नेकपाको विवाद र भविष्य : सचिवालय बैठकबाटै छिनोफानो !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को भविष्य आउँदो सचिवालय बैठकमा उत्पन्न हुने परिस्थितिले निर्धारण गर्ने नेताहरूले बताएका छन् । १० दिनको ‘कुलिङ पिरियड’मा दुवै पक्षका नेताहरूले पहल गरे पनि सार्थक वार्ता हुन सकेको छैन ।  ३ मंसिरमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालले लगाएको अभियोगपत्रको जवाफ १३ गतेको बैठकमा ल्याउने जवाफ दिएपछि सो दिनको पर्खाइमा दुवै पक्षका नेताहरू रहेका छन् । यसबीचमा मध्यस्थाकर्ताको भूमिकामा रहेका दुवै पक्षका नेताको भनाई शीर्ष नेताले नटेरेको र पाँच दिनको समय बितिसक्दा पनि दुई पक्षबीच वार्तासमेत हुन सकेको छैन ।

विशेषगरी प्रधानमन्त्री ओली दाहालसँग विशेष रुष्ट भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । पार्टीभित्र अन्तरविरोध हुनु सामान्य भए पनि पछिल्लो समय शत्रुतापूर्ण तहमा पुगेकाले परिस्थिति गम्भीर मोडमा रहेको महासचिव एंव अर्थमन्त्री बिष्णु पौडेलले बताएका छन् । उनले पार्टीभित्रका अन्तरविरोधहरू शत्रुतापूर्ण हुन् कि मित्रतापूर्ण हुन् भन्ने कुरा विचार गर्नुपर्ने बताए । ‘अन्तरविरोध हुन्छन् एउटा जीवन्त पार्टीमा तर त्यसलाई हामीले शत्रुतापूर्ण ढंगले सञ्चालन गर्छौं कि मित्रतापूर्ण ढंगले सञ्चालन गर्छौं’, उनले भने, ‘यसपटक चाहिँ अभिव्यक्ति, पदावलीहरू शत्रुतापूर्ण तहमा प्रकट भएका छन् । यो धेरै चिन्ता र दुःखको विषय हो । जहाँसम्म अभिव्यक्तिको प्रश्न छ, आफ्ना अभिव्यक्तिको जिम्मा हरेकले आफैं लिनुपर्छ ।’

महासचिव पौडेलको यस भनाइबाट ओली पक्ष दाहाल खेमासँग कति चिढिएको छ भन्ने देखाएको छ । ओलीले दाहालले लगाएका ७२ वटा आरोपको जवाफसहित आउने स्पष्ट पारिसकेका छन् । उनले आरोप पुष्टि भए अब कि मैले राजिनामा दिनुपर्छ नभए दाहालले अध्यक्ष पद छाड्नुपर्ने अभिव्यक्ति सचिवालय बैठकमै दर्ज गराइसकेका छन् ।

यता, दाहाल र उनलाई समर्थन गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह भने ओलीको जवाफको प्रतिक्षामा देखिएको छ । ओलीले थप आरोप लिएर आए आपूmहरू संयुक्त प्रस्ताव लिएर नजाने पक्षमा सो समूह देखिएको छ । दाहालले आफू पार्टी एकताकै पक्षमा निर्भीकतापूर्वक उभिएको बताउँदै अर्का अध्यक्षको जवाफको प्रतिक्षामा रहेको बताएका छन् । पूर्वमाओवादी केन्द्रका मध्यधारका नेताहरू सोमबार बिहान दाहाललाई भेट्न उनको निवास खुमलटार पुगेका थिए ।

स्थायी कमिटी सदस्य हरिबोल गजुरेल, टोपबहादुर रायमाझीलगायत नेताहरू दाहाललाई भेट्न पुगे पनि सहमतिको विन्दु भने पहिल्याउन सकेनन् । भेटमा दाहालले प्रस्ताव फिर्ता नहुने र पार्टीमा देखिएका समस्याहरूको छलफलबाहेक अर्को विकल्प नभएको बताएको नेताहरूको भनाइ छ । दाहालले पार्टीको भाग्य र भविष्य ओलीको प्रतिवेदनले निर्धारण गर्ने पनि बताएको उनीहरूको भनाइ छ ।

‘दुवै दस्तावेज केन्द्रीय कमिटीमा लैजानुपर्छ । त्यहाँबाट सुझावहरू आउँछ । विवाद समाधान गर्ने उपाय आउँछ’, नेता रायमाझीले भेटपछि भने, ‘एकआपसमा कति आरोप हुन्, कति साँचो हुन् सदस्यहरूले छान्ने मौका पनि पाउँछन् । बहसले राम्रै गर्छ ।’ उनले पार्टी एकता नटुटोस् भनेर आफूहरूले भूमिका खेलिरहेको पनि जानकारी दिए । नेताहरूले दुवै पक्षबीच एकताको प्रयास गरे पनि त्यो अहिलेसम्म सम्भव देखिएको छैन । दुवै पक्षले फुटको अवस्थामा पार्टी पुगेको स्वीकार गरे पनि कसले पहिला फोड्ने भन्नेमा अन्यौल देखिएको छ ।

‘सरकार परिवर्तन हुँदैन’
घुन्सा । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन् । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको जनाउँदै उनले यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह गरे ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको उद्घाटन गर्दै उनले सरकार मुलुकको समृद्धिका लागि चौतर्फी रूपमा लागिपरेको जनाउँदै देशको समृद्धि नचाहने मान्छे विभिन्न तत्व सरकारविरुद्ध लागेको बताए । ‘हामी समृद्धिका लागि अघि बढिरहेका छौँ तर केही पक्ष लोकतान्त्रिक प्रणालीविरुद्ध भ्रम फैलाइरहेका छन्, यो कार्य त्रुटिपूर्ण हो’, प्रधानमन्त्री ओलीको भनाइ थियो ।

उनले छिमेकी मुलुकसँगको सम्बन्धलाई सुदृढ गर्ने नीति सरकारले लिएको जानकारीसमेत गराए । छिमेकी भारतद्वारा मिचिएको भूमि फिर्ता लिन गर्न गरेको प्रयास, भारत र चीन दुवैसँगको सम्बन्धलाई अझ सुधार, बन्द नाका खोल्ने जस्ता कार्यले वर्तमान सरकार सफल हुँदै गएको उनको भनाइ थियो ।

प्रतिक्रिया