‘मेडे’ मा अमिताभ

मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चन र अजय देवगण एक साथ चलचित्र देखिने भएका छन् । उनीहरुले सात वर्षअघि चलचित्र ‘सत्याग्रह’ मा एकसाथ काम गरेका थिए । अभिनेता अजयले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र ‘मेडे’ मा अभिनेता अमिताभले काम गर्ने पक्का भएको छ ।

चलचित्रमा अजयले पाइलटको भूमिकामा देखिनेछन् । डिसेम्बरबाट हैदारवादमा यो चलचित्रको छायांकन सुरु गरिने निर्माण पक्षले जनाएको छ । यसअघि अजय र अमिताभले चलचित्र ‘मेजर साब, खाकी र सत्याग्रह’ मा एकसाथ काम गरेका थिए । अजयले यसअघि चलचित्र ‘शिवाय’ को निर्देशन गरेका थिए । अहिले अजय चलचित्र ‘भुजः दि प्राइड अफ इन्डिया’ को छायांकनमा व्यस्त छन् । चलचित्र बजार विश्लेषक तरण आदर्शले ट्विट गर्दै यी दुवै अभिनेता चलचित्रको पर्दामा पुनः एकसाथ आउन लागेको जानकारी दिएका हुन् ।

उनले ट्विट लेखेका छन्, ‘ठूलो समाचार छिट्टै थ्रिलर ड्रामा फिल्म ‘मेडे’ मा अमिताभ बच्चन र अजय देवगणसँगै आउने । तपाईंहरूलाई भनिहालूँ अजय देवगण र अमिताभ बच्चनले पहिला पनि एकसाथ कयौं सुपरहिट र शानदार फिल्म गरिसकेका छन् जसमा ‘मेजर साब’, ‘खाकी’, ‘सत्याग्रह’ र ‘हम किसी से कम नही’ छन् । र यो ‘मेडे’ बाट सात वर्षपछि दुवै जना पुनः एकसाथ देखिनेछन् ।’ यो चलचित्रका लागि अजय र अमिताभ तय भइसकेको भए पनि अन्य कलाकारको छनोट बाँकी रहेको जनाइएको छ । अजयले ‘छलांग’, ‘द बिग बुल’ र ‘त्रिभंगा’ चलचित्र बनाइरहेका छन् । यसैगरी उनी ‘सूर्यवंशी’, ‘आरआरआर’ र ‘मैदान’ मा देखिनेछन् ।

प्रतिक्रिया