प्रदर्शनीमा ‘बोर्डरलेस कनेक्सन’

काठमाडौं । नेपाल, भारतको सिक्किम र अमेरिकामा बसोबास गरेका नेपाली तथा नेपालीभाषी कलाकारको सामूहिक भर्चुअल कला प्रदर्शनी सुरु भएको छ । स्याट्रडे प्लेन एअरको आयोजनामा भएको ‘बोर्डरलेस कनेक्सन’ अनलाइन प्रदर्शनीको शनिबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले उद्घाटन गर्दै कलाको कुनै सीमा नहुने भनाइ राखे । उनले कलाले मानव जातिलाई जोड्ने भएकाले यसको बिहंगमता बढेर गएको बताए ।

कोरोना संक्रमणका कारण भर्चुअल रुपमा गरिएको सो प्रदर्शनीमा कुलपति कर्माचार्यले भने, ‘कला र संस्कृतिले मानवजातिको सम्बन्धलाई भावनात्मक रुपमा नजिक ल्याउने भएकाले यसको महत्व पछिल्लो समय विश्वमै बढेर गएको छ । यही महत्वलाई आत्मसात् गरेर स्याट्रडे प्लेन एअरले आयोजना गरेको कार्यशाला र प्रदर्शनीले नेपाली कलालाई नयाँ उचाई प्रदान गर्ने विश्वास लिएको छु ।’ कार्यक्रममा अग्रज कलाकार तथा कलालेखक मदन चित्रकारले प्रकृतिको सामिप्यतामा पुगेर कला रचना गर्नु कलाकारको लागि एउटा चुनौती भए पनि त्यसले सिर्जनाकर्मलाई सघाउने जिकिर गरे । उनले नेपालमा प्रकृतिको अध्ययन सुगौली सन्धिपछि सुरु भएको सुनाए । उनले भने, ‘स्याट्रडे प्लेन एअरले नेपाली कलालाई जनस्तरसम्म लैजान महत्वपूर्ण योगदान दिएको सुनाए ।

त्यस्तै, प्रदर्शनीमा सहभागी सिक्किमका कलाकार दीपा राईले कलाले मानव सम्बन्धलाई नजिक ल्याउन महत्वपूर्ण सघाउ पु¥याउने बताइन् । ओभिया आर्ट सर्कल सिक्किमको अध्यक्षसमेत रहेकी उनले सिक्किममा पहिलो पटक शनिवारीय स्थलगत कला कार्यशाला अभियानसँग जोडिएर कला रचना गरेको जानकारी दिइन् । सिक्किमकै अर्का कलाकार तथा ओभिया आर्ट सर्कलका सचिव दिवाकर लामिछानेले यो अभियानले कला र कलाकारको भावनालाई एक ठाउँमा ल्याउने धारणा व्यक्त गरे ।

शनिवारीय स्थलगत कला कार्यशाला अभियान विगत साढे दुई वर्षदेखि सञ्चालन गरिरहेको अभियानका संयोजक दिवेश प्रधानले जानकारी दिए । उनले भने, ‘हाम्रो मुख्य ध्येय आफ्नो स्टुडियोमा मात्र सीमित कलाकारलाई प्रकृतिको खुल्ला आकाशमा ल्याउने, प्रकृतिमा बसेर प्राकृतिक रङको अध्ययन गर्ने, प्रकृति–सम्पदा जस्ता विषयमा कला सिर्जनामा प्रोत्साहित गर्ने र नेपाली कलालाई नयाँ उचाई दिने सानो प्रयत्न हो ।’

उनले नेपाली कलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउन विभिन्न चरणमा फरक फरक कला गतिविधि गरेको बताए । प्रधानले अभियान अन्तर्गत नेपालको पुरातात्विक, सांस्कृतिक, सामाजिक, प्राकृतिक तथा नेपाली जनजीवनलाई कलामार्फत आममानिसमा ल्याउने कोशिस गरेको विचार व्यक्त गरे । उनले भने, ‘कलामा आएका विभिन्न प्रभावले कही नेपाली कलाशैली, विषयवस्तुका साथै मौलिक गुणलाई पनि अवश्य नै प्रभाव पारिरहेको हुन्छ । आजको समसामयिक कलाक्षेत्रमा पनि यस प्रकारको प्रभाव देखिँदै आएको छ ।’

उनले कुनै समय नेपाली दृश्यकला चित्रण निकै लोकप्रिय थियो । साथ साथै नेपाली दैनिक जनजीवन, प्राचीन तथा मौलिक ढंगले निर्माण गरिएका बस्ती र गल्लीको वास्तुकलाका अनुपम चित्रले नेपाली कलाको एउटा मानक तयार गरेको बताउँदै अहिले त्यो प्रवृत्ति फेरिदै गएकोमा चिन्ता व्यक्त गरे ।

सम्पूर्ण मानव जगत यतिबेला निकै अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको जनाउँदै प्रधानले विश्वका हरेक क्षेत्र कोभिड–१९ बाट आक्रान्त भइरहेको अवस्थामा नेपाल र नेपाली कला पनि यसबाट अछुतो रहन नसकेको बताए । उनले थपे, ‘सिर्जनशील मगज र शरीर कोठामा समेटिन बाध्य भएको अवस्थामा समस्यासँग जुँधेर जानुपर्ने बाध्यता हामीलाई आइलागेको छ । यसै सन्दर्भमा अभियानले भर्चुअल माध्यमबाट आफ्नो गतिविधिलाई अगाडि बढाउने जमर्को गरेको हो ।’

कार्यक्रममा अभियानका अभियन्ता दीपेन्द्रमान बनेपालीले स्थलगत रुपमा प्रकृति चित्रणको परम्परा विस्तारै हराउँदै गएकाले आफूहरुले शनिबारीय कला कार्यशालाको सुरुवात् गरेको बताए । उनले स्थलगत रुपमै कला सिर्जना गर्ने कलाकारहरुको कमी नभए पनि यसलाई अभियानकै रुपमा अगाडि बढाएर एक किसिमको जागरण ल्याउने काम गरेको जिकिर गरे । बनेपालीले यस अभियानमा देशका विभिन्न स्थानका कलाकार जोडिएको बताउँदै आगामी दिनमा अझ प्रभावकारी र आमजनताको मनोभावना संबोधन गर्ने कलाकृति बनाउने धारणा व्यक्त गरे ।

अभियानका अर्का अभियन्ता तथा कलाकार राकेशचन्द्र श्रेष्ठले सानो समूहबाट सुरु भएको यो अभियान अहिले देशका विभिन्न भागमा पुगेर कला कार्यशाला तथा प्रदर्शनी गरेको जनाए । उनले कोरोना कहरका कारण देशमा मात्र नभई विदेशमा पनि यस अभियानसँग जोडिने कलाकारहरु पाँउदा आफूहरु अझै उत्साहित भएको बताए । उनका अनुसार अभियानले यसअघि काठमाडौं उपत्यकाका विभिन्न सम्पदा क्षेत्रका साथै रसुवा, सिन्धुपाल्चोकको भोटेकोशी, रुपन्देही लगायतका जिल्लामा स्थलगत रुपमा कार्यशाला सञ्चालन गरिसकेको छ । उनले भने, ‘सीमामा बाँधिन नचाहने कलाकार र असीमित सम्भावना भएको कलाले साँच्चै भौगोलिक सीमालाई तोडेर सीमाविहिन सम्बन्ध गाँस्दै अगाडि बढ्ने अभियानको उद्देश्य अनुरुप भर्चुअल प्रदर्शनी गरिएको हो ।’

अभियानले गएको २४ असोजमा नेपाल, सिक्किम भारत र अमेरिकामा बसोबास गरिरहेका नेपालीभाषी २७ जना कलाकारको भर्चुअल कला कार्यशाला आयोजना गरेको थियो । अभियानका संयोजक प्रधानले प्रकृतिको काखमा जानसक्ने अवस्था अझै बनिनसकेकाले कलाकारले आफ्नो स्टुडियोमा नभई घर, कौसी, बारी, छत एर्व प्रकृतिको खुल्ला आकाशमा बसेर कला सिर्जना गरेको बताए । कोरोना कहरले कलापारखी कलाबाट केही समय छुटाएकाले त्यसलाई पूर्ति गर्न प्रदर्शनीले सघाउने नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले बताए । उनले भौतिक रुपमा कला कार्यशाला तथा प्रदर्शनी गर्ने अवस्था नरहेको बेला यो प्रदर्शनीले कलाको स्वाद लिनबाट बञ्चित कलाअनुरागीलाई खुसी दिने विश्वास लिएको सुनाए ।

प्रदर्शनीमा नेपालबाट श्रीजन राजभण्डारी, राकेशचन्द्र श्रेष्ठ, दीपेन्द्रमान बनेपाली, दिवेश प्रधान, देवेन्द्र थुम्केली, केशव राज खनाल, नरबहादुर बिके, जुजुभाइ बसन श्रेष्ठ, राधेश्याम कर्माचार्य, सुर्यराम सुवाल, पुण्यराम मताङ, विक्रम प्रजापति, झलक केसी, हरिकृष्ण प्रजापति, प्रवीण श्रेष्ठ, रुविन बाडे, शैलेस गुरुङ, डीना श्रेष्ठ, अनिता प्रधान र तथागत चित्रकार रहेका छन् । त्यस्तै, भारतको सिक्किमबाट कलाकार दीपा राई, धीरज प्रधान, किरण गुरुङ, हर्क मगर, दिवाकर लामिछाने, बि.के सुब्बा र सागर सुब्बा रहेका छन् । प्रदर्शनी अनलाइनग्यालरी नेपालडटकममा ६ डिसेम्बरसम्म रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया