टिच फर नेपालमा फेलोशिपका लागि आवेदन खुला

काठमाडौं । नेपालमा शैक्षिक समानताको लागि कार्यरत टिच फर नेपाल अभियानले आगामी सत्रको लागि आवेदन भर्न नेपाली युवाहरूलाई आह्वान गरेको छ । आवेदनको म्याद माघ १८ (जनवरी ३१) सम्म छ । टिच फर नेपालले सामाजिक रुपान्तरणमा लागि पर्न सक्ने अब्बल नेपाली युवालाई आफ्नो अभियानमा सामेल हुन अपिल गरेको छ । यस अभियान अन्तर्गत हरेक प्रज्ञार्थीले २ वर्षसम्म प्रतिबद्ध भएर नेपालका ग्रामीण भेगमा रहेका विभिन्न सार्वजनिक विद्यालयहरूमा काम गर्नुपर्ने हुन्छ ।

ʽटिच फर नेपाल अभियान प्रज्ञार्थीहरूको लागि आफ्नो र विद्यार्थीहरूको नेतृत्व विकासको यात्रा हो ।ʼ टिच फर नेपालका भर्ना, छनोट, तथा प्रशासन निदेर्शक शैलेन्द्र झाले आवेदन खुला भएको जानकारी गराउन आयोजित भर्चुअल कार्यक्रममा यस कुराको जानकारी दिए । उनले दुई वर्षको अनुभवबाट प्रज्ञार्थीहरूले सीमित स्रोत र साधन प्रयोग गरेर पनि प्रगति उन्मुख सोच भएका युवा जमातसँग सहकार्य गनी समाज परिवर्तन को कार्य कक्षाकोठाबाट गर्न सकिने फेलोसिप एउटा सुनौलो अवसर भएको बताए ।

कार्यक्रममा सहभागिलाई प्रेरित र हौसला प्रदान गर्न आएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले गाउँघर गएर सिक्नु भनेको देश विदेशमा पढेको कुरालाई जस्ताको त्यस्तै साभार गरेर विकास गर्ने होइन, बरु गाउँघरबाट सिकेर त्यहाँको विकासका लागि चाहिने नयाँ प्रविधि विकास गर्ने हो । “गाउँ समाजसँगको सहकार्य र सहभागिता मूलक कार्यलाई हरसम्भव प्रयास गरेर विकासको नयाँ मोडल नि बनाउने हो” उनले थप जोड दिंदै भने ।

भारतबाट बायोटेक्नोलोजी र जेनेटिक इन्जिनियरिङ्मा स्नातक गरेका टिच फर नेपालका पुर्व प्रज्ञार्थी एवम् हाल छनौट विभागका प्रबन्धक राम केशर थापा टिच फर नेपालको अनुभवले समाजलाई नजिकबाट हेर्न पाएको बताए । ʽगाउँघरमा पाइने पहिलो अनुभवले व्यवहारिक शिक्षाको महत्व बुझाउन सहयोग गर्ने र आफूले बुझेको विज्ञान विषयलाई समुदाय भित्रै पाइने स्रोत साधन प्रयोग गरि बालबालिकाहरुलाई सिकाउने र उनीहरुलाई भविष्यमा सहज रुपमा विज्ञान र प्रविधि कसरी अँगाल्ने भन्ने सिकाउन पाएँ । पढाइ नै छाड्ने मेरा धेरै विद्यार्थीहरु हाल काठमाडौँमा विज्ञान र प्राविधिसँग सम्बन्धित शिक्षा नै हाँसिल गरिरहेका छन् ।’

यस अभियानमा आबद्ध हुन जुनसुकै शैक्षिक पृष्ठभूमि र पेशागत अनुभव भए पनि न्यूनतम स्नातक उत्तीर्ण हुनुपर्ने छ । सन् २०२१ का लागि टिच फर नेपालले शैक्षिक रुपमा सबल, परिवर्तनको लागि इच्छा शक्ति भएका, प्रतिबद्ध र नेतृत्वदायी भूमिका खेल्नसक्ने र लक्ष्यलाई प्राथमिकताका साथ लिई अघि बढ्न सक्ने युवा खोजिरहेको बताउँछन् छनौट विभागका निर्देशक, शैलेन्द्र झा ।

२ वर्ष सामुदायिक विद्यालयमा शिक्षक र समुदायमा परिवर्तनको संवाहकका रूपमा काम गर्ने टिच फर नेपालका प्रज्ञार्थीहरूले मासिक निर्वाह भत्ता पाउनेछन् । इच्छुकहरूले www.teachfornepal.org मा गइ आवेदन दिनुपर्ने छ । आवेदनको अन्तिम मिति २०७७ माघ १८ मा रहेको छ ।

प्रतिक्रिया