दुई लाख भए संक्रमणमुक्त

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार ४३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएसँगै दुई लाख बढी संक्रमित निको भएका हुन् । नेपालमा योसँगै निको हुनेको २ लाख २ हजार ६७ पुगेको छ । हाल देशभर कुल संक्रमितको संख्या भने २ लाख २२ हजार २ सय ८८ पुगेको छ । जसमध्ये हाल १८ हजार ८ सय ८४ जनामा संक्रमण सक्रिय रहेको छ । आइतबार संक्रमणदर पनि कम देखिएको छ । १० हजार ३ सय ८१ पिसिआर परीक्षण गर्दा १ हजार ९ सय ८० जनामा संक्रमण देखिएको थियो । जुन संक्रमण दर १९ प्रतिशत हो । यस्तै आइतवारसँगै संक्रमणमुक्त हुने दर बढेर ९० दशमलव ९ प्रतिशत पुगेको छ । त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ३ सय ३७ पुगेको छ ।

यसैबीच, विश्व स्वास्थ्य संगठनले कोरोनाविरुद्धको खोप तयार भए नेपाललाई तीन प्रतिशत खोप उपलब्ध गराउने भएको छ । त्यसलाई भण्डारण गर्ने क्षमता नेपालले विकास गर्ने भएको छ । अहिले भएको क्षमतामा केही थप गरेमा डब्ल्युएचओले उपलब्ध गराउने तीन प्रतिशत खोप भण्डारण गर्न सक्ने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले बताए । अहिले भएको भण्डारणमा केही थप गरेमा तीन प्रतिशतमा पुग्ने भण्डारण गर्न सक्छ ।

त्यस्तै नेपालमा विगतदेखि नै भण्डारण गर्दै आएको र दुई डिग्रीदेखि आठ डिग्रीसम्मको आठ लाख डोज भण्डारण गर्न सक्ने क्षमता नेपालसँग रहेको डा. शर्माले जानकारी दिए । नेपालमा माइनस दुई देखि आठ डिग्रीसम्मको खोपको भण्डारमा केही तयारी गरेमा मात्रै सकिन्छ । तर धेरै कम्पनीहरूले माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने खोप ल्याउने चर्चा छ । त्यसले खोप भण्डारण तथा विदेशबाट खोप ल्याउन पनि प्राविधिक समस्या देखिन सक्छ ।

नेपालमा पहिलो चरणमा आउने खोप भनेको ‘डब्ल्युएचओ’ मार्फत हो । यो नेपालमा निःशुल्क आउँछ । तर, त्यो कसरी भण्डारण गर्ने भन्ने बारेमा नेपालले कस्तो भण्डारणको तयारी गर्ने भन्ने कुरा पनि अन्योल रहेको डा.गौतमले भने । ‘अहिले भएको उपकरणमा केही थप गरेमा हामीसँग माइनस १८ डिग्रीसम्म भण्डारण गर्न सक्छौ तर जनवरीसम्ममा खोपको फाइनल रिजल्ट आएसँगै थप कुरा गर्न सकिन्छ’ शर्माले जानकारी दिए । अहिले विश्वमा चार वटा खोपले सफलता प्राप्त गरेको जानकारी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दिइरहेका छन् ।

प्रतिक्रिया