमीकमजोरीका बाबजुद ओलीलाई आफ्नो नेताका रूपमा सम्मान गर्दछन् । दोस्रो, उहाँ नेपालको एउटा त्यस्तो प्रधानमन्त्री पनि हो जसले राष्ट्रवादको झण्डा बलियोसँग उठाउनुभएको छ र जनताले त्यो अनुभव गरेका छन् । तेस्रो नेकपाभित्र अहिले पनि उहाँलाई बलियो साथ दिने केन्द्र र जिल्ला स्तरीय सयौँ नेताहरू हुनुहुन्छ जो आफ्नो क्षेत्रमा राम्रो पकड राख्नुहुन्छ । नेपालका गाउँ र सहरमा उहाँका समर्थकहरूको संख्या लाखौँमा छन् । उहाँको विरुद्ध षड्यन्त्र गर्नेहरूलाई यसको हेक्का त पक्कै होला । फेरि ओलीले आफन्तले मुटुभित्र दिएको चोटको हिसाब त पक्कै राख्नुभयो होला, उहाँले जवाफ फर्काउन त बाँकी नै छ ।

प्रधानमन्त्री ओलीका केही खास विशेषताहरू छन् । एउटा विशेषता – उहाँ जस्तोसुकै चोट र पीडा सहन सक्नुहुन्छ । छिमेकीको, विपक्षीको अनि आफ्नै पार्टीकाहरूले निरन्तर उहाँमाथि गरेको प्रहार हेर्दा लाग्छ उहाँका शरीर हाड मासु, छालाले नभई कुनै छुट्टै इस्पातले बनेको हो । प्रहारमाथिको प्रहार, निरन्तर प्रहार सहँदै प्रतिरोध गरिरहनेको नाम नै सायद केपी शर्मा ओली हो । केपी ओली बन्न त्यति सजिलो रहेनछ । नेपालको राजनीतिमा ओलीको आफ्नो छुट्टै फरक पहिचान छ । कुनै बेला नेपालमा माओवादी हत्या र हिंसाका विरोधमा निरन्तर कोही बोल्ने थियो भने त्यो ओली नै हुनुहुन्थ्यो । फेरि त्यही उग्र माओवादीलाई मूलधारको राजनीतिमा ल्याउनमा पनि उहाँको भूमिका रहेको छ ।

नेपाललाई १५ र त्योभन्दा अझ बढी जातीय राज्यमा विभाजन गर्न खोज्नेविरुद्ध कठोर आवाज उठाउने पनि ओली नै हो । उहाँ जहिले पनि जातिवाद र क्षेत्रीयतावादका विरुद्ध उभिँदै आउनुभएको छ । उहाँ कुनै बेला मधेसवादी भनिने दलहरूको प्रमुख शत्रु नै हुनुभएको थियो । नेपाललाई जातीय नामबाट बाँडफाँड गर्ने कुराको उहाँ जहिले पनि विरुद्ध उभिनु भयो । त्यस्तै प्रचण्ड प्रधानमन्त्री भएका बेला नेपाल आर्मीमा रुक्मांगद कटुवाललाई कु गर्न खोज्दा तत्कालीन राष्ट्रपतिलाई उचित सल्लाह र सहयोग गर्ने पनि ओली नै हुनुहुन्थ्यो ।

जब माधव नेपालको सरकारविरुद्ध सत्ताच्युत भएको माओवादीले घरेलु हातहतियारसहित कार्यकर्ता जम्मा गरी सिंहदरबार घेर्न लगायो, नेपाललाई खुट्टा नकमाउन, भरथेग र सहयोग गर्ने पनि केपी ओली नै हुनुहुन्थ्यो । तत्कालीन एमाले र कांग्रेसबीच कतिपय सवालमा चर्को विवाद हुन्थ्यो (समाधानका उपाय पत्ता लगाउने कार्य प्रायः ओलीले नै गर्नुहुन्थ्यो । त्यति वेला केपी ओली कुनै पदमा नहुँदा पनि धेरै थोक हुनुहुन्थ्यो । उहाँले राष्ट्रका खातिर, अरूको भागको पीडा र प्रहार पनि आफैँ झेल्नुभयो र अरूलाई जोगाउनुभयो । उहाँ जस्तोसुकै संकट र कठिन अवस्थामा पनि विचलित नहुने एउटा यथार्थ पात्र हो ।

यी र यस्तै विशेषताका कारण केपी ओली नेपालको राजनीतिमा एउटा विशेष स्थान बनाउन सफल हुनुभयो र अहिले उहाँ नेपालको चर्चित प्रधानमन्त्री हुनुहुन्छ । चर्चित यस अर्थमा कि उहाँ कतिपय शक्तिले नचाहँदा नचाहँदै पनि नेपाली जनको माया र विश्वासका कारण नेपालको प्रधानमन्त्री बन्नुभयो, यो स्वदेशी विदेशी कतिपयका लागि टाउको दुखाइको कारण भएको छ ।

ओलीको सबभन्दा सकारात्मक शक्ति हो, उहाँको राष्ट्रवादी भावना र सोच । उहाँको यो भावना र सोच, आतंकवादविरुद्ध उहाँको कठोर अडान, पृथकतावादी आन्दोलन गर्नेलाई मूलधारको राजनीतिमा ल्याउने कार्य, नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेप र चलखेलको विरोधमा उहाँको अडानमा प्रतिबिम्बित भएको छ । उहाँले भारतले कब्जा गरेको जमिन फिर्ताको जोडदार माग गर्नुभयो । छुटेको भू–भाग समावेश गरी नेपालको नयाँ नक्सा जारी गर्नुभयो । नागरिकता वितरण प्रणाली सुगम तर, विदेशीका लागि कडा प्रावधान राख्ने कार्यको थालनी गर्नुभयो । यी सबै राष्ट्र र जनताप्रति उहाँको जिम्मेवारीबाट निर्देशित कार्य हुन् ।

धेरै भएको छैन जति बेला भूकम्पले थिलथिलो भएको देश नेपालको विरुद्ध जब भारतले निर्दयतापूर्वक नाकाबन्दी सुरु ग¥यो, त्यति बेला भर्खर केपी ओली पहिलोपटक प्रधानमन्त्री बन्नुभएको थियो । भूकम्पले क्षति भएको र सरकारले आवश्यक सहयोग उपलब्ध गराउन असमर्थ भइरहेको मौका छोपी मधेसवादी दलले आन्दोलन र धर्ना गर्दा र त्यसमाथि नाकाबन्दी लगाउँदा ओलीको सरकार सजिलै ढल्छ भन्ने भारतको सोचाइ त्यति बेला फेल भयो जब त्यसको ठीक उल्टो नेपाली जनताले भारतको विरोध गर्दै प्रधानमन्त्री केपी ओलीलाई साथ दिए । मधेसवादी दलको गैरजिम्मेवारी कार्य र भारतीय नाकाबन्दीका विरुद्ध ओलीको अडानले जनतामाझ उहाँलाई एउटा शक्तिशाली राष्ट्रवादी नेताको रूपमा स्थापित गर्यो ।

त्यतिबेलाको सम्झना अझै पनि धेरैमा ताजा नै होला, भारतले त्यत्रो नाकाबन्दी लगाउँदा पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भारतविरुद्ध बोल्न त परै जाओस् नाकाबन्दीलाई नाकाबन्दीसमेत भन्ने आँट गर्न सकेन । तात्कालीन एमालेका वरिष्ठ भनाउँदा अन्य कतिपय माइकलालले पनि त्यतिबेला खुलेर भारतको विरोध गर्न सकेनन् । नेपालको राजनीतिक इतिहासमा केपी शर्मा ओली नै पहिलो प्रधानमन्त्री हुनुभयो जसले डंकाको चोटमा भारतीय ज्यादतीको विरोध गर्नुभयो । सधैँ भारतीय ज्यादती सहने बानी परेका साइँदुवाहरू अहिले ओलीलाई राष्ट्रवादको पाठ पढाउने कोसिस गर्दैछन् । सबैलाई थाहा छ– केपी ओलीले भारतीय ज्यादतीका विरुद्ध आवाज उठाएकै कारण त्यति बेला पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग मिलेर प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका थिए र ओलीको सरकार ढलेको थियो ।’

प्रतिक्रिया