किन मनाइन्छ काग तिहार ?

रमादेवी पौडेल

कागलाई विशेषगरी अशुभ सन्देश प्रवाह गर्ने पन्छीका रूपमा लिइन्छ । धर्मशास्त्रअनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने गरेको मान्यता रहेको छ ।

नेपालीले बडादसैँ लगत्तै मनाउने अर्को ठूलो र महत्वपूर्ण चाडको हो– तिहार अर्थात् यमपञ्चक । यही तिहारको पहिलो महत्वपूर्ण दिनलाई काग तिहार भनिन्छ । पाँच दिनसम्म मनाइने तिहार पर्वअन्तर्गत कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुल्क द्वितीया तिथिसम्म विभिन्न चाड पर्छन् । तिहार पर्वको आरम्भ काग तिहारबाट हुन्छ । काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ । काग तिहारमा कागलाई यमराजको सन्देश वाहकका रूपमा पूजा गरिन्छ । काग तिहारका दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ । काग अर्थात सन्देश प्रवाहक प्राणी, काग करायो भने केही सन्देश या पाहुना आउने जनाउका रूपमा नेपाली समाजमा लिने चलन अझै छ ।

कागलाई विशेषगरी अशुभ सन्देश प्रवाह गर्ने पन्छीका रूपमा लिइन्छ । धर्मशास्त्रअनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने गरेको मान्यता रहेको छ । आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेका हुन् । तर, काग तिहारमा भने यी सबै नकारात्मक मान्यताहरूलाई बिर्सिएर कागको पूजा गरिन्छ ।

काँ काँ गरेर चर्को र झर्कोलाग्दो स्वरमै भए पनि कागले सन्देश बोकेर ल्याउने जनश्रुति रहेको छ, काग एउटा बाठो पन्छी हो र यसले हाम्रो बालीनालीमा भएका दुर्गुणी किराफट्यांग्रालाई खाइदिएर अन्न उत्पादनमा र मांशजन्य फोहरहरू खाइदिएर सरसफाइमा सहयोग गर्दछ । त्यसैगरी हाम्रो सामाजमा कागलाई काकगवेषण, काकन्याय तथा काकबलि आदि विविध शब्दले काग चरित्रको चर्चा गरिन्छ । हाम्रो वैदिक सनातन संस्कारमा टेक्ने माटोदेखि श्वास फेर्ने हावा अनि बर्सिने बादलदेखि गर्जिने बाघसम्म, कुकुरदेखि काग अनि बोटविरुवासम्म सबैकुरामा पवित्रता र भगवान् तत्वको गुण स्वीकारिएको छ ।

आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । कागतिहारमा कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । आज कागतिहारकै दिन समुन्द्र मन्थनका क्षण उत्पत्ति भएका आयुर्वेदका प्रवर्तक धन्वन्तरी ऋषिको सम्झनामा धन्वन्तरी दिवस पनि मनाइन्छ । आज यमदीप दान गर्नाले यमराजको यातनाबाट मुक्त हुने अर्को धार्मिक विश्वास छ । यमदीप दान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको छ ।

सेलरोटीको मिठास अनि दियोको प्रकाशका साथै देउसी अनि भैलोका संगीतहरू गुञ्जायमान यस पर्वको हर्षोल्लास वास्तवमै अद्भूत छ । काग, कुकुर, गाई, गोरु र दाजुभाइको पूजा क्रमैसँग यमपञ्चकका पाँच दिनमा गरिने यस तिहार पर्व मनाइने बारेमा धेरै किंवदन्तीहरू पाइन्छन् । जसमध्ये एकदमै प्रचलित कथा यम र उनकी बहिनीको प्रसंग छ । मृत्युका देवता यम आफ्नी बहिनी यमुनासँग धेरै समयदेखि भेट्न पाएका थिएनन् । यमुनालाई आफ्नो दाजुसँग भेट्न धेरै इच्छा भएर विभिन्न माध्यमहरूमार्पmत दाजुलाई भेट्न आउन निम्तो पठाइन् । उनले यमसमक्ष सुरुमा काग अनि कुकुर, गाई अनि अन्त्यमा आपैmँ गएर दाजुलाई भेटेको प्रसंग छ । दाजुलाई भेटेपछि उनले दाजुलाई टीका, फूलमालाले पूजा गरी रंगीन टीका निधारमा लगाएकी थिइन् । तोरीको तेलले दाजु वरिपरि रेखा कोरेर मखमली फूलको र दूबोको माला लगाइदिई पूजा गर्दै भाइटीका लगाएकी थिइन् । त्यही क्रमलाई यमपञ्चकको पाँचाँै दिनमा भाइटीका लगाएपछि तिहारको विधिवत अन्त्य हुन्छ ।

काग तिहारमा बिहानैदेखि कागको पूजा गरिन्छ, घरबाहिर विभिन्न खानेकुराहरू पात या दुना टपरीमा कागका लागि भनेर राखिन्छ र वर्षभरि कागले घरआँगनमा सुखद् र प्रगतिशील खबर अनि भाग्यका कुराहरू मात्र ल्याओस् भनेर कामना गरिन्छ ।
उता सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा भने अलिक फरक ढंगले काग तिहार मनाइन्छ । सुदूरपश्चिमको स्थानीय भाषमा नरहरि भनिने यस चाड माघे संक्रान्ति अर्थात पुसे तिहार भनेर मनाइन्छ । सुदूरपश्चिमका जिल्लामा पुसे तिहार अर्थात माघे संक्रान्तिमा कागलाई सेल रोटी र अन्य मिठा परिकारहरू खुवाउने चलन रहेको छ । हरेक वर्ष पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागलाई दिने गरिन्छ ।

काग र कोइलीको अत्यन्त प्रसिद्ध कथा र चलन त हामी सबैले सुनिआएको छौँ । कोइलीले आफ्नो अण्डा गएर कागको गुँडमा पार्ने अनि कागले त्यसको अण्डा कोरलेर कोइलीको बच्चालाई आफ्नै सन्तान भनेर हुर्काउने गर्दछ । यसअर्थमा चर्को स्वरमा नमिठोसँग कराउने कालो काग नै सुरिलो स्वर भएका हरेक कुहूकुहू गरेर बसन्तमा कराउने कोइलीको जीवनरक्षार्थ अभिभावक हो, काग र कोइलीको यो सहअस्तित्वले हामीलाई धेरै सकारात्मक कुराहरूको उदाहरण दिएको छ ।

घरघरमा केराका बोटहरू लगायत अन्य प्रकारका झिलीमिली द्वारहरू बनाएर साँझमा दीप प्रज्ज्वलन गरिन्छ । विभिन्न प्रकारका पटाकाहरू पड्काउने चलनका साथै तराईमा सन्ठी अर्थात जुटको भित्रपट्टिको हलुका लठ्ठिहरूको मुठालाई बालेर खेतमा गएर हुक्का खेल्ने चलन छ । रमाइलोको यो माहौलमा सजग र सुरक्षित रहन पनि एकदमै जरुरी छ । किनकी यस वर्ष कोरोनाको महामारी छ ।

प्रतिक्रिया