स्वर्गद्वारी र ऐरावतीका विद्यालय सञ्चालनमा

प्युठान । कोरोनाको संक्रमणका कारण बन्द रहेका प्युठानको स्वर्गद्वारी नगरपालिका र ऐरावति गाउँपालिका भित्रका विद्यालय सञ्चालन भएका छन् । नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ अनुसार स्वास्थ्य मापदण्ड पुरा गर्दै विद्यालय सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

शनिबार बसेको ऐरावति गाउँपालिका स्तरीय सर्वपक्षिय सर्वदलिय बैठकले (मंसिर ७ गते) आजदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले जानकारी दिए । विद्यालयलाई स्वास्थ्य मापदण्डहरु पालना गरी उच्च सतर्कताका साथ सजकता अपनाई विद्यालय सञ्चालन गर्न आग्रह गरिएको शाहले बताए ।

यस्तै आज नै बसेको स्वर्गद्वारी नगर शिक्षा समिति र कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको संयुक्त बैठकले नगरपालिका भित्रका विद्यालय मंसिर ८ गतेदेखि सञ्चालन गर्ने गरिएको नगरपालिकाका मेयर नेत्रबहादुर रोकायले जानकारी दिए ।

स्वास्थ्य मापदण्ड पुरा गर्दै प्राथमिक विद्यालयका सबै कक्षाहरु सञ्चालन हुनेछन् भने आधारभुत र माध्यमिक तहका विद्यालयको हकमा मंसिर १९ गतेसम्म जोर विजोर प्रणालीमा कक्षा सञ्चालन गरिने भएको हो ।

साथै कोभिड १९ संक्रमण रोकथामको लागि नगरपालिकाअन्तर्गत हुने कूल पूजा (देवाली) स्वास्थ्यको मापदण्ड अपनाइ प्रतिनिधि मूलक तवरले भिड्भाड नहुने गरी गर्न अनुरोध समेत गरेको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन् (डिसिसिएमसी) को गत बिहीवार बसेको बैठकले बिद्यालय पठनपाठन स्थानीय तहले कोभिडको अवस्था, सहजता हेरेर आवश्यक निर्णय लिन सक्ने निर्णय गरेको थियो ।

सोही अनुसार पालिकाहरुले विद्यालय खोल्ने निर्णय गरेको हो । ऐरावति गाउँपालिकाभित्र ५१ वटा विद्यालय र स्वर्गद्वारी नगरपालिका भित्र ४३ वटा विद्यालय रहेका छन् ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया