चीनलाई चन्द्रमामा पुर्याउने वैज्ञानिक : चियाङ

एजेन्सी । एक जना चिनियाँ वैज्ञानिकले एउटा होइन, दुई महाशक्ति राष्ट्रलाई चन्द्रमामा पुर्याउन सहयोग गरे । तर उनको कथा एउटा देशले मात्र सम्झिन्छ । सांघाइमा ७० हजार कलाकृति राखिएको एउटा संग्रहालय छ । ती सबै कलाकृति एउटै व्यक्तिलाई समर्पित छन्, जनताका वैज्ञानिक अर्थात् चियाङ स्वीजनलाई । तिनै चियाङ चीनको क्षेप्यास्त्र र अन्तरिक्ष कार्यक्रमका पिता हुन् ।

उनको अनुसन्धानले चीनको पहिलो भू–उपग्रह अन्तरिक्षमा पठाउने रकेट विकास गर्न र आणविक हतियारको रूपमा क्षेप्यास्त्र बनाउन सहयोग ग¥यो । अनि उनी राष्ट्रिय नायकका रूपमा स्थापित भए । तर अर्को महाशक्ति, जहाँ उनले अध्ययन र एक दशकभन्दा बढी काम गरे, त्यहाँ उनको महत्वपूर्ण योगदानलाई बिरलै याद गरिन्छ । चियाङ सन् १९११ मा जन्मिएका हुन् । त्यसबेला चीनमा अन्तिम राजवंशलाई समाप्त पार्दै गणतन्त्र स्थापना हुन लागेको थियो । उनका बाबुआमा नै शिक्षित थिए र उनका पिताले जापानमा काम गरेर फर्किएपछि चीनको राष्ट्रिय शिक्षा प्रणालीको स्थापना गरेका थिए ।

बाल्यकालमै उनी तीक्ष्ण थिए भन्ने प्रमाणहरू देखिएका थिए र अन्ततः उनी सांघाईको जिआओ टोङ विश्वविद्यालयमा स्नातक तहमा प्रथम भए । उनले अमेरिकाको म्यासाच्युसेट्स इन्स्टिट्युट अफ टेक्नोलोजी एमआइटीको एउटा दुर्लभ छात्रवृत्ति पाए ।
सन् १९३५ मा उनी बोस्टन पुगे । युनिभर्सिटी अफ नर्थ जोर्जियाको इतिहासका प्राध्यापक क्रिस जेस्पर्सन उनले विदेशीप्रतिको घृणा र रंगभेदको सामना गरे भन्ने ठान्छन् । तर त्यसबेला त्यहाँ आशा र विश्वास पनि थियो र चाँडै मानिसहरूले उनको ज्ञानको सम्मान गर्न थाले ।

हंगेरीका आप्रवासी थियोडर भोन कार्मन त्यसबेलाका एकदमै प्रभावशाली एरोनटिकल इन्जिनियर थिए । उनले क्यालिफोर्निया इन्स्टिट्युट अफ टेक्नोलोजी क्यालटेकमा अध्यापन गर्थे । उनीसँगै पढ्नका लागि चियाङ क्यालटेकमा गए । उनी र अर्का उल्लेखनीय वैज्ञानिक फ्रान्क मलिनाले एउटै कार्यालयमा बसेर काम गरे । फ्रान्क ‘सुसाइड स्वाड’ भनेर चिनिने आविष्कारकहरूको एउटा सानो समूहको मुख्य सदस्य थिए ।

आफ्नो ज्ञानका कारण चियाङ पनि उक्त समूहमा प्रवेश गरे । ‘इस्केप फ्रम अर्थ ः अ सेक्रेट हिस्ट्री अफ द स्पेस रकेट’ नामक पुस्तकका लेखक फेजर म्याकडोनल्डका अनुसार त्यसबेला रकेट निर्माणको कुरा गर्दा धेरैले त्यसलाई काल्पनिक भन्थे । तर दोस्रो विश्वयुद्ध सुरु भएसँगै त्यसमा परिवर्तन आयो । सुसाइड स्वाडप्रति अमेरिकी सेनाले चासो दियो ।

सैन्य बजेटमै सन् १९४३ मा त्यहाँ जेट प्रोपल्सन ल्याब जेपीएल स्थापना भयो । त्यसको निर्देशकमा कार्मन नियुक्त भए भने चियाङ र मलिना त्यो कार्यक्रमको मुटुजस्तै बने । त्यसबेला चीन र अमेरिका साझेदार राष्ट्र थिए । त्यसैले चियाङमाथि कुनै शंका नगरिएको म्याकडोनल्ड बताउँछन् । चियाङलाई गोप्य हतियार अनुसन्धानका लागि पनि अनुमति दिइएको थियो ।

विश्वयुद्धको अन्त्यसम्म उनी विश्वका जेट प्रोपल्सन प्रविधिका एक अग्रणी विज्ञ बनिसकेका थिए । उनलाई अस्थायी लेफ्टिनेन्टको पद दिइएको थियो र कर्मानसँगै युद्धपछि जर्मनी पठाइएको थियो । उक्त टोलीको काम जर्मन नाजी इन्जिनियरहरूले जानेको प्रविधिबारे थाहा पाउनु थियो । तर चियाङको चमकदार अमेरिकी करिअर अचानक रोकियो ।
सन् १९४९ मा चीनमा माओको नेतृत्वमा कम्युनिस्ट जनवादी गणतन्त्र स्थापना भएपछि अमेरिकामा चिनियाँहरूलाई शंकाको नजरले हेर्न थालियो । त्यसैबेला जेपीएलका नयाँ निर्देशकले आफ्नो प्रयोगशालामा जासुसहरू रहेको विश्वास गरे र एफबिआईलाई आफ्ना केही कर्मचारीप्रति शंका रहेको बताए । ‘तीमध्ये सबै कि त चिनियाँ थिए कि यहुदी थिए,’ म्याकडोनल्ड भन्छन् ।

शीतयुद्ध सुरु हुँदै थियो र कम्युनिस्टहरूलाई खोजीखोजी कारबाही गरिन्थ्यो । एफबिआईले चियाङ र मनिलालाई कम्युनिस्ट भएको आरोप लगाउँदै राष्ट्रिय सुरक्षाका लागि खतरा भएको बतायो ।

चियाङविरुद्ध सन् १९३८ को अमेरिकी कम्युनिस्ट पार्टीको एउटा दस्तावेजलाई प्रमाणका रूपमा लिइयो । त्यसमा उनी एउटा सामाजिक भेटघाटमा सरिक भएको प्रमाण थियो । यद्यपि चियाङले पार्टीको सदस्य भएको अस्वीकार गरे ।

म्याकडोनल्डका अनुसार त्यसबेला कम्युनिस्ट हुनु भनेको रंगभेदविरुद्ध आवाज उठाउनु हुन्थ्यो । त्यसैले उनी माक्र्सवादी नै बनेका थिए भन्न नहुने उनको भनाइ छ । उनलाई पाँच वर्ष नजरबन्दमा राखियो । उनी निर्दोष रहेको भनेर क्यालटेकका कैयौँ सहकर्मीले सरकारलाई पत्र लेखे तर उनलाई मुक्त गरिएन । सन् १९५५ मा उनलाई अमेरिकाबाट देशनिकाला गरेर चीन पठाउने निर्णय भयो ।

उनले पत्नी र अमेरिकामा जन्मिएका दुई सन्तानसहित अमेरिकामा कहिल्यै पाइला नटेक्ने बताउँदै अमेरिका छाडे । उक्त वाचालाई पूरा गरेर उनी त्यसपछि कहिल्यै अमेरिका गएनन् । उनी चीनमा एउटा नायक जसरी प्रवेश गरे तर लगत्तै चिनियाँ कम्युनिस्ट पार्टीमा प्रवेश गरेनन् । उनी सन् १९५८ मा पार्टी सदस्य बने ।

चियाङ चीन पुग्दा चीनमा रकेट विज्ञानबारे खासै ज्ञान थिएन । तर, १५ वर्षपछि उनले अन्तरिक्षमा पहिलो चिनियाँ भू–उपग्रह प्रक्षेपणको नेतृत्व गरे । त्यो दशकभरि उनले नयाँ पुस्ताका वैज्ञानिकहरूलाई प्रशिक्षण दिए र उनैले सुरु गरेको आधार टेकेर चीन चन्द्रमामा अवतरण गर्न सफल भयो । चियाङले बनाएका र चीनले अन्य देशलाई बेचेका क्षेप्यास्त्रहरू विभिन्न युद्धमा अमेरिकासँग आमनेसामने भएका छन् । अहिले पनि चीन र अमेरिकाबीच सम्बन्ध बिग्रिएको छ । तर यो बेला सिद्धान्तभन्दा पनि व्यापार युद्ध चर्केको छ ।

अधिकांश अमेरिकीलाई अमेरिकी अन्तरिक्ष कार्यक्रममा चियाङको योगदानको जानकारी छैन । तर, अमेरिकामै बसोबास गरिरहेका चिनियाँ र चिनियाँ विद्यार्थीहरूले उनलाई चिन्छन् र उनीहरूले उनले अमेरिका छाड्नुपर्ने अवस्थालाई अहिलेको समानार्थी महसुस गर्छन् । (बिबिसी)

प्रतिक्रिया