कोरोना संक्रमणदर उस्तै

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ६७४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार १४४ पिसिआर परीक्षण गर्दा २०.५५ प्रतिशतमा संक्रमण देखिएको हो । काठमाडौं उपत्यकामा सर्वाधिक परीक्षण र संक्रमित फेला परेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा ८९९ संक्रमित थपिएका छन्, उनीहरुमध्ये काठमाडौंका ६८५ जना, ललितपुरका १६५ र भक्तपुरका ४९ जना छन् ।

यसैगरी कास्कीका ७५ जना, चितवनका ६१, झापा र रुपन्देहीका ५७÷५७ जना, काभ्रेका ५६, तनहुँका ४४, कैलालीका ४०, बाँकेका ३९, कपिलवस्तु र नवलपरासीका ३३÷३३ जना, नवलपुरका २८, मकवानपुरका २५, पाल्पाका १९, धादिङका १८, बर्दियाका १७, धनुषाका ११, दाङका १०, गोरखाका ९ र नुवाकोटका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

केही महिनादेखि जाँचिएका नमुनामा ठूलो दरमा संक्रमण देखिने क्रम जारी छ । यो वृद्धिसँगै नेपालमा पुष्टि भएका संक्रमितको कुल संख्या दुई लाख १८ हजार नाघेको छ । अहिले देशभरि २४ हजार ९ जनामा सक्रिय संक्रमण छ । शनिवार संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ । अहिलेसम्म १ हजार ३०५ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयको तथ्यांकले देखाउँछ । तीमध्ये काठमाडौं उपत्यकामा ४९० जनाको मृत्यु भएको छ ।
मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म पुष्टि भएका संक्रमितमध्ये एक लाख ९३ हजार ३२५ जना निको भइसकेका छन् । नेपालमा संक्रमितहरू निको हुने दर ८८.४ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया