मानव चिहानको इतिहास खोतल्ने कि ?

एजेन्सी । टाइटानिक पानीजहाजभित्रको विनातार सन्देश प्रवाह गर्ने रेडियो सञ्चार प्रणाली निकाल्ने वा समुद्रको पिँधमा रहेका मानव अवशेषलाई शान्त रहन दिने ? कानुनी लडाइँ जारी छ । यो पानीजहाज सय वर्षभन्दा पहिला डुबेको थियो । तैपनि यसका भग्नावशेष सदाबहार प्रतीकका रूपमा रहेका छन् ।

पानीमुनि रहेका १५ सय शवहरूलाई त्यत्तिकै रहन दिने वा उक्त दुःखद् घटनामा महत्वपूर्ण भूमिका खेलेको मानव निर्मित वस्तुलाई पुनः प्राप्त गर्ने भन्ने एउटा ताजा बहस अहिले चर्किएको छ । उत्तर एटलान्टिक महासागरको पिँधमा रहेका हजारौँ त्यस्ता मानव निर्मित सामान निकालेको एउटा अमेरिकी कम्पनीले आफ्ना योजनाहरू घोषणा गरेपछि उक्त विवाद निम्तिएको हो ।

आरएमएस टाइटानिक इंक मार्कोनी नामक विनातार सन्देश प्रवाह गर्ने टेलिग्राफ मेसिन समुद्रबाट निकाल्न चाहन्छ जसले सन् १९१२ एप्रिल १५ तारिख सबेरै डुबिरहेको पानीजहाजबाट संकटको जनाउ दिँदै सन्देश पठाएको थियो । त्यस्तो जनाउले करिब सात सय मानिसको ज्यान जोगाएको थियो । तर, अमेरिकी सरकारले भने उक्त कम्पनीको योजनाको विरोध गरिरहेको छ ।

त्यस्तो कार्यले संघीय कानुन तोड्ने र भग्नावशेषलाई स्मृतिस्थल भनी पहिचान गर्न अन्तर्राष्ट्रिय रूपमा जनाइएको सहमतिको अनादर गर्ने अमेरिकी सरकारले बताएको हो । सन् १९१२ मा साउथह्याम्पटन, इंल्यान्डबाट न्यूयोर्क जाँदै गर्दा टाइटानिक पानीजहाज राती ११ः४० मा एउटा विशाल हिमशिलामा ठोक्किएको थियो ।

जहाजको अगाडिको भाग ठोक्किएर परेका प्वालहरूबाट हजारौँ टन समुद्री पानी पानीजहाजभित्र पसेको थियो । पानीजहाजको नमुना तयार पार्ने टोमस एन्ड्र्युज पनि त्यसैमा सवार थिए । पानीजहाजमा पुगेको क्षति हेरेपछि उनले क्याप्टेनलाई पानीजहाज डुब्न लागेको बताएका थिए । पानीजहाजका वरिष्ठ अपरेटर २५ वर्षे ज्याक फिलिप्स पानीजहाज डुबेर सम्पर्कविहीन हुँदासम्म पनि सहायताका लागि याचना गरिरहेका थिए ।

बिहान १२ः१५ मा पानीजहाजभित्रको मारकोनी प्रणालीले संकटको संकेत जनाउने आवाज निकाल्यो पानीजहाज र जमिनमा रहेका सञ्चालकहरूबीच ताररहित सञ्जाललाई सक्रिय बनाएर एकअर्कासँग सम्पर्क भएपछि त्यस्तो संकटको जनाउ दिइएको थियो । उनीहरूले त्यतिबेला अन्तर्राष्ट्रिय रूपमा मान्यता पाएका संकटको संकेत दिने ध्वनी सर्टवेब रेडियोमार्फत प्रसारण गरेका थिए जसलाई मर्ज कोड पनि भनिन्छ ।

‘हामी रहेको पानीजहाज विशाल हिमशिलामा ठोक्किएको छ । तत्कालै उद्धारका लागि आउनुहोस्,’ टाइटानिकका अपरेटर ज्याक फिलिप्सले अर्को पानीजहाज, कार्पथियालाई बोलाएका थिए । र, फ्र्यांकफर्टमा, जर्मन पानीजहाजलाई भनेका थिए, ‘हामी हिमशिलामा ठोक्किएका छौँ र टाउकोपट्टिबाट पानीजहाज डुब्दैछ ।’

केही इतिहासविद्हरू प्रश्न गरिएको पानीजहाज फ्र्यांफर्टको रहेको र दुई पानी जहाजबीचको सन्देश आदानप्रदान गलत बुझिएको बताउँछन् । ज्याक फिलिप्सले अर्को सन्देश दिए, ‘हामी साना डुंगाहरूमा यात्रुहरूलाई राख्दैछौँ । महिला र बालबालिकाहरू ती डुंगाहरूमा छन् । धेरैबेर टिक्न सक्दैन ।’ र, अर्को थियो, ‘यो टाइटानिक हो… इन्जिन रहेको कोठा पानीले डुब्यो ।’

जीवन बचाउनका लागि साना डुंगाहरू पानीजहाजबाट झार्दै गर्दा ती अपरेटरले निरन्तर रूपमा सन्देश दिइरहे । डुंगामा आफ्ना छोराछोरी र पत्नी झरिरहँदा पतिहरूले बिदाइका अन्तिम हात हल्लाए । उक्त घटनामा ज्याक फिलिप्स बाँचेनन् । उनका क्याप्टेनले उनलाई ड्यूटी गर्न नपर्ने बताए पनि उनी काममै बसे र उनको नायकत्वले टाइटानिकको दुःखपूर्ण घटनामा एउटा महत्वपूर्ण भूमिका खेल्यो ।

पानीजहाजले दिएको सन्देशले अन्य पानीजहाजहरूमा आतंक र अविश्वासको स्थिति बन्यो । विशाल र सुविधायुक्त उक्त पानीजहाजमा बिहान २ः१० मा अन्धकार भयो र मार्कोनी पनि बन्द भयो । पानीजहाजको अग्रभाग महासागरको पानीमुनि डुबिसकेको थियो र पछिल्लो भाग माथितिर गएको थियो । करिब २ः२० तिर पानीजहाज दुई टुक्रा भयो र दुवै भाग एट्लान्टिक महासागरमा डुब्न थाल्यो ।

डुब्न थालेको दुई घण्टाभन्दा कम समयमा महासागरको उक्त स्थलमा कार्पथिया आइपुग्यो र सत सय जीवित मानिसको उद्धार ग¥यो । उद्धार गरिएका ती मानिसहरू डुंगामा उत्रिन सफल भएका थिए । उक्त घटनामा करिब १ हजार ५ सय मानिसको ज्यान गएको अनुमान गरिएको छ ।

आरएमएस टाइटानिकले भग्नावशेषबाट मानव निर्मित ५ हजार ५ सयभन्दा बढी सामानहरू निकालिसकेको छ । पानीजहाजको भग्नावशेष क्यानडाको न्युफाउन्डल्यान्डबाट ७ सय ४० किलोमिटरको दुरीमा सन् १९८५ मा फेला परेको थियो । पानीजहाजको अगाडि र पछाडिको भाग पानीको सतहभन्दा चार हजार मिटर तल भेटिएको थियो ।

त्यो ठ्याक्कै त्यही ठाउँ हो जहाँ एक शताब्दीभन्दा अगाडि पानीजहाज डुबेको थियो । सन् १९८७ यता आरएमएस टाइटानिक इंकले ५ हजार ५ सयभन्दा बढी मानवनिर्मित सुनका सिक्कालगायतका सामानहरू निकालिसकेको छ र आठ वटा ठूलो स्तरका अनुसन्धानहरू पनि गरिसकेको छ ।

तर गत वर्ष, समुद्रको गहिराइमा पुगेको अन्तर्राष्ट्रिय टोलीले झण्डै १५ वर्षमा पहिलोपटक भग्नावशेषको सर्वेक्षण गरे । उनीहरूका अनुसार तीमध्ये केही एकदमै तीव्र गतिमा बिग्रिन थालेका छन् । गत वर्ष समुद्रको गहिराइमा पुग्ने अन्तर्राष्ट्रिय टोलीले केही भग्नावशेषहरू तीव्र गतिमा बिग्रिन थालेको बताएका थिए । (बिबिसी)

प्रतिक्रिया