धर्मको महलमा हिन्दू नलेखेर ‘मष्टो’ लेख्ने अभियान

अञ्जु कार्की

अतिवादी हिन्दूहरूको भनाइमा ‘मष्टो’ भनेको कुनै अलग्गै धर्म नभएर हिन्दू अन्तर्गतकै महाजाति खसहरूको संस्कार हो । के उसो भए हिन्दू भनेको धर्म हो त ? भन्ने प्रश्नको जवाफ नेपालका अतिवादी हिन्दूहरूसँग छैन । यता धर्म सम्प्रदायको आडमा राजनीति गर्नुपर्ने अवस्थामा डा. बाबुराम भट्टराई पुग्लान् भन्ने अनुमान संविधान जारी हुनु अघिसम्म कसैले गरेका थिएनन् ।

आगामी जनगणना २०७८ मा धर्मको महलमा हिन्दू नलेखेर ‘मष्टो’ लेख्न डा. बाबुराम भट्टराईको पार्टी संघीय समाजवादीले खस–आर्य तथा दलित समुदायमा सर्कुलर जारी गरेको छ । हिन्दू अतिवादीहरू यो सर्कुलरको प्रतिकारमा उत्रेका छन् । हिन्दू अधिराज्य कायम हुनुपर्ने आपूmहरूको मागलाई निस्तेज तुल्याउन यो षड्यन्त्र गरिएको बुझाई अतिवादी हिन्दूहरूको छ । अतिवादी हिन्दूहरूको भनाइमा ‘मष्टो’ भनेको कुनै अलग्गै धर्म नभएर हिन्दू अन्तर्गतकै महाजाति खसहरूको संस्कार हो । के उसो भए हिन्दू भनेको धर्म हो त ? भन्ने प्रश्नको जवाफ नेपालका अतिवादी हिन्दूहरूसँग छैन । यता धर्म सम्प्रदायको आडमा राजनीति गर्नुपर्ने अवस्थामा डा. बाबुराम भट्टराई पुग्लान् भन्ने अनुमान संविधान जारी हुनु अघिसम्म कसैले गरेका थिएनन् ।

वेद तथा पुराणमा स्पष्ट भनिएको छ, ‘कलियुग लागेपछि च्याउ उम्रे जसरी सम्प्रदायहरू जन्मन थाल्छन्, धर्म लोप हुँदै जान्छ, संप्रदायलाई नै धर्म भन्न थालिनेछ ।’ कुरा स्पष्ट छ, आजभन्दा २६ सय वर्ष अघिसम्म विश्वमा मानव धर्म मात्रै थियो । जसलाई सनातन धर्म भनेर परिभाषित गरिन्थ्यो । सनातनको अर्थ हो चलिआएको । वेदको अभिलेखीकरणपछि यसलाई वैदिक सनातन धर्म भन्न थालियो । करिब २६ सय वर्षअघि सिद्धार्थ गौतमले शान्ति र अहिंसाका लागि ज्ञान तथा योग दर्शन ल्याए । उनले ज्ञान तथा योग दर्शनमा मानिसहरूलाई प्रबुद्ध गराउने प्रचारप्रसारको पनि थालनी गरे । धेरै प्रबुद्ध व्यक्तिहरू जन्माए । प्रबुद्ध व्यक्तिहरूको ठूलो सम्प्रदाय बन्यो । जुन संप्रदायलाई बुद्ध धर्म भन्न थालियो ।

करिब दुई हजार वर्षअघि मानिसलाई अपराधिक कर्ममा संलग्न हुन नदिन र अपराधिक कर्ममा लागि सकेकालाई सत्मार्गमा फर्काउन इसु ख्रिस्टले ठूलो ग्रन्थ लेखे । जसलाई बाइबल भनियो । बाइबलको अनुसरण गर्नेहरूको ठूलो सम्प्रदाय बन्दै गयो । जसलाई इसाई धर्म भन्न थालियो । करिब १४ सय वर्षअघि हजरत मोहम्मदले मानव जीवनलाई स्वास्थ्य बनाउन, शासन सत्तालाई नैतिक बनाउन र शान्ति तथा भाइचारा कायम गर्न ठूलो ग्रन्थ लेखे । जसलाई कुरान भनियो । उनले शान्तिका लागि निश्चित जमात तयार गरे । यो जमातलाई इस्लाम भनियो । इस्लामको अर्थ शान्ति हो ।

यसरी आजभन्दा करिब एक हजार वर्षअघिसम्म पनि विश्वको ठूलो भूखण्डमा मुख्य गरी बौद्ध, इसाइ र इस्लाम सम्प्रदायको विशेष प्रभाव रह्यो । दक्षिण एसियामा भने वैदिक सनातन धर्मालम्बीहरूलाई इसाइ तथा इस्लामको खासै प्रभाव परेन । सिन्धु नदी उपत्यका तथा त्यस पूर्वका मानिसहरूले आआफ्नो परम्परागत संस्कारलाई निरन्तता दिइरहे । सिन्धु नदी पश्चिममा फारसी भाषाको चलन थियो । फारसी भाषमा ‘स’ अक्षरको उच्चरण ‘ह’ हुन्थ्यो । अहिले सातालाई हप्ता भने जस्तै उनीहरूले सिन्धुलाई हिन्दू भनेर उच्चारण गर्थे । यसरी सिन्धु उपत्यका र त्यस पूर्वका मानिसहरूलाई उनिहरूले हिन्दू भन्न थाले । हिन्दू शब्दले केही कालखण्डसम्म भारतीय भूगोलमा बस्ने बासिन्दा भन्ने बोध गरायो । चीनमा बस्ने चिनियाँ, अमेरिकामा बस्ने अमेरिकी भने जस्तै हिन्दू–सिन्धु) उपत्यका आसपासमा बस्नेहरूलाई हिन्दू भनिनु अस्वभाविक थिएन । तर, हिन्दू क्षेत्रका सनातनीहरूले आफ्नो अलग पहिचानका लागि आफूलाई हिन्दू धर्मीका रूपमा परिचित गराउन थाले । वैदिक सनातन धर्मका कुनै पनि ग्रन्थमा हिन्दू शब्द उल्लेख छैन ।

माथिका यि नजीर विश्लेषण गर्दा प्रष्ट के देखिन्छ भने धर्म भनेको वैदिक सनातन हो, बौद्ध, इसाइ, इस्लाम, हिन्दू भनेका धर्म सम्प्रदाय हुन् । यी मूल चार वटा धर्म सम्प्रदायहरू टुक्रेर अनेक थरी धर्म संप्रदाय जन्मने क्रम विगत एक÷दुई शताव्दीपछि तीव्र बनेको छ । यो क्रम वैदिक सनातन धर्मलम्वीहरूमा अरू तीव्र छ । तीव्र्र हुनुको पनि कारण छ । वैदिक सनातन धर्मको परम्परा निकै लामो मात्रै होइन, धेरै विद्वानहरू छन् । जसलाई ऋषि पनि भनिन्छ । धेरै ऋषिमुनिहरूले वेदलाई व्याख्या गर्दै धेरै ग्रन्थहरू लेखेका छन् । धेरै साहित्य लेखेका छन् । कुनै कुनै ऋषि तथा शक्तिशाली शासकहरूले त आपूmलाई देवत्वकरण गर्नसमेत भ्याएका छन् । जसको नाममा थुप्रै धार्मिक सम्प्रदायहरू जन्मिसकेका छन् । विष्णु, राम, कृष्ण, महावीर, मात्रै होइन हुँदाहुँदा अस्ती भर्खरका ओशो रजनिश, साइबाबाका नाममा पनि धर्म सम्प्रदाय जन्मेका छन् । हाम्रा शास्त्रमा लेखिएका कुरा प्रमाणित हुँदै गएका छन् ।

यदि बौद्ध, इसाइ, इस्लाम, हिन्दू सम्प्रदायहरू धर्म हुन् भने मष्टो संप्रदाय पनि धर्म नै हो । मष्टो मान्ने खस संप्रदायका संस्कार, संस्कृति तथा चालचलनहरू मौलिक छन् । खस संप्रदायका चालचलनहरू कोही हिन्दूसँग मिल्छन्, कोही बौद्धसँग मिल्छन्, कोही इस्लामसँग । कोही मौलिक छन् । उदाहरणका लागि हिन्दूहरू मानिसको मूर्ति बनाएर पूजा गर्छन् तर खसहरू मानव मूर्ति पूजा गर्दैनन् । हुन त इसाइ तथा मुसलमानले पनि मानव मूर्ति मात्रै होइन कुनै पनि भागवान्को पूजा गर्दैनन्, आफ्नो सम्प्रदायका प्रवर्तकको बाहेक । तर, खसहरू प्रकृति पूजक हुन् । जीवनका लागि अति उपयोगी वनस्पति तथा प्राणीको पूजा गर्छन् । चन्द्र, सूर्यको पूजा गर्छन् । खसहरूले प्रकृतिलाई भगवान् मान्छन्, निश्चत स्थान बनाएर पूजा गर्छन् । मन्दिर भन्दैनन्, स्थान भन्दछन् । अर्थात खसहरूको स्थान हुन्छ मन्दिर हुँदैन । तर, पछिल्ला दिनमा खसहरूले पनि स्थानको सट्टा मन्दिर भन्न थालेका छन् । स्थानहरूमा मन्दिर निर्माण गर्न थालेका छन् । मानिसको आकारको मूर्ति बनाएर देवी देवताको पूजा गर्न थालेका छन् । हिन्दू सम्प्रदायको अतिक्रमणको चपेटाका खस संप्रदाय परेको छ ।

नेपालको कुल जनसंख्यामा करिब ४० प्रतिशत हिस्सा खसहरूको छ । उनीहरूले केहीकालदेखि आफूलाई हिन्दू सम्प्रदायका रूपमा चिनाउँदै आएका छन् । यदि, खसहरूले जनगणनाका क्रममा धर्मको महलमा हिन्दूको सट्टा ‘मष्टो’ भनेर उल्लेख गरे भने हिन्दूअधिराज्यका नाममा राजनीतिक गर्नेहरूको मुहान सुक्छ ।

तर, खस समुदायका कतिपय मानिसहरू अहिले पनि भ्रममा बाँचिरहेका छन् । अब हिन्दूबाट मष्टोमा फर्कर्ने संभावना त्यति देखिन्न । खस समुदायका एकथरीले आफूलाई क्षेत्रीमा रूपान्तरण गरिसकेका छन् भने अर्काथरीले ब्राह्मणमा र ठकुरीमा रूपान्तरण गरिसकेका छन् । एकथरीलाई जबरजस्ती दलित बनाइएको छ । भारतीय संस्कृतिको प्रभाव घुसिसकेको छ । एकथरी खसहरूले आफूलाई व्राह्मणमा र अर्काथरी खसहरूले आफूलाई राजपुतमा रूपान्तरण गरेको नेपाल एकीकरण पहिलेदेखि नै हो । त्यतिबेला २२ से २४ से भुरेटाकुरे खस राजाहरूले आपूmलाई राजपुतमा रूपान्तरण गर्ने क्रममा केही खसहरूलाई ब्राह्मणमा रूपान्तरण गरिसकेको पाइन्छ । तर, अर्काथरी खसहरू भने नेपाल एकीकरण नहुँदासम्म क्षेत्रीमा रूपान्तरण भएका थिएनन् ।

उदाहरणका लागि पृथ्वीनारायण शाहले सेनापति नियुक्त गर्दा ध्यान पुर्याउनु पर्ने दिव्योपदेशमा भनेका छन्, ‘ब्राह्मणलाई बनायो भने लडाइँमा पठाउन पाप लाग्छ, ठकुरीको कोखमा दारा हुन्छ, षड्यन्त्र गर्छ, गुरुङ–मगर ढिलो हुन्छ, खस भनेको अरबी घोडाजस्तै आफूले भनेको दिशामा द्रुत गतिमा एकोहोरो दौडन्छ , निडर पनि हुन्छ, त्यसैले प्रधानसेनापति बनाउँदा खसलाई प्राथमिकता दिनु ।’ यसैगरी पृथ्वीनारायण शाहका नाती रणबहादुर शाहले ‘जंगबहादुर कुँवरलाई तिमी र तिम्रा खलकहरू अब खसबाट उन्नति भएर क्षत्री बन्यौ’ भनेर दिएको लिखित लालमोहर भेटिएको छ । खस भनेको तल्लो र क्षत्री भनेको माथिल्लो जात भन्ने अवधारणा अघि सार्दै राज्यले नै खसहरूलाई क्षत्रीमा रूपान्तरण गर्ने अभियान नै सुरु गरेको जंगबहादुरका पालादेखि नै हो । हुँदाहुँदा बाहुनले अर्को जातबाट जन्माएका छोराछोरीहरू स्वतः क्षत्री हुने गरी राज्य व्यवस्थामै प्रावधान राखियो ।

के हो मष्टो ?
४० प्रतिशत जनसंख्याको मुख्य सांस्कृतिक परम्परा मष्टोलाई पाठ्पुस्तकमा समेत राखिएको छैन । जसका कारण नेपालमा हिन्दू र खसलाई एकअर्काका पर्याय जस्ता बनेका छन् । मष्टोको न मूर्ति हुन्छ न मन्दिर हुन्छ । तर, हिजोआज हिन्दूहरूको देखासिखी गरी मन्दिर बनाउन थालिएको छ । अहिले धेरैलाई ‘मष्टो’ के हो थाहा नै छैन । तथापि उनीहरू ‘मष्टो’ संस्कृतिलाई निरन्तरता दिइराखेका छन् ‘कुलपूजा’को माध्यमबाट । संविधानले खस भनेर बाहुन क्षत्रीलाई मात्रै भनेको छ । पहाडी दलितहरू पनि खस नै हुन् । यो मामिलामा संविधान त्रुटीपूर्ण छ ।

खसहरूले कुलपूजा गर्दा मूर्तिपूजा गर्ने चलन हुँदैन । सामान्यतया मष्टो भनेको माटो हो । मष्टो पूजा गर्नु भनेको आफू जन्मेको भूमि वा माटोप्रति सम्मान गर्ने प्रचलन चलिआएको हुन सक्ने अनुमान गर्न सकिन्छ । मष्टो पूजनको चलन बझाङबाट सुरु भएको अनुमान गरिएको छ । किनकि १२ भाइ मष्टोमध्ये जेठो मष्टो ‘ढडार मष्टो’ बझाङमा रहेको छ । नेपाली खसहरूको मष्टो संस्कृतिबारे ढिलो गरेर खोज, अनुसन्धान तथा प्रचारप्रसार भएकोले मष्टो सम्बन्धमा जानकारी कमै देखिन्छ । यद्यपि पश्चिम नेपालको कर्णाली प्रसवणक्षेत्रमा जाँदा मात्रै पनि मष्टो संस्कृतिबारे केही बुझ्न सकिने अवस्था छ । खसहरूले मष्टो पुजनको निरन्तरता दिइराखे पनि यथेष्ट ज्ञानको अभावमा अलमलमा छन् । त्यसैले मष्टो संस्कृतिसम्बन्धी प्रचार सामग्रीको अभाव टार्न अध्येताहरूलाई आग्रह गर्न आवश्यक छ ।

जनआन्दोलन ०४६ को परिवर्तनपछि नेपालमा आदिवासी–जनजातिका आन्दोलनले उचाइ लिँदै जाँदा नेपालमा बाहुन–क्षत्रीमाथि तीव्र आक्रमण भयो । आदिवासी–जनजातिको आन्दोलनले मानौँ बाहुन–क्षत्री नेपालका आदिवासी होइनन् कि भन्ने खालको भ्रम पैदा गरायो । त्यही भ्रमपूर्ण हल्लाले बाहुनक्षत्रीलाई देशैबाट लखेट्नुपर्छ भन्नेजस्ता आवाजहरू पनि आए । त्यो भ्रमपूर्ण हल्लाको पछाडि कतिपय बाहुनक्षत्री पनि नदेखिएका होइनन् । तथापि खस आन्दोलनको प्रभाव र खसहरूको मष्टो संस्कृतिले अन्ततः जातीय रूपले आदिवासी–जनजाति हुँदैन भन्ने मान्यता स्थापित गरायो ।

दक्षिण भारतबाट भित्रिएको हिन्दू संस्कृति र नेपालको खस संस्कृतिबीचको अन्तरघुलनले धेरै अन्योल सिर्जना गरेको छ । सनातन धर्म र खस संस्कृति एउटै सिक्काका दुई पाटाजस्तो भएर रहेको वर्तमान अवस्थामा यी दुई संस्कृतिलाई अलग्याउन सक्ने र पर्ने अवस्था देखिँदैन । परम्परादेखि चलिआएको सनातन धर्म नै हिन्दूधर्म मानिएकोले केही मानिस अझै भ्रम छर्न उद्यत देखिन्छन् । तर, सनातन धर्म र मष्टो संस्कृतिको जरा धेरै गहिराइमा रहेकोले यसलाई उखेल्न सक्ने तागत छैन ।

प्रतिक्रिया